हिजाबमाथिकाे प्रतिबन्ध: कर्नाटकमा हिंसात्मक रूप, विद्यालय बन्द, रोकिए धार्मिक पोसाक

हिजाबमाथिकाे प्रतिबन्ध: कर्नाटकमा हिंसात्मक रूप, विद्यालय बन्द, रोकिए धार्मिक पोसाक

लोकसंवाद संवाददाता  |  विदेश  |  माघ २८, २०७८

भारतको कर्नाटकमा मुस्लिम छात्रालाई हिजाब लगाउन प्रतिबन्ध लगाएको विरोधमा दायर भएको रिटमा कर्नाटक उच्च अदालतले तीन न्यायाधीसको बेन्चमा सुनुवाई सुरु गरेको छ ।

बिहीबार प्रारम्भिक दलील सुनेपछि अब सोमबारसम्मका लागि सुनुवाइ स्थगित भएको छ । अदालतले यो मुद्दाको फैसला नभएसम्म मानिसहरुलाई भड्काउन सक्ने हिजाब वा केसरिया कुनै प्रकारको कपडा नलगाउन पनि आदेश दिएको छ । कर्नाटकका मुख्य न्यायाधीस रितुराज अवस्थीले एक मुस्लिम न्यायाधीसलाई यो बेन्चमा सदस्यका रुपमा रपाखेका छन् ।

न्यायाधीस जैबुनिसा मोहिउद्दीन खाजी सो बेन्चमा छिन् । मुख्य न्यायाधीस अवस्थीको नेतृत्वमा रहेको बेन्चमा अर्का सदस्य न्यायाधीस कृष्णा दीक्षित रहेका छन् । यो मुद्दामा संवैधानिक कानुन र व्यक्तिगत दुवै कानुनका प्रश्न रहेका कारण बृहत इजलासमा पठाइएको छ । 

कहाँबाट सुरु भयो हिजाब विवाद ?

कर्नाटकको उडुपी जिल्लामा एक कजेजमा हिजाब लगाउन प्रतिबन्ध लगाएपछि छात्राहरुले प्रदर्शन सुरु गरेका हुन् । उडुपी कर्नाटकको साम्प्रदायिक रुपमा संवेदनशील जिल्लामध्ये एक हो । कलेजले भने कलेजमा नभएर कक्षाकोठामा हिजाब नलगाउन भनिएको दाबी गरेको छ । तर प्रदर्शनमा सामेल छात्राले भने कक्षामा पनि हिजाब लगाउन दिन माग गर्र्दै आएका छन् ।

हिजाब लगाउन पाउनुपर्ने माग गर्दै मुस्लिम छात्राको प्रदर्शनपछि हिन्दु विद्यार्थीहरू केसरको सल लगाएर कक्षामा आउन थालेका थिए । त्यसपछि अधिकारीहरुले हिजाब र सल दुवैलाई मान्यता दिन अस्वीकार गरेको छ । गत साता उडुपी जिल्लास्थित कुन्दपुरको कलेजमा हिजाब लगाएका विद्यार्थीहरूको समूहलाई गेट रोकिएपछि मुस्लिम समुदाय आक्रोशित बनेको हो ।

उनीहरुले आफूहरूले कलेजले तोकेकै पोसाक लगाए पनि आफ्नो कपाल छोप्न हिजाब लगाउनु पर्ने बताएका छन् । ‘केही पुरुष शिक्षकहरू छन् । हामीले उनीहरूको अगाडि कपाल छोप्नु पर्छ । त्यसैले हामी हिजाब लगाउँछौँ’, उनीहरुको भनाई छ । हिजाब लगाउन रोक लगाएपछि छात्राहरुले उच्च अदालतमा मुद्दा दायर गरेका हुन् । कर्नाटक प्रधानमन्त्री नरेन्द्र मोदीको दक्षिणपन्थी भारतीय जनता पार्टी (भाजपा) को गढ हो । जसलाई विश्लेषकहरूले बहुसंख्यक हिन्दु राजनीतिको प्रयोगशालाको रूपमा व्याख्या गर्छन् । कर्नाटकमा पनि भाजपा सत्तामा छ ।

विद्यालय बन्द

मुस्लिम छात्राहरूलाई हिजाब लगाउन प्रतिबन्ध लगाएको विषयले अन्तर्राष्ट्रिय ध्यानाकर्षण भएपछि कर्नाटक राज्यले उच्च माध्यमिक तहका विद्यालय र कलेजहरू तीन दिनका लागि बन्द गरेको छ । नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले यो घटनालाई ‘डरलाग्दो’ भएको बताएकी छन् । हिजाब लगाउन नदिएपछि ६ जना छात्राले सुरु गरेको आन्दोलन अहिले धेरै कलेजमा फैलिएको छ । बुधबार मुद्दाको सुनुवाइ गरिरहेको उच्च अदालतका न्यायाधीशले प्रधानन्यायाधीशलाई यस विषयमा छलफल गर्न वृहत इजलास गठन गर्न आग्रह गरेका थिए । 

मुस्लिम छात्राको विरोध गरेका हिन्दू छात्राहरुले भने हिन्दूको प्रतीक मानिने भगवा गलबन्दी लगाएर प्रदर्शन गरे । १५ वर्षको उमेरमा छात्राको शिक्षाका विषयमा बोलेकै कारण पाकिस्तानमा तालिवानको आक्रमणमा परेकी मलालाले भारतका नेताहरूलाई ‘मुस्लिम महिलाहरूको सीमान्तीकरण रोक्न’ आग्रह गरेकी छन् । 

उनले ट्विटमा लेखेकी छन्, ‘केटीहरूलाई हिजाब लगाएर विद्यालय जान नदिनु डरलाग्दो छ ।’ भारतमा यस आन्दोलनप्रतिको अडानले अल्पसंख्यक मुस्लिमहरूमा डर र आक्रोश बढाएको छ । उनीहरूले देशको संविधानले आफूहरूलाई चाहेको लुगा लगाउने स्वतन्त्रता प्रदान गरेको बताउँदै आएका छन् ।

मंगलबार भाइरल भएको भिडियोमा एक मुस्लिम महिलाविरुद्ध वयस्क पुरुषहरूको भीडले नारा लगाएको देख्न सकिन्छ । ती भिडिओमा हिजाब र भगवा गलबन्दी लगाएका विद्यार्थीहरूबीच चर्को बहस भएको देखाइएको छ ।

कट्टरपन्थीको साथ रहेको आरोप

हिजाब लगाउन पाउनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका विद्यार्थीमाथि कट्टरपन्थी इस्लामिक समूह, पपुलर फ्रन्ट अफ इन्डियाको विद्यार्थी संगठन क्याम्पस फ्रन्ट अफ इन्डियाको निर्देशनमा काम गरिरहेको आरोप लागेको छ। उनीहरुले भने सो आरोप अस्वीकार गरेका छन् । यस विषयमा विद्यार्थी, कलेजका पदाधिकारी र सरकारी प्रतिनिधिबीच बारम्बार वार्ता भए पनि विवाद समाधान भएको छैन । यसअघि पनि केही कलेजमा यस्तै मुद्दा उठे पनि उडुपीमा प्रदर्शनकारीको फोटो भाइरल भएपनि यसले तीव्र रुप लिएको छ । 

भारतमा हिन्दू अतिवादीहरुले अल्पसंख्यकमाथि भेदभावपूर्ण व्यवहार गरेका घटनाहरु बारम्बार बाहिर आउने गरेका छन् । हिजाब लगाउन पाउनुपर्ने माग गर्दै मुस्लिम छात्राको प्रदर्शनपछि हिन्दु विद्यार्थीहरू केसरको सल लगाएर कक्षामा आउन थालेका थिए । त्यसपछि अधिकारीहरुले हिजाब र सल दुवैलाई मान्यता दिन अस्वीकार गरेको छ । गत साता उडुपी जिल्लास्थित कुन्दपुरको कलेजमा हिजाब लगाएका विद्यार्थीहरूको समूहलाई गेट रोकिएपछि मुस्लिम समुदाय आक्रोशित बनेको हो । हिन्दु छात्र छात्राले हिजाब लगाएका आफ्ना सहपाठीहरूविरुद्ध प्रदर्शन गरेका थिए । 

सोही विषयलाई लिएर मंगलबार अदालतमा सुनुवाइ सुरु हुनुभन्दा केही घन्टा अघिमात्रै सहरहरुमा प्रदर्शनले हिंसात्मक रुप लिएको थियो । विरोध रोक्न स्थानीय अधिकारीहरूले एक औपनिवेशिक युगको कानुनी खण्ड १४४ लागू गरे । जसले चार जना भन्दा बढी व्यक्तिलाई एक ठाउँमा भेला हुन निषेध गर्दछ । 

एउटा भाइरल भिडियोमा, मन्ड्या जिल्लामा हिजाब लगाएकी एक युवतीलाई केसर सल लगाएका पुरुषहरूको भीडले लखेटिरहेको देखिएको छ । जसमा उनीहरु बारम्बार जय श्री राम भन्दै चिच्याइरहेका थिए । ति छात्राको उद्दार गरिदा उनी पनि ‘अल्लाहु अकबर’ भन्दै आफ्नो आस्थामा अडिग देखिएकी थिइन् । केही अन्य मुस्लिम युवतीहरूविरुद्ध पनि त्यस्तै दुर्व्यवहार भएको पाइएको छ ।

कर्नाटकका शिक्षामन्त्री नागेश बिसीले कलेज अधिकारीहरूलाई समर्थन गर्दै केसर स्कार्फ र हेडस्कार्फ दुवै क्याम्पसमा प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् । उनले विद्यार्थीहरुलाई प्रदर्शनका लागि अपराधीहरुले उक्साएको टिप्पणी गरेका छन् । उनले प्रष्ट रुपमा मुस्लिम विद्यार्थी र संगठनविरुद्ध बोलेका थिए । 

मस्लिम विद्यार्थीका वकिलले हिजाबमा प्रतिबन्ध लगाउने सरकारको निर्णय असंवैधानिक र गैर कानुनी भएको बताए । उनले विद्यार्थीहरूलाई परीक्षा अगावै कक्षामा उपस्थित हुन दिने गरी अन्तरिम आदेश दिन अदालत समक्ष अनुरोध गरेका छन् ।