गृहमन्त्री खाण र अर्थमन्त्री शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल

गृहमन्त्री खाण र अर्थमन्त्री शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २६, २०७८

गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ ।

गृह मन्त्रालयमा आज भएको छलफलमा निर्वाचन लक्षित बजेटमा पनि विशेषगरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी)का लागि आवश्यक सवारी साधन र बन्दोबस्तीका सामानबारे कुराकानी भएको नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव डा. भीष्मकुमार भुसालले जानकारी दिए ।

सहसचिव डा. भुसालका अनुसार अब गृह मन्त्रालयले बिहीबारसम्म चालूतर्फको समेत बजेट यकिन गरेर अर्थ मन्त्रालयमा पठाउनेछ ।

छलफलमा गृह सचिव टेकनारायण पाण्डे, अर्थ सचिव मधु मरासिनीसहित गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौलालगायतको सहभागिता थियो । गृहमन्त्री खाणले निर्वाचनको कामलाई घनीभूत रूपमा अगाडि बढाउन अर्थमन्त्री शर्मासँग छलफल गरेका हुन् ।

अर्थमन्त्री शर्माले निर्वाचनमा अर्थ मन्त्रालयलाई परेको चापबारे अवगत गराउँदै अत्यावश्यक र गर्नै पर्ने विषयबारे जानकारी गराउन आग्रह गरेका थिए ।

गृहमन्त्री खाणले अर्थ मन्त्रालयलाई परेको दबाबबारे गृह मन्त्रालय सचेत रहेको र नभई नहुने विषयवस्तुबारे अवगत गराइने जानकारी दिए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनमा खटिनका लागि सवारी साधन र बन्दोबस्तीका सामान माग गरेपछि गृहमन्त्री खाणले अर्थमन्त्रीसँग छलफल गरेका हुन् ।