पद्मसुन्दरको 'कृपा'ले अध्यक्ष बनेका थिए कमल थापा

पद्मसुन्दरको 'कृपा'ले अध्यक्ष बनेका थिए कमल थापा

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २६, २०७८

उपप्रधानमन्त्रीसहित ९ पटक मन्त्री भएका कमल थापा ‘भारी मनसहित पीडाबोध’ गरेर मंगलबार राप्रपाबाट बाहिरिए । चर्चा भएअनुसार उनी नयाँ हिन्दुवादी दल दर्ताको तयारीमा छन् । ‘राष्ट्रिय एकता पार्टी’, ‘राष्ट्रिय हिन्दुवादी पार्टी’लगायत नाममाथि छलफल भइरहेको स्रोत बताउँछ । 

३१ वर्ष राप्रपामा बिताएका थापाले स्थापना गर्न लागेको पार्टीको नाम जे रहे पनि उनी राष्ट्रिय राजनीतिमा प्रभावशाली नेता भने हुन् ।

राजनीतिशास्त्रमा स्नातकोत्तर उनी राम्रो राजनीतिक सुझबुझ भएका हिन्दुवादी नेता मानिन्छन् । उनको अभिव्यक्ति कलाको तारिफ गर्नेहरू पनि छन् । तर, पार्टी फुटाइरहने र सत्तामा जानै पर्ने नेताका रूपमा पनि चिनिन्छन् उनी । 

उनै नेता थापालाई भने पूर्वपंचहरूको लाइनबाट अध्यक्ष बनाएर स्थापित गर्न सहयोग पुर्‍याउने नेताहरू भने रवीन्द्रनाथ शर्मा, पद्मसुन्दर लावती र राजेश्वर देवकोटा हुन् । तीनै नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल स्थापना गरेका थिए । संस्थापक अध्यक्ष भए शर्मा । पार्टीे स्थापनाको उद्देश्य राजा ज्ञानेन्द्रलाई समर्थन गर्न थियो । 

सूर्यबहादुर थापाको लोकेन्द्रबहादुर चन्दसँगै पशुपतिशम्शेर जबरालगायत नेतासँग खटपट थियो । अन्ततः सूर्यबहादुरले राष्ट्रिय जनशक्ति पार्टी स्थापना गरे । र, २८ चैत २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनअघि ३ नेताले थापालाई राप्रपा नेपालको अध्यक्ष बनाए ।

शर्मा र देवकोटाको जोड भने लावतीलाई अध्यक्ष बनाउने भन्ने रहेको तर लावतीले थापालाई अघि सारेकोे राप्रपाका पुराना नेता डा. गोविन्द खानियाँ बताउँछन् । शर्मा, लावती र देवकोटा दिवंगत भइसकेका छन् ।