हेटौँडा सिमेन्ट उद्योगले पाएन महाप्रबन्धक

हेटौँडा सिमेन्ट उद्योगले पाएन महाप्रबन्धक

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ २५, २०७८

सरकारी स्वामित्वमा संचालित हेटौँडा सिमेन्ट उद्योग विगत डेढ महिनादेखि महाप्रबन्धकविहीन भएको छ । महाप्रबन्धक प्रेमशंकर सिंहको कार्यकाल सकिएसँगै उद्योग महाप्रबन्धकविहीन भएको उद्योग प्रशासनले जनाएको छ ।

पुसमा सिंहको कार्यकाल सकिएको भए पनि हालसम्म नयाँ महाप्रबन्धक नियुक्ति प्रक्रिया अगाडि बढ्न नसकेकाले उद्योगको काम लथालिंग भएको त्यहाँ कार्यरत प्राविधिक तथा कर्मचारीको भनाइ छ । साथै, महाप्रबन्धकको समस्यासँगै हाल उद्योगको सिमेन्ट उत्पादन र बिक्रीसमेत ठप्प भएको बताइएको छ । उद्योगको ढुंगा धुलो पकाउने मेसिन (किल्न) बिग्रिएर सिमेन्ट उत्पादन बन्द भएको हो ।

उद्योगको उत्पादन बन्द भएको एक महिनाभन्दा बढी भइसकेको छ भने २६ पुसदेखि सिमेन्ट नहुँदा बिक्रीसमेत बन्द भएको बताइएको छ । बिग्रिएको मेसिन (किल्न) चलाउनका लागि उदयपुर सिमेन्ट उद्योगसँग आवश्यक इँटा र मेसिन सापटी लिएर मर्मतको काम भइरहेको र केही दिनमा उत्पादन सुरु हुने उद्योग प्रशासनले जनाएको छ । सिमेन्ट उत्पादन गर्ने मेसिन धेरै जीर्ण भइसकेकाले पटक पटक बिग्रिने गरेको र क्षमताअनुसार उत्पादन गर्न सकेको छैन ।

यता, उद्योगका मजदुर संघसंगठनले महाप्रबन्धक छिटो नियुक्त गर्न माग गरेका छन् । औद्योगिक मजदुर संघ, नेपाल कारखाना श्रमिक संघ र समग्र उद्योग ट्रेड युनियन नेपालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै संयुक्त रूपमा ध्यानाकर्षणपत्र जारी गरी महाप्रबन्धक नियुक्त गर्न माग गरेको जनाएको छ ।

ध्यानाकर्षणपत्रमा महाप्रबन्धकको कार्यकाल सकिनु अगाडि नै महाप्रबन्धकको नियुक्ति समयमा गर्न आग्रह गरेको स्मरणपत्रमा उल्लेख छ । संघीय सरकारको मन्त्रिपरिषद्‌बाट महाप्रबन्धक नियुक्ति गर्ने व्यवस्था छ । प्रेमशंकर सिहंले २०७१ सालदेखि निरन्तर महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दै आएकामा पुसदेखि उनको कार्यकाल सकिएको हो । हाल त्यहाँ ३४१ जना प्राविधिकसहित कर्मचारी रहेका छन् । हेटौँडामा रहेका निजी क्षेत्रका शिवम् र ऋद्धिसिद्धि सिमेन्ट उद्योगको अवस्था भने राम्रो छ ।