मोदी भन्छन्– अबकी बार, तीन सय पार

मोदी भन्छन्– अबकी बार, तीन सय पार
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ३, २०७६

भोपाल । प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा चुनावमा पूर्ण बहुमत आउने दाबी गरेका छन् ।

शुक्रबार मध्यप्रदेशको खरगौनमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । 

उनले आइतबार हुने अन्तिम चरणको चुनावमा जनताले इतिहासको पटकथा लेख्ने बताएका छन् । उनले भारतमा एक दशकपछि पूर्ण बहुमतको सरकार बन्ने समेत बताएका छन् । उनले आम मतदातालाई भनेका छन्, ‘यो पटक तपाईं भोट मात्रै हाल्नुहुन्न । एक विकसित तथा नयाँ भारतको जग हाल्दैहुनुहुन्छ ।’

उनले पूरै देशले ‘अबकी बार, मोदी सरकार’ भने पनि तीन–चार दिनयता ‘अबकी बार, तीन सय पार’ सुनिएको बताए । 

कांग्रेसले किसानको कर्जा माफ गर्ने प्रतिवद्धता कार्यान्वयन नगरेको भन्दै उनले भोट माग्न आउने कांग्रेस उम्मेदवारलाई फिर्ता पठाउन किसानसँग आग्रह गरे । उनले भने, ‘यदि उनीहरू (कांग्रेस उम्मेदवार) भोट भाग्न आए भन्नुहोला– हामीलाई माफ गर्नुस् र तपाईहरू जानुस् ।’ 

कांग्रेसले गत वर्ष छत्तिसगढ, राजस्थान र मध्यप्रदेशमा भएको विधानसभा चुनावमा किसानको कर्जा १० दिनमा माफ गर्ने प्रतिवद्धता गरेको थियो । 

मोदी उत्तरप्रदेशको बनारस सिटबाट चुनावी प्रतिष्पर्धामा छन् । उनको प्रतिष्पर्धा कांग्रेसका अजय राय तथा समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीको संयुक्त महागठबन्धनकी शालिनी यादवसँग छ ।