शेखर कोइराला खेमाको बैठक सम्पर्क कार्यालयमा

शेखर कोइराला खेमाको बैठक सम्पर्क कार्यालयमा

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २६, २०७८

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो खेमाको बैठक बोलाएका छन् । बालुवाटारस्थित आफ्नो सम्पर्क कार्यालयमा उनको खेमाका नेता छलफलमा जुटेका छन् ।

कांग्रेस नेता जीवन परियारले समसामयिक राजनीतिबारे कोइरालाले छलफल गर्न बैठक राखेको जानकारी दिए । आफ्नो खेमाको छलफल सकेपछि कोइरालाले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई भेट्दै छन् ।

कोइरालाले देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट्ने नेता परियारले जानकारी दिए । उनका अनुसार सभापति र नेता कोइरालाबीचको भेटमा बिहीबार बस्ने पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकका एजेन्डाबारे छलफल हुनेछ । 

केन्द्रीय कार्यसम्पादन समितिको बैठक नजिकिएपछि कोइराला खेमाले निरन्तर छलफल गरेर सभापतिलाई भेट्न लागेको हो । कोइराला खेमाले सभापतिसँगको भेटमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकका एजेन्डालगायत समसामयिक विषयमा छलफल गर्ने तयारी गरेको छ ।