'अन्तर्य एक संघर्षशील जीवनको कथा' माथि एक नजर

'अन्तर्य एक संघर्षशील जीवनको कथा' माथि एक नजर

अर्जुन सुवेदी  |  साहित्य  |  फाल्गुन १, २०७८

अन्तर्य हरिप्रसाद उप्रेतीद्वारा लेखिएको आत्म संस्मरणात्मक कृति हो । कृतिको शीर्षक अन्तर्यबाट नै स्पष्ट हुन्छ यसमा लेखकका आन्तरिक, भित्री मनोभावना व्यक्त भएका छन् ।

जीवन जीउने र आजको स्थितिमा आइपुग्दा एक जना सफल कानुन व्यवसायीका दृष्टिबाट नियालेको अनुभव, अध्ययनबाट खारिएको मस्तिष्क र सुन्दर भावावेशहरू यहाँ पोखिएका छन् ।

आरोह अवरोह पार गर्दै ताप्लेजुङको फट्याङ्ग्रे गाउँदेखि झापाको बसाई सराईका क्रममा सुरूङ्गा आसपासको परिवेश अनि काठमाडौँसम्मका संघर्ष र उपलब्धिका कथाहरू, यथार्थ र भावनाहरू एकैसाथ प्रस्तुत कृतिमा अटाएको पाइन्छ । 

 जागिरे जीवनका अतिरिक्त सामाजिक सेवामूलक कार्यमा समेत समर्पित भएर लेखक तथा उहाँको परिवारले थुप्रै अक्षयकोष तथा दान दातव्यका माध्यमबाट समाजको विविध पक्षको विकास गर्ने पवित्र ध्येय राखेको पाइन्छ । शब्दहरूको खेल नहोस् भनेर सचेत रहँदै कृतिकारले यहाँ जीवन भोगाइलाई अत्यन्त सटीक रूपमा प्रस्तुत गर्दा कतै कतै भावुक बन्न पुगेका छन् ।

पेसागत रूपमा कानुनका ठेली पल्टाएर वादी,प्रतिवादी, फैसला पेशी, नजिर, तारेख इजलास आदिमा जीवनका धेरै वसन्त पार गरे पनि कृतिमा उनी सरल सरस तथा हृदय ग्राही भएर देखा परेको प्रतीत हुन्छ । 

प्रस्तुत कृतिलाई लेखकले खण्ड १ मा जीवन र जरा मूल शीर्षक दिएर पञ्चामृत खाएपछि जन्मेको म लगायतका १८ वटा शीर्षकहरूमा ताप्लेजुङदेखि सुरूङ्गा, आफ्नो अध्ययन, काठमाडौँको डेरा तथा बुवा आमाका नाममा अक्षयकोषसम्मका वृत्तान्त पोखेका छन् ।

खण्ड २ राजनीतिक परिवेशको चर्चा मूल शीर्षक अन्तर्गत कर्मचारी आन्दोलन, आफ्नो राजनीतिक क्षमता विस्तार जिम्मेवारी आदि ११ शीर्षकमा कृति अगाडि बढेको छ । त्यस्तै खण्ड ३ वकालत र न्यायपालिका मूल शीर्षक र त्यस अन्तर्गत ३२ वटा शीर्षकहरू सहित अन्य खण्डभन्दा वृहत् हुन पुगेको छ भने खण्ड ४ नित्य अनित्य मूल शीर्षकमा २९ वटा शीर्षकहरू क्रमबद्ध रहेको देखिन्छ । 

यसरी जीवनका ६ दशक पार गरेका एक जना वरिष्ठ अधिवक्ता, थुप्रै कानुनी लेखहरू, शोककाव्य समेतका सर्जकका खारिएका शब्द शैली र सिद्धहस्त लेखनको जीवन्त लेखाइले  प्रस्तुत कृति जीवन्त र प्रेरणादायी बन्न पुगेको देखिन्छ । 

घोष्ट राइटिङ नेपाल प्रकाशक रहेको प्रस्तुत कृति २०७८ सालमा प्रथम पटक प्रकाशित भएको पाइन्छ । यसको पृष्ठ संख्या ४५६ र मूल्य रू ७७५ रहेको छ । 

 

 १८ माघ २०७८ 
सूर्योदय न. पा,  १० फिक्कल, इलाम