नेपालले प्राप्त गर्‍यो साढे ४ करोडभन्दा बढी कोरोना खोप, करिव साढे ३ करोड डोज लगाइयो

नेपालले प्राप्त गर्‍यो साढे ४ करोडभन्दा बढी कोरोना खोप, करिव साढे ३ करोड डोज लगाइयो
vaccine

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  माघ २८, २०७८

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले नेपालले हालसम्म खरिद र विभिन्न देशको अनुदान सहयोगमा ४ करोड ६५ लाख ७० हजार ७२० डोज कोरोना खोप प्राप्त गरेको बताएका छन् । 

शुक्रबार मन्त्रालयमा कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा प्रगति विवरण सार्वजनिक गर्दै उनले उक्त जानकारी दिएका हुन् । 

प्राप्त गरिएकामध्ये ३ करोड ४८ लाख २५ हजार ६०१ डोज खोप लगाइसकिएको उनले जनाए । 

‘२०७८ आश्विनसम्म लक्षित जनसंख्याको एक तिहाइलाई पूर्ण खोप लगाउने लक्ष्य हासिल भइसकेको छ’, मन्त्री खतिवडाले भने, ‘२७ माघ २०७८ सम्म १२ वर्षभन्दा माथिको लक्षित जनसंख्याको ७७ प्रतिशतलाई पहिलो मात्रा र ६९ प्रतिशतलाई पूर्ण खोप प्रदान गरिएको छ ।’ 

२०७९ वैशाख मसान्तसम्म लक्षित जनसंख्या सबैलाई कोभिड- १९ विरुद्धको पूर्ण खोप प्रदान गर्ने लक्ष्य निर्धारण गरिएको उनले बताए । यसका लागि आवश्यक पर्ने खोपको मौज्दात सुनिश्चत गरिसकिएको र हाल खोप लगाउने दरलाई हेर्दा यो लक्ष्य तोकिएको मितिभन्दा अगावै प्राप्त हुने दाबी उनले गरे ।