मनाङको लक्ष्य शीर्ष २, आज एकै समयमा २ खेल हुँदै

मनाङको लक्ष्य शीर्ष २, आज एकै समयमा २ खेल हुँदै

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन ५, २०७८

शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलअन्तर्गत एघारौँ चरणको अन्तिम दिन आज (बिहीबार) २ खेलहरू हुँदै छन् । दुवै खेल दिउँसाे १  बजे दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछन् ।

त्रिपुरेश्वरस्थित रंगशालामा हुने खेलमा एपीएफ क्लबले मनाङ-मर्स्याङ्दी क्लबको सामना गर्नेछ । मनाङ एपीएफलाई हराउँदै दोस्रो स्थानमा रहन चाहन्छ भने एपीएफ मनाङलाई स्तब्ध पार्दै रेलिगेसनबाट ढुक्क हुन चाहन्छ । 

मनाङ १० खेल २० अंक जोडेर दोस्रो स्थानमा  छ । एपीएफ १० खेलमा ११ अंक जोडेर नवौँ स्थानमा रहेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी १० खेलमा १४ अंक जोडेर सातौँ स्थानमा रहेको छ । संकटा १० खेलमा १५ अंक जोडेर पाँचौँ स्थानमा रहेको छ ।

जारी लिगमा २ खेल बाँकी रहँदै मछिन्द्र फुटबल क्लब च्याम्पियन भएको छ ।