'हामी आवेश र उत्तेजनामा निर्णय गर्दैनौँ'

'हामी आवेश र उत्तेजनामा निर्णय गर्दैनौँ'
फाइल फोटो

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २, २०७८

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले ४ जना न्यायाधीशका बारेमा आवेश र उत्तेजनामा निर्णय नगर्ने बताएका छन् ।

सोमबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले दोस्रो पटक विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिने ४ जना न्यायाधीशका बारेमा आवेग र उत्तेजनामा निर्णय नलिने बताएका हुन् ।

कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि काउन्टरमा एमालेले पनि ४ न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने भनिएका बेला ओलीले सो बताएका हुन् । 

बैठकमा विभिन्न सांसदले जबरा र एमसीसीका बारेमा धारणा राखेका थिए । सोही क्रममा सांसद घनश्याम भुसालले एमालेले जबरालाई बोकेर हिँड्न नहुने सुझाव दिएका छन् । सांसद भीम रावलले एमसीसीको विरोध गर्न माग गरेका छन् । 

एमाले संसदीय दलको बैठक सकिएको छ ।