वाइडबडीमा थप अनियमितता

वाइडबडीमा थप अनियमितता

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ३, २०७६

काठमाडौं । नेपाल वायुसेवा निगमका दुइटा वाइडबडी विमान खरिद प्रकरणमा थप अनियमितता भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले गरेको पछिल्लो लेखापरीक्षणमा प्रस्तावअनुसार विमानको अधिकतम अवतरण र शून्य इन्धन क्षमतासमेत नभएको भेटिएको हो । महालेखाले शंकास्पद रूपमा खडा गरिएको कम्पनी हाई-फ्लाई-एक्सको बिलबिजकमाथि समेत शंका व्यक्त गरेको छ । 

महालेखा परीक्षकको कार्यालयले गत वर्ष नै वाइडबडी विमान खरिदका क्रममा अनियमितता भएको भनी वार्षिक प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यही प्रतिवेदनमा आधारित भएर छानबिन गर्ने क्रममा संसदको सार्वजनिक लेखा समितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको निष्कर्षसहित थप कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको थियो ।

 

‘हालसम्म छानबिन भएर औंल्याइएका विषयवस्तुबाहेक अनियमिततालाई थप प्रमाणित गर्ने केही अन्य विवरणसमेत भेटिए,’ महालेखा स्रोतले कान्तिपुरसित भन्यो, ‘ती विषयवस्तुलाई प्रतिवेदनमा समेटेका छौं । सम्बन्धित निकायले थप अनुसन्धान र कारबाही गर्लान् ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।