'बी' र 'सी' डिभिजन लिगमा बहुमतकाे संकेत नदेखिएपछि एन्फाको चुनाव स्थगित

'बी' र 'सी' डिभिजन लिगमा बहुमतकाे संकेत नदेखिएपछि एन्फाको चुनाव स्थगित

लोकसंवाद संवाददाता  |  खेलकुद  |  माघ २६, २०७८

अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी १५ जेठमा चुनाव मिति तय भएसँगै विभिन्न घटनाक्रम बाहिरने क्रम सुरु भएको छ । 

एन्फाले जेठमा हुने चुनावका लागि आज (बुधबार) शहीद स्मारक ‘बी’ डिभिजन र ‘सी’ डिभिजन क्लबको प्रतिनिधि छनोटसहित मताधिकारका लागि चुनाव गर्ने कार्यतालिका थियो तर अन्तिम समयमा आएर निर्धारित कार्यतालिका स्थगित भएको छ ।

‘हिजो साँझसम्म आज चुनाव गर्ने भन्ने कुरा थियो तर अहिले स्थगित भयो भन्छन् । 'बी; डिभिजन संयोजकलाई केही पनि थाहा छैन । सबै आफूखुसी कार्य गर्दै भएका छन्’, रानीपोखरी कर्नर टिम (आरसीटी)का प्रतिनिधि तथा 'बी' डिभिजन लिगका संयोजकसमेत रहेका कुमारराज भण्डारीले भने । 

यसअघि एन्फाले २१ माघमा क्लबलाई पत्र काट्दै २६ गते प्रतिनिधि छनोट कार्यक्रम रहेको बताएको थियो । क्लबले त्यहीअनुसार नै तयारीसमेत गरेका थिए । तर, अन्तिम समयमा निर्धारित प्रतिनिधि छनोट नहुने भएको हो । 

एन्फा महासचिव इन्द्रमान तुलाधरले बुधबार बिहान क्लबलाई २८ माघ (शुक्रबार)लाई प्रतिनिधि छनोट कार्यक्रम रहेको पत्र काटेका छन् । 

एन्फाका एक सदस्यले भने अध्यक्ष कर्माछिरिङ शेर्पाले आगामी चुनावका लागि 'बी' र 'सी' डिभिजनबाट आफ्नो बहुमत नदेखिएको र मताधिकारसमेत खोसिने हुँदा निर्धारित समयमा चुनाव नगरेको आरोप लगाए । ‘हामी मंगलबार एन्फामै थियौँ । उहाँहरूले भक्तपुरमा सम्बन्धित क्लबसँग बैठक गर्नुभएको रहेछ । आफ्नो बहुमत नदेखिएपछि चुनाव स्थगित गर्नुभयो’, एन्फा कार्यसमितिका एक सदस्यले भने । 

यसअघि एन्फा चुनावमा ९२ मत खसेको थियो । तर, यस पटक भने ५ जिल्ला गठन नहुँदा कुल ८७ मतका लागि चुनाव हुनेछ । आगामी निर्वाचनमा १४ क्लब रहेका 'बी' र 'सी' डिभजिनबाट क्रमशः ११ र ९ प्रतिनिधि छानिनेछन् । यस्तै, 'ए' डिभिजन क्लबबाट भने १४ क्लबले नै मत हाल्नेछन् । 

यता, जिल्लाबाट ४५ मत झर्दा राष्ट्रिय लिगका लागि छनोट भएका ४ वटा क्लबले मत अधिकार पाउनेछन् । खेलाडी संघ, रेफ्री संघ, प्रशिक्षक संघ र महिला संघबाट ४ मत रहनेछ । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ ४ वर्षे कार्यकालका लागि चुनावी मैदानमा उत्रनेछन् ।