राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति निराशाजनक, ६ महिनामा मात्र १६ दशमलब ३९ प्रतिशत बजेट खर्च

राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति निराशाजनक, ६ महिनामा मात्र १६ दशमलब ३९ प्रतिशत बजेट खर्च

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २८, २०७८

चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो ६ महिनामा राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति निराशाजनक पाइएको छ । 

अर्थ मन्त्रालयले गरेको चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति निराशाजनक रहेको पाइएको हो । 

अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष २०७८/०७९ मा राष्ट्रिय गौरवका आयोजनाहरूका लागि कुल ८२ अर्ब २४ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । 

बितेका ६ महिनामा राष्ट्रिय गौरवका आयोजनाहरूका लागि विनियोजन गरिएको कुल बजेटको १६ दशमलब ३९ प्रतिशत मात्र खर्च भएको छ । अर्थात् चालू आर्थिक वर्षको पहिलो ६ महिनामा राष्ट्रिय गौरवका आयोजनामा १३ अर्ब ४८ करोड ३६ लाख रुपैयाँ खर्च भएको छ । 

यस वर्ष राष्ट्रिय गौरवका आयोजनाका लागि चालूतर्फ ३ अर्ब ३८ करोड ४६ लाख, पुँजीगततर्फ ६६ अर्ब ४७ करोड १८ लाख र वित्तीय व्यवस्थातर्फ १२ अर्ब ३८ करोड ८० लाख रुपैयाँ छुट्याइएको थियो । 

अर्थ मन्त्रालयका अनुसार २०७८ साउन देखि पुस मसान्तसम्म चालूतर्फ १ अर्ब ३६ करोड ८० लाख रुपैयाँ, पुँजीगततर्फ ११ अर्ब ६३ करोड ६ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ४८ करोड ५० लाख रुपैयाँ खर्च भएको छ ।