'गठबन्धन देशलाई असंवैधानिक बाटोमा लान खोज्दै छ'

'गठबन्धन देशलाई असंवैधानिक बाटोमा लान खोज्दै छ'

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २८, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तोकिएको मितिमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले स्थानीय तहको निर्वाचन गराउनेमा शंका व्यक्त गरेका छन् । 

शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन तयारी केन्द्रीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले निर्वाचन तोकिएकै मितिमा गराउन सबैलाई सतर्क रहन आग्रहसमेत गरे । 

‘एउटा उखान छ- ढाँटको निम्तो खाई पत्याउनु । जबसम्म खाइँदैनफ तबसम्म ढाँटले निम्तो गर्‍यो भने भोकै बस्नुपर्छ', ओलीले भने, ‘अझै पनि हामी सजगताका साथ निर्वाचन निश्चित रूपमा गराउने र अहिले तोकिएअनुसार निर्वाचन गराउने कुरामा सजगताका साथ लाग्नुपर्छ । निर्वाचन नगराउने षड्यन्त्र हुन सक्छ ।’ 

एमालेको दबाबकै कारण सरकारले ३० वैशाख २०७९ मा एकैचरणमा गर्नेगरी स्थानीत तह निर्वाचनको मिति घोषणा गरेको दाबी उनले गरे ।  

स्थानीय तह निर्वाचनको मिति घोषणा भएपछि पनि सरकारमा सहभागी कोही अदालत जाने कोही निर्वाचन हुनै सक्दैन भन्दै हिँडेकाले आशंका बढाएको उनले बताए । 
‘स्थानीय तहको निर्वाचन गराउने घोषणा गरेपछि गठबन्धनबाट यी कुरा आएका छन् । गठबन्धन देशलाई असंवैधानिक बाटोमा लैजाने प्रयासमा अहिले पनि लागिरहेको छ । हामी सजग रहनुपर्छ’, ओलीले भने ।