अनुसन्धान केन्द्रको जग्गा अपचलन : जग्गा दर्ता खारेज गर्न माग

अनुसन्धान केन्द्रको जग्गा अपचलन : जग्गा दर्ता खारेज गर्न माग

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ४, २०७६

जुम्ला । व्यक्तिको नाममा दर्ता गरिएको जुम्ला गुठीचौर गाउँपालिका–४ स्थित राष्ट्रिय भेडाबाख्रा अनुसन्धान कार्यक्रमको जग्गा व्यक्तिको नामबाट तत्काल खारेज गर्न जुम्लावासीले माग गरेका छन्। संरक्षण गर्ने दायित्व बोकेका सरकारी अधिकारीबाटै सरकारी जग्गा अतिक्रमित हुनु दुखद र निन्दनीय भएको उनीहरूले बताएका छन्।

जिल्ला प्रशासन कार्यालय जुम्लाले तयार पारेको प्रतिवेदनमा तीन लाख वर्गमिटर जग्गा मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेले आफ्नो परिवारको नाममा दर्ता गरेको पाइएको छ। ‘पहुँचका आधारमा अख्तियार दुरूपयोग गरी निजी बनाइएको सरकारी जग्गा तत्काल खारेज गर्न पहल गर्नुपर्ने नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत बताउँछन्। ‘निजी बनाइएको जग्गा तत्काल भेडाबाख्रा अनुसन्धान कार्यक्रमको नाममा ल्याइयोस्।’

‘तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सो जग्गाका बारेमा पत्ता लगाएर अतिक्रमण भएको प्रतिवेदनसमेत तयार गरेका थिए। तर उनको सरुवा भएका कारण यो विषय ओझेलमा परेको थियो,’ अध्यक्ष महतले भने, ‘उनले साविकको तीनवटै गाविसमा राय सुझाव मागिसकेको र एउटै परिवारले नापी–नक्सा गरिसकेको प्रमाणित भइसकेकोले सरकारी जग्गा दुरुपयोग हुन दिनुहुँदैन्।’ यो जग्गा दर्तामा नापी कार्यालयको पनि मिलोमतो हुन सक्ने आंशका गर्दै सबैलाई छानविनको दायरामा ल्याउनुपर्ने महतको भनाइ छ। आजको नागरिक दैनिकमा खबर छ ।