स्वास्थ्यमन्त्री खतिवडाको १०० दिनको प्रगति: खोप, खोप र खोप

स्वास्थ्यमन्त्री खतिवडाको १०० दिनको प्रगति: खोप, खोप र खोप

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  माघ २८, २०७८

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले १०० दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् । 

आज मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी उनले आफू मन्त्री भएको १०० दिन पूरा भएको अवसरमा प्रगति विवरण सार्वजनिक गरेका हुन् । 

‘प्रधानमन्त्रीज्यूले घोषणा गर्नुभएको एक मात्र प्राथमिकता ‘खोप, खोप र खोप’लाई मूर्त रूप दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सम्पूर्ण संयन्त्र परिचालित भएको र  कोभिड- १९ विरुद्धको खोप अभियान राष्ट्रव्यापी रूपमा संचालन गरिएको थियो’, मन्त्री खतिवडाले भने । 

उनले प्रस्तुत गरेको प्रगति विवरणमा पनि कोरोना खोपलाई बढी स्थान दिएका छन् ।

आफूले कार्यभार सम्हालेपछि १२ देखि १७ बर्ष उमेर समूहका करिब ३४ लाख बालबालिकाहरूलाई खोप दिने कार्य सुरु गरिएको उनले उल्लेख गरेका छन् ।

‘विगतमा जोखिममा रहेका गर्भवती महिलाहरूलाई मात्र खोप दिइएकामा, हाल सबै गर्भवती महिलाहरूलाई (पहिलो त्रैमासिकपछि) खोप दिने नीति अपनाइएको छ’, उनले भने, ‘लक्षित सबै जनसंख्यालाई पूर्ण मात्रा खोप प्रदान गर्ने तथा जोखिम समूह लक्षित बुस्टर मात्रा प्रदान गर्ने नीतिअनुरूप पर्याप्त मात्रामा खोप अनुदान एवं खरिदमार्फत निरन्तर आपूर्ति भइरहेको छ ।’ 

२०७७ माघ महिनादेखि संचालित कोभिड- १९ विरुद्धको खोप अभियान समय तालिका बनाई संचालन गरिएकामा २०७८ मंसिर महिनादेखि कोभिड- १९ विरुद्धको खोप अभियान देशव्यापी रूपमा निरन्तर र नियमित संचालन भइरहेको उनले जनाए । 

‘६५ वर्षभन्दा माथिको उमेर समूह, दीर्घरोगी एवं फ्रन्टलाइनर्सलाई लक्षित गरी बुस्टर डोज भ्याक्सिन प्रदान गरिँदै आएकामा २७ माघ २०७८ देखि १८ वर्ष उमेर पुगेका सबैलाई बुस्टर डोज भ्याक्सिन प्रदान गर्ने निर्णय भइसकेको छ’, मन्त्री खतिवडाले भने ।