‘सुनौला हजार दिन’ : नवमीडाँडाका आमाहरूलाई पोषणसम्बन्धी खाद्य सामग्री वितरण

‘सुनौला हजार दिन’ : नवमीडाँडाका आमाहरूलाई पोषणसम्बन्धी खाद्य सामग्री वितरण

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  फाल्गुन ५, २०७८

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका १ नवमी डाँडामा सुनौलो हजार दिने आमाहरूलाई पोषण सम्बन्धी सामाग्री वितरण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

फाल्गुनन्द १, नवमीडाँडामा रहेका सुनौलो हजार दिने आमाहरूलाई पोषणयुक्त खानाहरू चना, हरियो सागसब्जी,आयोडिन नुन, तेल तथा सरसफाइको लागि साबुन वितरण गरिनुको साथै पोषण सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो ।

३ दिनसम्म नवमीडाँडाका बेग्लाबेग्लै स्थानमा केन्द्र बनाएर सञ्चालन गरिएको उक्त कार्यक्रममा साविकका ९ वटै वडाका १ सय ४७ जना सुनौलो हजार दिने आमाहरूको सहभागिता रहेको स्वास्थ्य चौकी नवमीडाँडाका इन्चार्ज कुवेर आङ्देम्बेले जानकारी दिए । कार्यक्रममा फाल्गुनन्द १ का प्रतिनिधिहरू,स्वास्थ्य संस्था व्यवस्थापन समितिका पदाधिकारीहरू,शिक्षक प्रतिनिधिहरू,स्वास्थ्य स्वयम सेविकाहरू लगायतको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रम फाल्गुनन्द गाउँपालिका वडा नं.१ को आर्थिक सहयोगमा स्वास्थ्य चौकी नवमीडाँडाले आयोजना गरेको थियो । 

मातृ शिशु पोषण स्थितिमा सुधार ल्याउन बहु क्षेत्रीय पोषण योजना अन्तर्गत सरकारले ‘सुनौला हजार दिन’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । 

 शिशु गर्भमा रहेदेखि जन्मेको दुई वर्ष सम्मको अवधिलाई सुनौलो १००० दिन भनिएको हो ।

अझै पनि आमा तथा बालबालिकाको मृत्युको मुख्य कारण कुपोषण भएकाले उक्त योजनाले आमा र बच्चाको पोषण स्थितिमा सुधार ल्याउने लक्ष्य राखेको छ ।