खोपको विवरण पठाउन निर्देशन

खोपको विवरण पठाउन निर्देशन

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  माघ २५, २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलि बुधबारसम्म कोरोना भाइरसविरुद्धको खोपको  विवरण  उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

कोभिड- १९ विरुद्धको खोप अभिलेख सम्बन्धमा गठित छानबिन समितिले तोकिएको समय सीमाभित्र केही जिल्ला र स्थानीय तहले विवरण नबुझाएकाले सो निर्देशन दिएको हो । छानबिन समितिले ६ वटा जिल्लाका स्वास्थ्य कार्यालय र १०९ वटा स्थानीय तहलाई भोलिसम्म विवरण बुझाउन निर्देशन दिएको समितिका संयोजक डा. गुणराज लोहनीले जानकारी दिए ।

मन्त्रालयले खोपको यकिन तथ्यांक नभेटेपछि यही १६ माघमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. लोहनीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । यसअघि समितिले यही २१ माघभित्र स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा, ७ वटै प्रदेशका स्वस्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्ला स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहलाई खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण पठाउन निर्देशन दिएको थियो ।