सगरमाथा विमानस्थलका लागि रुख छपान सुरु: ५ हजार ६ सय ७ वटा रुख कटिने

सगरमाथा विमानस्थलका लागि रुख छपान सुरु:  ५ हजार ६ सय ७ वटा रुख कटिने

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ५, २०७८

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– १ र २ जोगिदहस्थित प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल निर्माणको काम अघि बढेको छ । बहुप्रतिक्षारत उदयपुरको त्रियुगा नगरपालिका– १ र २ जोगिदहस्थित प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल निर्माणका लागि रुख छपानको काम सुरु गरिएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थलको भौतिक पूर्वाधार निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने वन तथा भू संरक्षण विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच गत २४ माघमा सम्झौता भएपछि विमानस्थल निर्माण हुने प्रक्रिया अघि बढेको हो । 

 राष्ट्रिय योजना आयोगले सगरमाथा आन्तरिक विमानस्थललाई राष्ट्रिय प्राथमिकता प्राप्त योजनामा समावेश गरी काम बढाएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्यायन मन्त्रालयले सगरमाथा विमानस्थल राष्ट्रिय प्राथमिकता प्राप्तमा राखेर काम अघि बढाएको थियो । 

निर्माण स्थलमा रहेका रुख कटान गर्न वन तथा भू संरक्षण विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरण बीच ०७८ माघ २४ गते भएको सम्झौतापछि रुख कटानको काम अघि बढेको हो । सम्झौतामा विमानस्थल निर्माणका लागि १ सय ५६ दशमलव ११ हेक्टर क्षेत्रफलमध्ये १ सय ५ दशमलव १० हेक्टरमा रहेको रुख मात्र कटान गरी हटाउने उल्लेख गरिएको छ । बाँकी रहेको ५० दशमलव ४१ हेक्टरको कटान गर्न नपाउने उल्लेख गरिएको छ । 

विमानस्थल निर्माण गर्ने शिवालय धार्मिक वन उपभोक्ता समूहको ०.५२ हेक्टर क्षेत्रमा १७८ वटा रुख कटान गर्नु पर्ने कंग सामुदायिक वन उपभोक्ता समूहका ७२.३५ हेक्टर क्षेत्रमा १२ हजार ६ सय ३८ वटा रुख कटान गर्नु पर्ने र मोतियाहीन सामुदायिक वन उपभोक्ता समूह ८३.२४ हेक्टर क्षेत्रमा ५ हजार ६ सय ७ वटा रुख कटान गर्नु पर्ने रहेको छ । 

सम्झौता अनुसार १ सय ५ दशमलव १० हेक्टरको मात्र रुख कटान गरी बाँकी रहेको ५० दशमलव ४१ हेक्टरमा हरियाली कायम गर्ने उल्लेख गरिएको छ । सगरमाथा आन्तरिक विमानस्थल आयोजना प्रमुख  हिम ज्योति थापा सहितको टोली अहिले निर्माण स्थलमा रुख छपान तथा कटानको काम थाल्न आएको  छ । ३ फागुनदेखि विमानस्थलको सिमाङ्गकन तथा रुख छपानको काम अघि बढाएको परराष्ट्र मन्त्री डा. नारायण खड्काको सचिवालयका लीला भट्टराईले जानकारी दिए । 

ईश्वर तामाङ/न्युज कारखाना