जगमगाउँदा–मगमगाउँदा सांस्कृतिक निधिः गन्धर्व र सारंगी

जगमगाउँदा–मगमगाउँदा सांस्कृतिक निधिः गन्धर्व र सारंगी

यमबहादुर दुरा  |  लोकरञ्जन  |  जेठ ३, २०७६

‘सारंगीको तारले मेरो मनको गीत गाउँछ, लेकदेखि बेसीसम्म गाइने गीत गाउँछ’ साहित्यकार मनबहादुर मुखियाले रचेको यो गीतको हरफले नेपालका गन्धर्व समुदायको सांगीतिक कर्म र गरिमा उजिल्याएको छ । गीतको यो हरफले गाउँघर डुल्दै युद्ध–विभीषिकादेखि मायामोहसम्मका लयदार गीत गाउँदै हिँड्ने गन्धर्व समुदायबारे थोरै शब्दमा धेरै तथ्य बोलेको छ ।

राष्ट्रिय जनगणना, २०६८ का अनुसार नेपालमा गन्धर्व समुदायको जनसंख्या ६ हजार ७ सय ९१ छ । जनसंख्याको दृष्टिले सानो भए पनि गन्धर्व समुदायको सांगीतिक प्रभाव गहिरो छ । 
नेपाल एकीकरणको समयमा गन्धर्वहरूले खेलेको सूचना संवाहकको भूमिकालाई इतिहासको पानामा मुक्तकण्ठले प्रशंसा गरिएको पाइन्छ । 

कास्की हेम्जाकी हीरादेवी गाइनेनी, मणिराज गाइने घटनाप्रधान गीत कर्खा गाउनमा चर्चित ठहरिन्छन् । नेपालको सांगीतिक परिदृश्यमा बखतवीर बूढापिर्थीको नाम सम्मानपूर्वक लिइन्छ । उनले चक्रपाणि चालिसेले लेखेको राष्ट्रिय गीतमा संगीत भरेको इतिहास छ ।

उनीपछि नेपालको सांगीतिक परिवेशमा उदाएका झलकमान गन्धर्व (वि.सं. १९९२–२०६०), तीर्थबहादुर गन्धर्व (वि.सं. २०१०–२०७०), जंगबहादुर गन्धर्व (वि.सं. २००७–२०७०) जस्ता सांगीतिक शिल्पीहरूले सांगीतिक क्षेत्रमा योगदान प्रशंसनीय छ । 

उनीहरूले मूलतः नेपाली लोकगीतको ‘पपुलर’ धारमा दिएका योगदान अहिले अध्ययनको विषय बनेको छ ।  मिडियामा छाउने शौभाग्य नपाएका तर गाउँबस्तीलाई आफ्ना कला र गलाले अतिशय प्रभावित तुल्याएका अन्य गन्धर्व प्रतिभाहरूको खोजी झन् ठूलो विषय हो । 

एक समयमा गन्धर्व समुदाय नवीनतम् सूचनाको स्रोत मानिन्थे । उनीहरूले एउटै व्यक्तिले बाघ मारेको बहादुरीपूर्ण घटनादेखि तथा जुवाडे बाउले आफ्नै छोरी मारेको नृशंस हत्याकाण्डहरूलाई घटनाप्रधान गीत बनाउँथे । त्यस्ता गीतलाई गाउँ–गाउँ डुलेर गाउँथे । यातायातको नेटवर्क विस्तार नभएको र आमसञ्चार माध्यमको विष्फोटक उपस्थिति नभएको त्यस समयमा उनीहरू समाचारको स्रोत मानिन्थे । 

उनीहरूको यस्ता सूचनाप्रधान गतिविधिलाई अवलोकन गरेर कतिपय विदेशी अनुसन्धाताले गन्धर्व समुदायलाई ‘जिउँदो समाचारपत्र’ भनेर नामकरण गरेको पाइन्छ । व्यक्तिको हात हातमा मोबाइल फोन पुगेको वर्तमान घडीमा मानिसलाई सूचनाको कमी छैन । हिजोका दिनामा नयाँ सूचनका लागि धेरैले गन्धर्वहरूको मुख ताक्थे । 

पुरानो समयमा गाउँबस्तीमा सुनिने जंगबहादुरको कर्खा, चन्द्रशमसेरको कर्खा, सिंहदरबारमा आगलागीसम्बन्धी कर्खा यिनै घटनाप्रधान गीतहरूको शृंखला हुन् । 

एक समयमा गण्डकी भेगका लाहुरे समुदायबीच गन्धर्वहरू लोकप्रिय थिए । ठूला ठूला आकारका टेप रेकर्डर लिएर गन्धर्वका कर्खा र त्यस समयका पपुलर शैलीका गीत रेकर्ड गर्न गन्धर्वहरूको बाक्लो वासस्थान पोखरा पुुग्थे । रेकर्ड गरिएका चक्का लाहुरेसँगै विदेश पुग्थे । ती गीत छाउनीमा घन्कन्थे । त्यसबाट लाहुरेहरूले भरपूर मनोरञ्जन लिन्थे ।

नेपालका लोकभाकाहरू विविधतापूर्ण छन् । यहाँ, हरेक खोल्छा र डाँडामा भाका फेरिन्छ भन्ने भनाइ छ । यी लोकलयहरूलाई एउटा गाउँबाट अर्को गाउँसम्म विस्तार गर्ने र त्यसलाई युगानुकूल परिमार्जित संस्करणमा ढाल्ने कार्यमा पनि गन्धर्व समुदायको उल्लेखनीय भूमिका रह्यो । विगतमा गीत नयाँ थेगो र रहनी थपेर त्यसलाई रसिलो र श्रुतिमधुर बनाउने दिशामा उनीहरूसँग कमैको प्रतिस्पर्धा हुन्थ्यो । मांगलिक कार्यमा श्लोक हाल्ने र मालाश्री गाउने कार्यमा गन्धर्वहरूले दिएका योगदान स्मरणीय छ ।

वीर रसदेखि शृंगार रससम्मका गीत गाउन जान्ने यो समुदायको सांगीतिक विरासत यतिबेला संकटमा छ । अहिले ‘बूढा मरे भाका सरे’ भन्ने उखान अहिले असत्यजस्तो देखिएको छ । स्याटलाइट संस्कृति र ‘साइबर फेस्टिबल’को आगमनले उनीहरू छायाँमा पर्न थालेका छन् ।

देशले सधैँभरि अभिनन्दन गरे पनि कम हुने यो समुदायको सामाजिक हैसियतचाहिँ कमजोर नै छ । सहरबजारका कुनाकाप्चा र राजमार्गका गाडीमा भेटिने यो समुदायलाई वर्तमान नेपाली लोकगीतको अनौपचारिक राजदूत भन्न सकिन्छ । तर, तहगत सामाजिक संरचनामा आधारित नेपाली समाजले उनीहरूलाई डुल्दै हिँड्ने र मागेर खाने जाति भनेर हेप्दै आएको छ । अहिले पनि मागेर नल्याए चुल्हो नबल्ने अवस्थामा कतिपय गन्धर्व परिवार छन् ।

गीत गाउने भएकाले हुनसक्छ, उनीहरू परम्परागत रूपमा ‘गाइने’ नामले चिनिन्छन् । ‘गाइने’ भन्दा उनीहरूले अपमानित अनुभूत गरेकाले पछि गन्धर्व भन्न थालियो । तर पनि, समाजले देखाउने हेयकारी व्यवहारबाट उनीहरूले सम्मानित अनुभूत गर्न पाएका छैनन् । लोकगीतको माध्यमबाट देशको सांस्कृतिक धरोहर धान्ने शिल्पीहरूप्रति हुने यस्ता व्यवहार ग्राह्रय छैन । 

देशको विविधतापूर्ण सांस्कृतिक कोलाजमा सुन्दर रङ थप्ने र लोकगीतलाई समृद्ध बनाउने दिशामा उनीहरूको योगदान वन्दनीय छ । उनीहरू देशकै सम्पत्ति हुन् । उनीहरू जगमगाउँदा–मगमगाउँदा सांस्कृतिक निधि हुन् । 

राज्यले उनीहरूलाई सांगीतिक अवसरहरू मार्फत् रोजगारी दिनुपर्छ । यसबाट देश र गन्धर्व समुदायलाई हित हुन्छ । यसका अतिरिक्त, उनीहरूको सांगीतिक विरासत र सांगीतिक प्रवृत्तिहरूबारे संस्थागत रूपमै खोज/अनुसन्धान अघि बढाउनुपर्छ । यसो गरेमा देशका सांगीतिक शिल्पीहरूप्रति सही सम्मान गरेको ठहरिन्छ ।