हिरण्यकुमारीका पति प्रति श्रद्धाञ्जलि तथा समवेदना व्यक्त गर्न प्रज्ञा–प्रतिष्ठान पदािधकारी पाठक निवासमा

हिरण्यकुमारीका पति प्रति श्रद्धाञ्जलि तथा समवेदना व्यक्त गर्न प्रज्ञा–प्रतिष्ठान पदािधकारी पाठक निवासमा

लोकसंवाद संवाददाता  |  साहित्य  |  माघ २९, २०७८

काठमाडौँ  । नेपाल प्रज्ञा–प्रतिष्ठानले वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकका पति प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, राजनीतिक विश्लेषक तथा राष्ट्रियता संरक्षणका अभियन्ता एवम् वरिष्ठ कानुन व्यवसायी प्रेमकृष्ण पाठक कीर्तिशेष हुनुभएकोमा कीर्तिशेष पाठकप्रति आत्मा चिरशान्तिको कामनासहित भावपूर्ण श्रद्धञ्जलि व्यक्त गर्नुका साथै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका तर्फबाट बुधबार कुलपति गङ्गाप्रसाद उप्रेती, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद् सदस्य प्रा.डा. हेमनाथ पौडेल तथा प्राज्ञ सभा सदस्य एवम् सञ्चार संयोजक शशी लुमुम्बूले बत्तिसपुतलीस्थित पाठक निवासमा पुगेर श्रद्धाञ्जलि तथा समवेदना प्रकट गर्नुभएको हो ।  

कुलपति उप्रेतीले देशको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, राजनीतिक विश्लेषक तथा राष्ट्रियता संरक्षणका अभियन्ता पाठकको देहवसान भएकोमा भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । उहाँले सो अवसरमा पति वियोगको असह्य पीडामा रहनुभएकी साहित्यकार पाठक, छोरा–छोरी नम्रता शर्मा र कल्याण पाठकका साथै समस्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्तिको कामनासहित गहिरो समवेदना व्यक्त गर्नुभयो । पुराना गणतन्त्रवादी नेता  तथा वरिष्ठ कानुन व्यवसायीसमेत रहनुभएका पाठक माघ २३ गतेका दिन ८२ वर्षको उमेरमा कीर्तिशेष हुनुभएको थियो ।