विश्वकप क्रिकेटका ९ रोचक तथ्य

विश्वकप क्रिकेटका ९ रोचक तथ्य

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ ३, २०७६

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आगामी मे ३० मा इग्ल्याण्डमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल इग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच हुँदैछ । विश्वभरका क्रिकेटप्रेमी यो प्रतियोगिताको प्रतीक्षामा छन् । 

एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका केही रोचक तथ्य । 

दुई पटक उपाधि जिताउने कप्तान 

वेस्ट इण्डिजका क्लाइब लायडले र अस्टे«लियाका रिकी पोन्टिङले दुई पटक एकदिवसीय विश्वकपको उपाधि जिताउने कीर्तिमान राखेका छन् । लायडले १९७५ र १९७९ मा तथा पोन्टिङले २००३ र २००७ मा टिमलाई विश्वकपको उपाधि दिलाएका थिए । 

पहिलो ह्याट्रिक विकेट

विश्वकपमा पहिलो ह्याट्रिक विकेट लिने कीर्तिमान भारतका चेतन शर्माको नाममा छ । उनले सन् १९८७ को विश्वकपमा यो कीर्तिमान राखेका हुन् । 

सबैभन्दा बढी उमेरका खेलाडी

विश्वकप खेल्ने सबैभन्दा बढी उमेरका खेलाडी हुन्, नेदरल्याण्डका नोलान क्लार्क । उनले सन् १९९६ को विश्वकपमा यो कीर्तिमान कायम राखेका थिए । त्यतिबेला उनको उमेर ४७ वर्ष २५७ दिन थियो । 

लगातार तीन पटक उपाधि जित्ने टिम

यो कीर्तिमान अस्ट्रेलियाको नाममा छ । अस्ट्रेलियाले सन् १९९९, २००३ र २००७ मा उपाधि जितेको थियो । यस्तै, अस्ट्रेलियाले अहिलेसम्म पाँच पटक उपाधि जितिसकेको छ । अस्ट्रेलियाले सन् १९८७ र २०१५ मा पनि उपाधि जितेको थियो । 

६० र ५० ओभरको प्रतियोगिता विजेता

एकदिवसीय क्रिकेटमा ६० र ५० ओभरको प्रतियोगिता जित्ने कीर्तिमान भारतको नाममा छ । भारतले सन् १९८३ मा ६० ओभरको प्रतियोगिता जितेको थियो भने सन् २०११ म ५० ओभरको । 

सर्वाधिक रन 

विश्वकपमा सर्वाधिक रन बनाउने कीर्तिमान भारतका सचिन तेन्दुलकरको नाममा छ । उनले पाँच विश्वकप प्रतियोगितामा २ हजार २ सय ७८ रन बनाएका छन् । 

एक खेलमा सर्वाधिक व्यक्तिगत रन 

विश्वकपको एक खेलमा सर्वाधिक रन न्युजील्याण्डका मार्टिन गुप्टिलले बनाएका छन् । उनले सन् २०१५ को विश्वकपमा वेस्ट इण्डिजविरुद्ध २३७ रन बनाएका थिए । 

सबैभन्दा ठूलो साझेदारी 

विश्वकपमा सबैभन्दा ठूलो साझेदारी वेस्ट इण्डिजका क्रिस गेल र मार्लाेन स्यामुअलले गरेका छन् । यी खेलाडीले जिम्बाबेविरुद्ध यो कीर्तिमान बनाएका थिए । 

सर्वाधिक विकेट 

विश्वकपमा अस्ट्रेलियाका ग्लेन मैक्ग्राको नाममा सर्वाधिक विकेटको कीर्तिमान छ । उनले विश्वकपमा ७१ विकेट लिएका छन् । 

– एजेन्सीको सहयोगमा