पवन ‘आलोक’ कँडेल: १४ वर्षमै प्रधानाध्यापक, ' नियात्रा पुरस्कार’का जीवित स्रष्टा

पवन ‘आलोक’ कँडेल: १४ वर्षमै प्रधानाध्यापक, ' नियात्रा पुरस्कार’का जीवित स्रष्टा

आशिष पौडेल  |  अन्तर्मन्थन  |  माघ २९, २०७८

पवन ‘आलोक’ कँडेल १४ वर्षको उमेरमा एसएलसी पास गर्ने र  विद्यालयको प्रधानाध्यापक हुने व्यक्ति ! एसएलसी दिनका लागि फर्ममा १६ वर्ष लेखिए पनि केवल १४ वर्षको उमेरमा एसएलसी पास भएलगत्तै उहाँ आफूले पढेको सरस्वती प्राविमा प्रधानाध्यापक नियुक्त हुनुभयो ।

जिल्ला शिक्षा कार्यालय भोजपुरले उहाँलाई नियुक्तिपत्र लेखेर दियो । गाउँमा त्यस बेला खासै अरू अवसर हुँदैनथ्यो र बाहिरी दुनियाँसँग खासै सम्पर्क नभएकाले सबैभन्दा ठूलो भनेको नै शिक्षक भन्ने लाग्थ्यो । त्यसमाथि प्रधानाध्यापक भनेपछि त्यसले कति खुसी दियो, उहाँ अहिले पनि मापन गर्न सक्नुहुन्न । 

४०-५० घरको गाउँमा यसले उहाँको इज्जत त बढायो नै साथै गर्वको महसुस पनि गरायो । वास्तविक उमेर १४ वर्षको मानिसले त्यो कति अनुभूति गर्न सक्नुभयो थाहा छैन । तर, पिताजी त्यसै स्कुलको सचिव र सामाजिक कार्यमा सक्रिय व्यक्तित्वका कारण उहाँको सामाजिक प्रतिष्ठा पनि बढायो हेडमास्टरले । 

उहाँले परशु प्रधान सरको सक्रियताले सिकाएको साहित्यिक गोष्ठी, नाटक मञ्चन तथा वार्षिक कार्यक्रम जस्ता सिर्जनशील काम गरेर देखाउनुभयो सानै उमेरमा हेडमास्टर भए पनि । 

उहाँ हेडमास्टर हुँदा स्कुलमा एक जना सहायक शिक्षक गरेर जम्मा २ जना हुनुहुन्थ्यो । ४-५ वटा कक्षा थिए । उहाँलाई तथा अर्का सहायक शिक्षकलाई पनि सर नै भन्थे विद्यार्थीले । हेडसर र सर भन्ने खास त्यस्तो अन्तर थिएन ! 

त्यसबेलासम्म स्कुलको सामान्य भवन बनेको थियो । केही डेस्क/बेन्च पनि थिए । शिक्षा विभागले पनि स्कुललाई केही सहयोग गर्‍यो । 

हेडमास्टर हुन पाएकामा उहाँलाई गर्व त थियो नै, यसभन्दा अगाडि अब पढ्नुपर्छ भन्नेसमेत उहाँलाई हेक्का थिएन । मेरा लागि सर्वोच्च पद तथा शिक्षा यही नै हो भन्ने लाग्यो उहाँलाई । 

०००

एसएलसी पास भएपछि उहाँ हेडमास्टर हुनुभयो तर त्यसभन्दा अगाडि पढ्ने ठाउँ नै थिएन । भोजपुरमा समेत कलेज थिएन कि जस्तो लाग्छ उहाँलाई । 

पढ्नका लागि कि त धरान कि विराटनगर आउनुपर्थ्यो । स्कुलमा हुँदा भित्ते पत्रिका निकाल्न सहयोग गर्ने साथी दिनेश बस्नेत पढ्न धरान जानुभयो । अरू केही साथी पनि पढ्न कताकता लागे । 

बेलाबेलामा जिल्लाबाहिर पढ्न गएका साथीको चिठी आउँथ्यो । त्यसले पनि पढ्नुपर्ने रहेछ भनेर उहाँमा पढाइप्रतिको भोक जगाएको थियो । नत्र त मास्टर जिन्दावाद थियो आलोकको पारा !

हेडमास्टर भएको एक-डेढ वर्षमा केही मान्छे पढ्न काठमाडौं आए अनि बल्ल उहाँलाई पनि ए अब अगाडि पढ्नुपर्ने पो रहेछ भन्ने लायो । र, उहाँले बुबालाई अब काठमाडौं पढ्न जानुपर्‍यो भन्नुभयो । धरान, विराटनगर त महाभारत लाग्ने समयमा काठमाडौं त एकदमै टाढाको कुरा थियो । 

०००

बाल्यकालका कुरा गर्दा घरमा आफूले सक्ने जुनसुकै प्रकारको काम गरेर परिवारमा सघाउनु बाध्यता तथा दायित्वमा पर्थ्यो । उमेरका हिसाबले त्यसबेला सघाउने भनेको गोठालो जाने, सकेको घाँसपात गर्ने हुन्थ्यो । 

सङ्खुवा खोला र अरुण नदीको दोभानमा एउटा मलिलो समथर मैदान थियो- वुम्लिङटार, जहाँ गोठालो जाँदा यसो फुर्सद मिल्यो कि नदीमा पौडी खेल्यो अनि कहिलेकाहीँ स्कुल जाँदा पनि खोलामा बाँकटे लगायो । यसैगरी बित्यो आलोकको बाल्यकाल । 

०००

उहाँले कखरा सिकेको सरस्वती प्रावि नाम मात्रको स्कुल थियो । पक्की भवन थिएन । पानी परे पनि बिदा, हुरी चले पनि बिदा, घाम चर्के पनि बिदा । स्कुल १० मिनेटको पैदल दूरीमा थियो, त्यो पनि समथर बाटोमा । त्यो भनेको एक हिसाबले त्यो उमेरमा कुनै दूरी नै होइन । 

बस्नलाई डेस्क/बेन्चको कल्पना पनि थिएन । प्रत्येक विद्यार्थीलाई बस्नका लागि सानो खाल्डो बनाइएको हुन्थ्यो । घरबाट लिएर गएको चकटी, जसलाई पिरा भनिन्थ्यो, ओल्छ्याएर बस्नुपर्थ्यो । 

कलमको प्रचलन त कता हो कता । सिलोटमा खरीले लेख्नुपर्थ्यो । किताब थिएन । सरहरूले पढाएको भरमा 'पढे पढ्यो नत्र छैन बरिलै' थियो अवस्था । 

उहाँका पिताजी स्कुलको सचिव हुनुहुन्थ्यो । दिङलाका चापागाईँहरूसँग उहाँको राम्रो सम्बन्ध भएको हुँदा नेपाली साहित्यका प्रख्यात सर्जक प्रा.डा. नरेन्द्र चापागाईँ त्यस स्कुलमा पढाउन आइपुग्नुभयो केही समय । उहाँले केही समय पढाउनुभयो आलोकलाई । 

कक्षामा बाहुल्य छात्रकै हुन्थ्यो । एउटा कक्षामा प्रायः ८-१० जना हुन्थे । छात्राको सङ्ख्या नगण्य थियो । भइहाले पनि १-२ जना । त्यसमा पनि केही समयका लागि मात्र । विविध कारणले महिलाहरूले पढाइ पूरा गर्न पाउँदैनथे । 

कक्षा ३ मा प्रथम भएपछि उहाँ कक्षा फड्केर कक्षा ४ नपढी एकै पटक ५ कक्षामा जानुभयो ।

०००

कुलुङको हाइस्कुल शिक्षाका लागि भने उहाँलाई करिब डेढ घण्टाको उकालो बाटो हिँड्नुपर्थ्यो । ३ जना अन्य साथी पनि थिए कुलुङको वीरेन्द्र हाइस्कुल पढ्न जानेमा ।

कहिलेकाहीँ त जाँदाजाँदै अल्छी लागेर उहाँहरू बाटैमा बाघचाल खेलेरसमेत बस्नुहुन्थ्यो । यसमा उहाँको सहभागिता पातलो हुन्थ्यो । उहाँ धेरैजसो स्कुल नै जानुहुन्थ्यो । 

२०२२/०२३ सालमा प्रसिद्ध आख्यानकार परशु प्रधान वीरेन्द्र हाइस्कुलको प्रधानाध्यापक भएर आउनुभयो । विषयगत शिक्षकहरू हुँदैनथे । त्यसैले पनि विद्यार्थीमा अलिक आलस्यय जाग्थ्यो पढ्नमा । 

त्यहाँ गएपछि उहाँको पढाइ सुध्रियो । ७-८ कक्षामा पुग्दा उहाँ दोस्रो-तेस्रो हुन थाल्नुभयो । पछि भने प्रथम पनि हुनुभयो ।कक्षामा १२-१५ जना विद्यार्थी हुन्थे, जसमा छात्राको संख्या ५-६ जना हुन्थ्यो । बस्नलाई डेस्क/बेन्च भने थियो । खेलमा भने भलिबल, बुद्धिचाल, नाग पास तथा क्यारम बोर्ड हुन्थे ।

परशु प्रधान प्रधानाध्यापक भएर गइसकेपछि स्कुलको वातावरण अलिक साहित्यिक बन्यो । प्रत्येकजसो शुक्रबार अतिरिक्त क्रियाकलापका रूपमा साहित्यिक कार्यक्रम गर्ने तथा कथा, कविता लेख्न लगाएर एउटा कपी पुरस्कार दिने प्रचलन सुरु भयो । त्यसले साहित्यप्रति रुचि जगाउने काम गर्‍यो ।

आलोक धेरैजसो प्रथम नै हुनुभयो । यसरी प्रथम भएबापत उहाँले धेरै कपी प्राप्त गर्नुभएको छ । पछि यसको विस्तृत रूप भनेको साप्ताहिक भित्ते पत्रिका निकाल्ने तहसम्मको भयो । यसरी ‘गुराँस’ नामक भित्ते पत्रिकामा त्यहाँका साहित्यप्रति रुचि भएका विद्यार्थीका रचना सजिन थाले । 

पहिले पहिले भने विद्यालय संचालनका लागि गुठी नै नभए पनि गुठी जस्तै भूमि दानको परम्परा बसाइयो । त्यो भनेको भूमि कानुनी रूपमा पास गर्ने नभई छुट्याएको जमिनमा उत्पादित वस्तु स्कुललाई दान दिने परम्परा थियो । स्कुल संचालन गर्ने अर्को उपाय नभएपछि यो एक प्रकारको शुल्क जस्तै थियो । ८-९ कक्षातिर गएपछि भने शुल्क लिन थालियो । तर, पिताजीले तिर्ने हुनाले रकम कति भन्ने उहाँलाई थाहा भएन । 

स्कुलबाट ओरालो तलतिर झर्दै गएपछि अरुण नदीको अलिक माथितिर उहाँको खेत थियो । त्यहाँ हिउँदमा गोठ राख्ने चलन थियो । स्कुल जान आधा घण्टा बाटो छोटिने हुनाले उहाँ त्यतै गोठमा बस्नुहुन्थ्यो । 

पूर्णिमाको राति अरुण नदीमा परेको जूनको छायाबाट प्रभावित भएर उहाँले अंग्रेजीमा ‘द मुन’ शीर्षकको अंग्रेजी कविता पनि लेख्नुभयो । गृहकार्य परीक्षण गर्दै गर्दा परशु सरले उक्त कविता देख्नुभएछ । प्रधानलाई 'यो केटोमा केही छ' भन्ने लागेर कविता लेख्नमा अलिक बढी प्रेरित गर्न थाल्नुभयो । 

०००

त्यसबेला झापामा एउटा साहित्यिक सम्मेलन भएको थियो, जसमा साहित्यकार तथा त्यसबेलाका मन्त्री केदारमान व्यथित अतिथि हुनुहुँदो रहेछ । परशु सरले एउटा कथा वाचन गर्नुभएको थियो । 

त्यो कथाबाट प्रभावित भएर व्यथितले प्रधानलाई 'तपाईँ काठमाडौं आउनुहोस्, तपाईँलाई जागिर मिलाइदिउँला' भनेपछि प्रधान काठमाडौं आएर साझा यातायातमा जागिर खान थाल्नुभयो । 

०००

कागजमा १६ लेखिए पनि उहाँले १४ वर्षको उमेरमा नै एसएलसी पास गर्नुभयो । यो २०२५ सालको कुरा हो । त्यसबेला एसएलसी दिने १२-१५ जनाजति थिए । 

५-६ जनाजति पास भए । उहाँ पनि त्यो ५-६ जनामा पर्नुभयो । उहाँ द्वितीय श्रेणीमा पास हुनुभयो । त्यसबेला वीरगंजमा प्रवेशिका परीक्षा भन्ने एसएलसी सरहको अर्को परीक्षा पनि चल्दै थियो, जसलाई त्यस बखतको सरकारले एसएलसी सरहकै मान्यता दिएको थियो । 

त्यसको सेन्टर परशु सरले कुलुङमा लैजानुभयो । यसले गर्दा उहाँहरूलाई दोहोरो अवसर आइलाग्यो । २ वटामध्ये एउटामा कसो पास नहोइएला भनेर उहाँले दुवैमा जाँच दिनुभयो । उहाँ दुवैमा पास हुनुभयो । तर, प्रवेशिकामा भने उहाँ तृतीय श्रेणीमा मात्र उत्तीर्ण हुनुभयो । 

०००

हेडमास्टर हुँदा उहाँको तलब ९० रुपैयाँ थियो । यो नै उहाँको जीवनको पहिलो कमाइ थियो । त्यसको भुक्तानी पिताजीले नै राख्नुहुन्थ्यो । गाउँमा खर्च गरौँ भने पनि खास खर्च गर्ने ठाउँ थिएन । 

केवल २ वटा पसल थिए । पसलमा पाउने भनेको राता, सेता मिठाई, पिपलमेट आदि थिए । कहिलेकाहीँ मिठाई खानुपर्‍यो भने पिताजीसँग माग्दा ८-१० रुपैयाँ नदिने होइन । 

०००

पिताजी उहाँलाई पढ्न प्रेरित गरिरहनुहुन्थ्यो । काठमाडौं पढ्न जाने अनुमति सजिलै स्वीकार गर्नुभयो । तर, एउटा शर्त भने पिताजीले तेर्स्याउनुभयो । एक्लो छोरो भएका कारण 'काठमाडौं पढ्न जाने हो भने बिहे गरेर मात्र जान पाउँछस् !'

बिहे गर्ने न त उमेर थियो, न सोच ! तर पनि पढ्नका लागि पिताजीले राखेको शर्त उहाँले सजिलै स्वीकार गर्नुभयो । बिहे गरेको झन्डै एक वर्षपछि पढ्नका लागि उहाँ काठमाडौं हानिनुभयो । 

०००

त्यसबेला यातायातको माध्यमको अप्ठ्यारो भनिसाध्य थिएन । तुम्लिङटारको विमानस्थल भर्खर खनिँदै थियो । त्यस समयमा धरानबाट ४-५ दिन लगाएर बोकेर नुन ल्याउनुपर्थ्यो गाउँमा । 

केही साथीहरूसहित उहाँ पैदल हिले–धनकुटा–धरान हुँदै विराटनगरबाट जोगबनी, दरभंगा रक्सौल भएर काठमाडौं आउनुभयो । अहिले यी कुरा कसैले सुन्दा पनि बडो अनौठो लाग्छ । तर, यथार्थ यस्तै थियो नेपालको । 

पछि कोठामै पकाएर खाने मेस बन्यो साथीहरूको सल्लाहमा । तर, उहाँसँग पैसा छउन्जेल खाईपिई राम्रै हुन्थ्यो । अनि, साथीहरूको पालो आएपछि कसैले पनि पैसा नझिक्ने । कहिले भोकभोकै हुने अवस्था पनि आयो ।त्यसपछि भने उहाँ एक्लै बस्ने निर्णय गर्नुभयो । 

त्यसबेलाक राष्ट्रिय पंचायत सदस्य डम्बरबहादुर बस्नेत पनि उहाँहरूसँगै समूहमा हुनुहुन्थ्यो । काठमाडौं पहिलो पटक उहाँलाई पुरानो बसपार्क झरेजस्तो लाग्छ । बस्ने, खाने व्यवस्था माननीयका दाजुभाइकहाँ भएजस्तो लाग्छ उहाँलाई । 

काठमाडौं आएपछि उहाँलाई पुराना हेडमास्टर परशु प्रधानलाई भेट्ने इच्छा थियो । तर, त्यो अवसर पनि संयोगका रूपमा मिल्यो उहाँलाई भोटाहिटीमा । 

त्यसपछि परशु सरले उहाँको कोठा मरु दक्षशालमा लैजानुभयो । अब आउजाउ र भेटघाट सजिलो भयो । पछि परशु सरले त्यता नै डेराको प्रबन्ध पनि गरिदिनुभयो गुरुप्रसाद राई, नरबहादुर बुढाथोकी र उहाँलाई । 

त्यसबेला घरबाट खर्च पठाउन पनि गाह्रो थियो । कहिले आवा तथा टीटी कहिले केके गरेर उहाँलाई पिताजीले खर्च पठाइदिनुहुन्थ्यो । कोठा भाडा २० रुपैयाँ तथा होटेलमा महिनावारी खाएको ४० रुपैयाँ थियो । यसमा हप्तामा एक छाक मासु-भात पनि हुन्थ्यो । 

०००

भोजपुरको कुलुङमा २० वैशाख २०११ मा एउटा निम्न मध्यम वर्गीय परिवारमा जन्मिनुभएका पवन आलोकलाई घरबाट खर्च जोहो गराउने जाँगर चलेन, अप्ठ्यारो पनि थियो । खेतीपाती गरेर खान-लगाउन सामान्य पुग्ने तर फुर्मास गर्न नपुग्ने थियो परिवार । त्यस अर्थमा निम्न मध्यम वर्गीय परिवार भन्न रुचाउनुहुन्छ आलोक । त्यसैले जागिर खाँदै पढ्नुपर्ने बाध्यता बनायो उहाँलाई काठमाडौंमा ।

परिवारमा उहाँसहित २ दिदी हुनुहुन्थ्यो । २ दिदीमध्ये अहिले एक जना दिदीको निधन भइसकेको छ भने एक जना दिदी अहिले काठमाडौंमै हुनुहुन्छ ।

उहाँका पिताजी सामाजिक अभियन्ता । गाउँमा प्राथमिक स्कुल खोल्नमा उहाँले राम्रै योगदान दिनुभएको थियो, जहाँ आलोकले पनि प्राथमिक तहको शिक्षा लिनुभयो । 

०००

उहाँलाई परशु सरले जागिर पनि मिलाइदिनुभयो साझामा । उहाँ जागिर खाँदै नेसनल कलेज अर्थात् अहिलेको शंकरदेव क्याम्पसको रात्रि कक्षामा भर्ना हुनुभयो । राति लामखुट्टे लाग्ने कारणले उहाँले कलेज जानुभन्दा प्राइभेट दिनु राम्रो भनेर प्राइभेट जाँच दिनुभयो र पास पनि हुनुभयो प्रवीणता प्रमाणपत्र तह । 

त्यसबेलाको नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा खरिदारका लागि दरखास्त खुल्यो । उहाँ पास भएर जागिर खान थाल्नुभयो । तलब थियो १५० रुपैयाँ । यो भने २०२७ सालको कुरा हो । त्यसबेला १५० रुपैयाँ भनेको राम्रै पैसा थियो । सबै फुर्मास गरेर खर्च गरे पनि ५० रुपैयाँ जोगिन्थ्यो । 

पछि कोठामै पकाएर खाने मेस बन्यो साथीहरूको सल्लाहमा । तर, उहाँसँग पैसा छउन्जेल खाईपिई राम्रै हुन्थ्यो । अनि, साथीहरूको पालो आएपछि कसैले पनि पैसा नझिक्ने । कहिले भोकभोकै हुने अवस्था पनि आयो । 

त्यसपछि भने उहाँ एक्लै बस्ने निर्णय गर्नुभयो । 

०००

उहाँले अब जागिर खाँदै बीए प्राइभेट दिन थाल्नुभयो । पहिलो वर्ष त सबै कट्यो पनि तर, दोस्रो वर्ष भने एउटा विषय लाग्यो । त्यो अर्को वर्ष जाँच दिएर उहाँ बीए पनि पास हुनुभयो । 

उहाँको अंग्रेजी राम्रै थियो । त्यो कसरी भने, ८ कक्षामा पढ्दै उहाँले ‘द मुन’ शीर्षकमा अंग्रेजी कविता लेख्नुभएको थियो । अर्थात्, उहाँको अंग्रेजी लेखनको शैली पनि राम्रो थियो । यसै बीचमा उहाँ रेडियो नेपालको लेख/रचना सम्पादक पनि हुनुभयो करिब डेढ वर्षका लागि । साथै, प्रज्ञाप्रतिष्ठानमा अधिकृतसमेत हुनुभयो । यो त्यस्तै २०३४/०३५ सालको कुरा हो । पछि उहाँले ब्रिटिस काउन्सिलले दिने छात्रवृत्तिमा बेलायतमा पढ्ने अवसरसमेत पाउनुभयो । यो २०४२ सालतिरको कुरा हो । 

२०२८/०२९ सालतिर होला, राजा महेन्द्रका भाइ हिमालय शम्शेरले पानीजहाज किनेर नेपाल सिपिङ कर्पोरेसन चलाउने भनेर विज्ञापन गरियो । उहाँलाई पनि हिन्दी सिनेमामा देवानन्द आदि नायकहरूले बेलायतमा गएर फर्केको कारणले अर्कै शान हुने देखेर बेलायत जाने रहर जाग्यो । र, सिपिङ कर्पोरेसनमा दरखास्त हाल्नुभयो । तर, दुर्भाग्य, सिपिङ कर्पोरेसन नै खुलेन ।  

उहाँ बेलायत पढ्न त जानुभयो । बेलायत गए पनि अलिक लामो छुट्टी भयो कि उहाँ कहिले जर्मनी जाने त कहिले फ्रान्स तथा स्विट्जरल्याण्ड घुम्न जाने गर्नुहुन्थ्यो ।'बेलायततिर बरालिँदा' भन्ने तारानाथ शर्माको पुस्तक नै उहाँको बेलायततर्फको आकर्षण र नियात्रा लेखनको प्रमुख आधार बन्यो भन्दा अत्युक्ति नहोला । 

००० 

त्यसबेला बेलायत सरकार विदेश मन्त्रालयको ओेभरसिज डेभलोपमेन्ट एडमिनिस्ट्रेसन (ओडीए)अन्तर्गत पोखराको लुम्ले तथा पाख्रीबास कृषि केन्द्र संचालित थिए । धनकुटास्थित पाख्रीबास कृषि केन्द्रको सूचना सेवा शाखामा उहाँले सूचना अधिकृतका रूपमा काम गर्ने अवसर पाउनुभयो । 

सूचना अधिकृतका लागि विज्ञापन भएको थियो । विषय पनि मिल्ने, बेलायत पढेर आएको, प्रज्ञाप्रतिष्ठानमा पनि 'प्रज्ञा'लगायतका पत्रिकामा काम गरेको तथा रेडियोमा लेख, रचना सम्पादकको रूपमा समेत काम गरेकाले यो पद सबै हिसाबले उहाँका लागि अनुकूल हुन गयो । पछि पदोन्नति भएर उहाँ प्रमुख सूचना अधिकृत हुनुभयो । उहाँको सुरुको तलब ५ हजार ५०० रुपैयाँ थियो । त्यसबेला सरकारी अधिकृतको तलब यसको आधा जस्तो थियो । 

यसबेला उहाँको परिवार पनि भोजपुरबाट बसाइँसराइ गरेर विराटनगर आइसकेको थियो । धनकुटाको पाख्रीबास ठाउँका हिसाबले उहाँलाई पायक पर्नेसमेत भयो । उहाँले त्यहाँ करिब ५ वर्ष काम गर्नुभयो । 

त्यसपछि भने उहाँ विराटनगरस्थित ब्रिटेन नेपाल मेडिकल ट्रस्ट (बीएनएमटी)को अफिसमा काम गर्न थाल्नुभयो । यो विराटनगरमै भएको हुनाले झनै घर पायक भयो भने पैसा पनि केही बढी थियो । 

उहाँको जागिर परिवर्तनको क्रम जारी रह्यो । विराटनगरमै रहेको प्लान इन्टरनेसनलको फिल्ड अफिसमा विदेशी फिल्ड डाइरेक्टरभन्दा एक तह मुनि सिनियर मेनेजरको रूपमा रुपमा उहाँले काम थाल्नुभयो । झन्डै १५ वर्ष उहाँले नेपाल म्यानेजमेन्ट टिम मेम्बर तथा रिजनल हेड अफ अपरेसनका रूपमा काम गर्नुभयो । 

०००

उहाँको साहित्यिक यात्रा अरुण नदीमा परेको जूनको छायामा लेखिएको अंग्रेजी कविता ‘द मुन’बाट सुरु भएको हो । तर, उहाँको प्रकाशित रचना भने २०२७ सालमा 'बेलपत्र' पत्रिकामा ‘प्रेम एक अभिव्यक्ति’ भन्ने कविताबाट भएको हो । 

राजधानी आएपछि उहाँको प्रतिभाले झन् मुखरित हुने अवसर पायो । प्रज्ञाप्रतिष्ठानमै जागिरे भएपछि त्यसबेलाका चर्चित साहित्यकारहरू माधव घिमिरे, हरिभक्त कटुवाल, लैनसिंह वाङ्देल जस्ता हस्तीसँगको उठबसले प्रतिभा निखारिन झन् मद्दत पुग्यो । 

नेपाली साहित्यको क्षेत्रमा २०२३/०२४ सालदेखि निरन्तर सक्रिय आलोकको रूपरेखा, मधुपर्क, गोरखापत्र, गरिमा, माधुर्य (तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट प्रकाशन हुने)लगायत देशभित्र र बाहिरका विभिन्न प्रमुख साहित्यिक पत्रपत्रिकाहरूमा थुप्रै रचनाहरू प्रकाशित भएका छन् साथै रेडियो नेपाल र अन्य प्रसारण माध्यमहरूबाट प्रसारणसमेत भएका छन् ।

लेखनमा सक्रिय रहे पनि काठमाडौंबाहिर जागिर खान थालेपछि भने साहित्यिक माहोल नमिलेका कारण प्रकाशनका अवसरहरू नमिलेर कतै सुस्ताएको हो कि जस्तो देखिन्छ उहाँको साहित्यिक यात्रा । रेडियो नेपालमा २०३४/०३५ सालतिर लेख, रचना सम्पादक रहनुभएका आलोकको  पहिलो कृतिका रअंपमा ‘पवन आलोकका केही कविता’ भन्ने कवितासंग्रह २०६० सालमा निस्कियो । त्यसको केही समयमा यसको दोस्रो संग्रह पनि निस्कियो । उहाँका प्रमुख विधामा कविता, नियात्रा, निबन्ध, कथा परेका देखिन्छन् ।

युरोपको झझल्को (नियात्रासंग्रह, प्रथम संस्करण २०६८, दोस्रो संस्करण २०६८), 'द प्वाइजन ट्री' (अंग्रेजीमा अनुवाद गरिएका कविताहरूको संग्रह, बङ्गलादेशबाट प्रकाशित), 'अरुण एक्सप्रेस' (यात्रा उपन्यास), 'केही सम्झना: केही सिर्जना' (लेख/निबन्धसंग्रह २०७३) उहाँका प्रकाशित कृति हुन् । उहाँको एउटा नियात्रासंग्रह छिट्टै प्रकाशनको तयारीमा छ ।

नगेन्द्रराज शर्मा अभिनन्दन ग्रन्थ, २०७८, तथा ‘गुराँस’ भित्ते पत्रिका (२०२३/०२४ सालतिर भोजपुरको वीरेन्द्र हाइस्कुलबाट निस्कने गरेको साहित्यिक भित्ते पत्रिका)को प्रधानसम्पादकका रूपमा समेत काम गर्नुभएको छ । 'बहुमुखी व्यक्तित्वकी धनी योगमाया' (२०७० असार)को उहाँ सम्पादकसमेत रहनुभयो । 

उहाँको संयुक्त सम्पादनमा 'एन एन्थोलोजी अफ नेपाली भर्सेस' (नेपाली कविताहरूको अनुदित संग्रह, बङ्गलादेशबाट प्रकाशित), 'कन्टेम्पोरेरी नेपाली पोइम्स' (आधुनिक नेपाली कविताहरूको बाङ्ला भाषामा अनुदित संग्रह बङ्गलादेशबाट प्रकाशित), 'श्री इन्द्रप्रसाद श्रेष्ठ: जीवनवृत्त र व्यक्तित्व' (जीवनी) तथा 'स्रष्टा दर्पण' रहेका छन् । 

०००

उहाँ थुप्रै पुरस्कार/सम्मानबाट सुशोभित पनि हुनुहुन्छ, जसमा ‘पल्लव राष्ट्रिय सम्मान, २०६८’, ‘धरणीधर पुरस्कार, २०७०’, नेपाल वातावरण दिवस, २०७१ को अवसरमा २९ असार २०७१ मा नेपाल सरकारबाट कदरपत्र, नेपाल सरकारबाट आदिकवि भानुभक्त आचार्य द्वि शतवार्षिकीका अवसरमा प्रशस्तिपत्र र स्वर्णपदक, शहीद दिवसका अवसरमा तत्कालीन नगर पंचायतले २०२७ सालमा आयोजना गरेको राष्ट्रव्यापी कविता प्रतियोगितामा प्रथम पुरस्कार, ३ साउन २०७१ मा डीबी त्यागी हिरक जयन्ती सम्मान, नेपाली परिषद्, देहरादून, भारतबाट सम्मानपत्र (२७ अक्टोबर २०१५), बङ्गलादेश-नेपाल मैत्री संघबाट सम्मानपत्र, ढाका, बङ्गलादेश (३१ मे २०१६), ऐतिहासिक नारी योगमायाका स्मृतिमा यशोदा बैजनाथ भट्टराई सेवा पुरस्कार प्रतिष्ठान विराटनगरद्वारा प्रदान गरिएको यशोदा वैजनाथ भट्टराई सेवा पुरस्कार/योगमाया स्मृति सम्मान (३१ असार २०७३) आदि । 

 ०००

नेपालको सामाजिक आन्दोलनकी अग्रणी, प्रसिद्ध धार्मिक व्यक्तित्व, विशिष्ट ऐतिहासिक नारी स्रष्टा योगमायाको नाममा निजी कोषबाट २ लाख रुपयाँको अक्षयकोष राखी २०६५ सालदेखि प्रत्येक वर्ष नेपाली नारी स्रष्टालाई २० हजार १ रुपैयाँ नगद राशि र सम्मानपत्र दिने गरी ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’को स्थापनासमेत गर्नुभएको छ आलोकले । 

विगत २ वर्षदेखि उक्त सम्मान राशिमा वृद्धि भई २५ हजार १११ रुपैयाँ पुर्‍याइएको छ । उक्त सम्मानबाट हालसम्म रमा शर्मा, भद्राकुमारी घले, अंगुरबाबा जोशी, सगुन शाह, शान्ता श्रेष्ठ र कविता पौडेल, दुर्गा घिमिरे, मिठाइदेवी विश्वकर्मा, निलम कार्की 'निहारिका', कुन्ता शर्मा र शान्ता मानवीसमेत सम्मानित भइसक्नुभएको छ ।  

उहाँको नाममा गत वर्ष ‘पवन आलोक नियात्रा पुरस्कार’ पनि स्थापना भएको छ । श्रीमती रेखा कँडेलले गत वर्ष नियात्रा समाजमा स्थापना गरेको उक्त पुरस्कारबाट यही २३ माघमा नियात्राकार भीष्म उप्रेतीलाई पुरस्कृत गरिसकिएको छ । 

०००

उहाँ नेपाल स्रष्टा समाजका संस्थापक महासचिव, निवर्तमान अध्यक्ष तथा हाल संरक्षक एवं सल्लाहकार, प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगर, सुनसरी साहित्य प्रतिष्ठान, सुनसरी, मोती संस्मरण समिति धरान,  डा. नरेन्द्र चापागाईँ स्मृति प्रतिष्ठान विराटनगर, विराट रङ्गकर्मी जमात विराटनगर, श्री योगमाया भक्ति पीठ नेपालेडाँडा भोजपुर, श्री सत्य शिव भक्ति आश्रम कुलुङ, बुम्लिङटार, भोजपुर, आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान काठमाडौं,  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नियात्रा समाज काठमाडौंको आजीवन सदस्य हुनुहुन्छ भने विश्व दर्शन केन्द्रका सल्लाहकार । 

यसका अलावा उहाँ पुरानो र प्रसिद्ध साहित्यिक पत्रिका 'अभिव्यक्ति'को प्रधानसम्पादकसमेत हुनुहुन्छ । २०७७ सालमा वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको राष्ट्रिय अभिनन्दन मूल समितिको समेत उहाँ अध्यक्ष रहनुभएको थियो । 

०००

‘पवन आलोकका केही कवितासंग्रहका कविताको अध्ययन’ विषयमा नवराज तिमल्सिनाले, ‘पवन आलोकको जीवनी, व्यक्तित्व र कृतित्व’ विषयमा डिल्लीराम बस्यालले तथा ‘अरुण एक्सप्रेस’ उपन्यासको विधातात्त्विक अध्ययन बारेमा रमा सापकोटाद्वारा उहाँको विषयमा शोधपत्रसमेत तयार पार्नुभएको छ ।