प्रधानमन्त्री देउवाको स्पष्ट सन्देश: एमसीसी शुक्रबार संसद्‌मा टेबल हुन्छ

प्रधानमन्त्री देउवाको स्पष्ट सन्देश: एमसीसी शुक्रबार संसद्‌मा टेबल हुन्छ

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ५, २०७८

अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संसद्बाट अनुमोदन गर्ने सम्बन्धमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति बन्ने अवस्था न्यून बन्दै गएको छ । 

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको देउवा र प्रचण्डबीचको बैठकमा दुवै नेता आफ्नो पुरानै अडानमा टसका मस नभएपछि सहमति टाढिएको हो । 

‘आजको बैठकमा पनि प्रचण्डले एमसीसी अनुमोदन संघको निर्वाचनपछि सारौँ भन्नुभयो । उहाँले कुनै पनि अवस्थामा अहिलेको संसद्बाट अनुमोदन गर्नु नहुने धारणा राख्नुभयो’, बालुवाटार स्रोतले भन्यो । 

जबाफमा देउवाले आफ्नो पार्टीले अनुमोदन गर्ने निर्णय गरिसकेका कारण अब पछि धकेल्न नमिल्ने पुरानै अडान दोहोर्‍याएका थिए । 

‘हाम्रो पार्टीले निर्णय गरीसकेको छ, अब पछि हट्न सकिँदैन । भोलिको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुन्छ’, प्रधानमन्त्री देउवाको भनाइ उद्वृत गर्दै स्रोतले भन्यो । 

सरकारले बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेको थियो । प्रतिनिधिसभा बैठकअघि देउवा, प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा प्रचण्ड र नेपालले अहिलेकै अवस्थामा एमसीसी अनुमोदन गर्न नसकिने बताएपछि देउवा पछि हटेका थिए । 

त्यसपछि बिहीबार बिहान बसेको बैठकमा पनि देउवा र प्रचण्डबीच सहमति जुट्न सकेन । 

एमसीसीका विषयमा बिहीबार बेलुकी ५ बजे सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूबीच बैठक बस्दै छ । 

एमसीसीलाई संसद्‌बाट अनुमोदन गराउने विषयमा सत्तारुढ गठबन्धनबीच मतभिन्नता बढेको छ ।   

एमसीसीका विषयमा सत्तारुढ ५ दलमा कांग्रेस एक्लिएको छ । कांग्रेस एमसीसीलाई अहिलेकै अवस्थामा अनुमोदन गर्ने पक्षमा छ भने अन्य ४ दल संशोधनसहित अनुमोदन गर्ने अडानमा छन् ।