मे ले जुनमा राजीनामा दिने

मे ले जुनमा राजीनामा दिने

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ३, २०७६

बेलायत युरोपियन युनियनबाट बाहिर रहनुपर्छ भन्ने प्रस्तावको पक्षमा अधिक मत परेपछि प्रधानमन्त्री बनेकी टेरेजा मे त्यसपछिका अन्य तीन पटकका बे्रक्जिट विधेयक संसदबाट पास नसकेपछि जुनमा राजीनामा दिने भएकी छन् । 

काठमाडौं, एजेन्सी । 
ब्रेक्जिट विधेयक संसदबाट तेस्रो पटक पनि फेल भएपछि ब्रिटेनकी प्रधानमन्त्री टेरेजा मे जुन महिनामा राजीनामा दिन तयार भएकी छन् । उनले ब्रेक्जिट विधेयक चौथो पटक संसदमा छलफल भएपछि राजीनामा दिने भएकी हुन् । 

कन्जरभेटिभ पार्टीका नेता तथा ब्रेक्जिटका कट्टर समर्थक मानिने बोरिस जोनसनले टेरेजा मे ले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री पदको दावी गरेका छन् । यसअघि तीन पटकको छलफलमा पनि संसदबाट ब्रेक्जिट बिधेयक पारित हुन नसकेको कारण प्रधानमन्त्री टेरेजा मे राजीनामा दिने निर्णयमा पुगेको बताइएको छ । 

चौथो पटक संसदमा उक्त विधेयक छलफलका लागि पेश गरिएपछि मे ले राजीनामा दिन लागेकी हुन् । अहिलेसम्म प्रधानमन्त्री मे ले राजीनामा दिने मिति तय नभएपनि जुन महिनामा विधेयक छलफलका लागि संसदमा पेश गरिने हुँदा उनले पनि जुन महिनामा राजीनामा दिने तय भएको हो । 

संभवतः बेलायतमा यसलाई दिव्तीय विश्वयुद्ध पछिको सबैभन्दा पेचिलो राजनीतिक मुद्दा मानिएको छ । वर्तमान संकटका कारण नै टेरेजा मेले प्रधानमन्त्री पद गुमाउने भएकी हुन् । बिहीवार उनी पदबाट राजीनमा दिनका लागि राजि भएकी हुन् । 

अब चौथो पटक संसदमा पेश हुन लागेको ब्रेक्जिट विधेयकको परिणाम जे सुकै आएपनि जुन महिनामा उनले राजीनामा दिने कुरा पक्का भैसकेको छ । 

अहिले प्रधानमन्त्री पदका दावेदारका रुपमा देखिएका बोरिस जोनसन टेरेजा मे को मन्त्रीपरिषदमा विदेश मन्त्री रहेका थिए । उनी टेरेजा मे को नीतिका कट्टर आलोचक हुन् । मे को नीतिसँग असहमति जनाउँदै उनले २०१८मा विदेश मन्त्री पदबाट राजीनामा दिएका थिए । 

सन् २०१६मा पनि जोनसन प्रधानमन्त्री पदका प्रवल दावेदारका रुपमा थिए । तर प्रधानमन्त्रीका लागि आफ्नो नाम पार्टीमा सहमत गराउन नसकेपछि उनलाई मे ले विदेश मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी दिएकी थिइन । 

उनी विना सम्झैता पनि बेलायत इयुबाट बाहिर हुनुपर्छ भन्ने मान्यता राख्ने नेतामा पर्छन् । 

जोनसन पहिले लण्डनका मेयर समेत बनिसकेका हुन । उनी आफ्नो ढंगको मनोमानी बयानबाजी तथा उट्पट्याञ व्यवहारका कारण चर्चामा रहने गर्छन् । उनका बारेमा हुने गरेका विवाद तथा स्क्याण्डलले बेलायतको मिडियामा रामै्र स्थान पाउने गरेका छन् । 

कन्जरभेटिभ पार्टीका अन्य वरिष्ठ नेता पनि प्रधानमन्त्री पदको दावेदारका रुपमा अघि आउनसक्ने अनुमान पनि गरिएको छ ।