आईपीओ जारी गर्दै राष्ट्र उत्थान लघुवित्त

आईपीओ जारी गर्दै राष्ट्र उत्थान लघुवित्त

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ २५, २०७८

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निश्कासन (आईपीओ)को बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले निश्कासन गर्ने साधारण शेयरमा कुल निश्कासनको ५ प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको र जारी पुँजी (२६ करोड रुपैयाँ)को ०.५ प्रतिशत अर्थात् १३ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने ७ लाख ९५ हजार ५०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आगामी ४ फागुनदेखि आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ ।

सर्वसाधारणले ८ फागुनसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् र सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए आगामी १८ फागुनसम्म निश्कासन खुला रहने कम्पनीले जनाएको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सीआस्बा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीको पुँजीको संरचनामा अधिकृत पुँजी ५० करोड र हालको जारी पुँजी २६ करोड तथा चुक्ता पुँजी १७ करोड ५० लाख रुपैयाँ छ । विवरणपत्रमार्फत सर्वसाधारणलाई खरिदका लागि खुला गरेको साधारण शेयरको बाँडफाँटपश्चात कम्पनीको चुक्ता पुँजी २६ करोड रुपैयाँ पुग्नेछ ।

धितोपत्रको सार्वजनिक निश्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी आईआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने बुझिन्छ ।