प्रज्ञा–प्रतिष्ठानमा पुस्तक  प्रदर्शनी सुरुः  वर्षभरि नै पुस्तक प्रदर्शनी आयोजना गर्ने तयारी

प्रज्ञा–प्रतिष्ठानमा पुस्तक  प्रदर्शनी सुरुः  वर्षभरि नै पुस्तक प्रदर्शनी आयोजना गर्ने तयारी

लोकसंवाद संवाददाता  |  साहित्य  |  फाल्गुन २, २०७८

काठमाडौँ । प्रज्ञा भवन, कमलादीमा पुस्तक प्रदर्शनी सुरु भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रजातन्त्र दिवस–२०७८ का अवसरमा प्रज्ञा पुस्तक प्रदर्शनी सुरु गरिएको हो । माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले आइतबार पुस्तक प्रदर्शनीको उद्घाटन गर्नुभएकाे हो ।

उद्घाटनपछि बोल्दै कुलपति उप्रेतीले राष्ट्रिय एकता दिवसका अवसर पारेर आयोजना गरिएको पुस्तक प्रदर्शनी कोभिड महामारीका कारण स्थगित गरिएको भए पनि प्रजातन्त्र दिवसका अवसर पारेर पुनः पुस्तक प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो- 'नेपाल प्रज्ञा–प्रतिष्ठानले अबदेखि वर्षभरि नै  पुस्तक प्रदर्शनी गर्ने योजना बनाइरहेको छ । उपयुक्त स्थानको व्यवस्था गरेर हामी उक्त योजनालाई चाँडै मूर्त रूप दिने तयारी गरिरहेका छौँ ।'उहाँले  पाठकहरूको मागलाई आत्मसात गरेर पुस्तक प्रदर्शनीको आयोजना गरिएको र यसबाट आमपाठकले पर्याप्त लाभ लिन सक्ने बताउनुभयो ।

पुस्तक प्रदर्शनी उद्घाटन कार्यक्रममा माननीय उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद् सदस्य प्रा. दिनेशराज पन्त, प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. हेमनाथ पौडेल, माया ठकुरी, प्रा.डा. गोपीन्द्र पौडेल, लक्ष्मी माली र डा. देवी नेपालको उपस्थिति रहेको थियो । 

प्रज्ञा भवनको भानुभक्त कक्षमा आयोजित पुस्तक प्रदर्शनीमा नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित विभिन्न विधाका महत्त्वपूर्ण पुस्तकहरू उपलब्ध छन् । प्रदर्शनीमा पुस्तक खरिदमा १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । पुस्तक प्रदर्शनी १५ दिनसम्म चल्नेछ ।