अमेरिकामा कार्यरत याक्थुङ युवाद्वारा एक लाख रुपैया दुई विद्यार्थीलाई प्रदान

अमेरिकामा कार्यरत याक्थुङ युवाद्वारा  एक लाख रुपैया  दुई विद्यार्थीलाई प्रदान

लोकसंवाद संवाददाता  |  शिक्षा  |  माघ २७, २०७८

पाँचथर ।  अमेरिकामा कार्यरत याक्थुङ युवाद्वारा फालेलुङ गाउँपालिकाका दुई विद्यार्थीलाई एक लाख रुपैयाँ प्रदान गरेका छन् ।

पालिकाको वडा नम्बर ८ स्थित भृकुटी आधारभूत विद्यालयको कक्षा ५ र ७ मा अध्ययनरत छात्रा सुधा केरुङ र सरेष्मा केरुङ दुवैलाई बुधवार एक कार्यक्रमका बीच जनही ५० हजार रुपैयाँका दरले नगद प्रदान गरिएको हो ।

विद्यार्थीको शैक्षिक उन्नतिमा सहयोग तथा हौसला प्रदान गर्न साथै ‘विशेष गरी छोरीलाई शिक्षित बनाउन जरुरी छ’ भन्ने उद्देश्य सहित अमेरिका बस्दै आएका याक्थुङ युवाहरूको पहलमा उक्त रकम संकलन गरी सहयोग गरिएको जनाइएको छ ।

विद्यालयले राखेको तथ्यांक र मूल्याङ्कनको आधारमा जेहेन्दार छात्रालाई छात्रवृत्ति स्वरूप विद्यालय व्यवस्थापन समिति अध्यक्ष डम्बर केरूङको अध्यक्षतामा सामाजिक अभियन्ता तथा अमेरिकामा बस्दै आएका याक्थुङ युवा कवि विवश बेनामको प्रमुख आतिथ्यमा दुई छात्रालाई नगदसहित अन्य एक सय १६ जना विद्यार्थीहरूलाई करिब ६० हजार बराबरको न्यानो कपडा(स्वेटर) पनि वितरण गरिएको साहित्यकार बेनामले जानकारी दिए ।

उनले भने,अमेरिकाबाट नेपालमा छुट्टी आएको बेलामा कुनै न कुनै सामाजिक उत्तरदायित्वको कार्य गरौँ र आगामी दिनमा पनि सहयोग गर्ने इच्छासङै हाल यो कार्य गरेका छौँ ।’

व्यक्तिगत फाइदाको लागि मात्रै विदेश जानु भन्दा केही काम समाजको निम्ति पनि गरौँ भन्ने उनको आग्रहलाई साथ दिँदै हाल अमेरिकामा रहेका बुद्ध चेम्जोङ,ललित सम्वाहाम्फे,अग्नि योङ्या,राकेश आङदेम्बे,मेन्याङ्बो प्रेम,टंक शेलिङ,सुमन थाम्सुहाङ लिम्बू मिराक,पिके लिम्बुले अभियानमा मद्दत गरेको उनले बताए ।

साथै आर्थिक सहयोग गर्नेहरूमा विवश माङ्मु,बिरेन्द्र लाबुङ लिम्बु भुमी,हिक्मत् आङ्बुहाङ्,बिष्णु चोङ्बाङ,बिमल चेम्जोङ्,हरि जबेगु,मनि लिबाङ्,गजेन् चेम्जोङ्,दिपक थेवे,

आनंद मादेन,निरु थेवे,पूर्ण थेवे,जीवन खजुम,राज लिम्बु ,कभिन थेवे,बन्धना तुम्बाहाम्फे लगायतका युवाहरू रहेको उनले जानकारी दिए ।

सहयोग हस्तान्तरण तथा न्यानो कपडा वितरण कार्यक्रममा भृकुटी र सिदेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापकद्वय शर्ण कुमार केरुङ र नरेन्द्र केरुङ,स्थानीय शिक्षक राजेन्द्र केरुङ लगायतले नेपाल बाहिर बसेर पनि दुर्गम क्षेत्रका विद्यार्थीलाई साथ सहयोग गरेकोमा याक्थुङ युवाहरूको उदाहरणीय कार्यको प्रशंसा सहित धन्यवाद दिएका थिए  ।