अब्बल बन्दै सामुदायिक विद्यालय

अब्बल बन्दै सामुदायिक विद्यालय

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ४, २०७६

धनगढी । केही वर्षअघिसम्म आर्थिक अवस्था कमजोर भएका अभिभावकले पनि ऋण काढेर छोराछोरीलाई निजी विद्यालयमा पढाउँथे। कमजोर व्यवस्थापन, गुणस्तरीय शिक्षाको अभाव र परीक्षामा खराब नतिजाका कारण अभिभावक र विद्यार्थीको सामुदायिक विद्यालयप्रति आकर्षण कम थियो।

आफैंले पढाउने सामुदायिक विद्यालयले दिने शिक्षाप्रति विश्वास नभएर शिक्षकले पनि निजी विद्यालयमा छोराछोरी पढाउँथे। तर केही वर्षयता सुदूरपश्चिम प्रदेशका केही सामुदायिक विद्यालयले गरेको गुणात्मक सुधारले पुरानो परिदृष्य बदलिएको छ। सामुदायिक विद्यालयले शिक्षामा गरेको सुधारका कारण विद्यार्थी र अभिभावक दुवैको आकर्षण बढेको छ।

अस्थायी राजधानी धनगढीमा रहेको पन्चोदय उच्च माविले चालु शैक्षिक सत्रका लागि निजी विद्यालय छाडेर भर्ना हुन आएका सबै विद्यार्थीलाई भर्ना गर्न सकेन। ‘चालु शैक्षिक वर्षमा कक्षा १ देखि कक्षा ९ सम्म भर्ना हुन यति धेरै विद्यार्थी आए कि हामीले सबलाई स्थान दिन सकेनौं। प्रवेश परीक्षा लिएरमात्र भर्ना गर्नुप¥यो,’ पन्चोदय उच्च माविका प्राचार्य हरिश ओझाले भने। आजको नागरिक दैनिकमा यो समाचार छ ।