सिंहदरबारमा सर्वदलीय बैठक सुरु, एमाले भने अनुपस्थित

सिंहदरबारमा सर्वदलीय बैठक सुरु, एमाले भने अनुपस्थित

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २, २०७८

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा आह्वानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग समसामयिक विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठक सुरु भएको छ । संघीय संसद सचिवालय, सिंहदरबारमा बसेको बैठकमा एमाले भने सहभागी छैन ।

एमालेले यसअघि पनि सभामुखले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्दै आएको थियो । आजको बैठकमा पनि सहभागी नहुने एमालेले जनाएको छ । आफूले कारबाही गरेका १४ सांसदको सूची सूचना पाटीमा टाँस नगरेको भन्दै एमालेले सभामुख सापकोटाको विरोध गर्दै आएको छ ।

जारी सर्वदलीय बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राजमोलगायतका दलका प्रतिनिधि सहभागी रहेको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि आज सभामुखको पहलमा सर्वदलीय बैठक बसेकाे हाे ।