'जुन काम ठप्प छन् । तिनलाई अगाडि बढाउँछु ।’

'जुन काम ठप्प छन् । तिनलाई अगाडि बढाउँछु ।’

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन ५, २०७८

काठमाडौँ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यकारी अधिकारको जिम्मेवारी पाएका कुलबहादुर थापाले राखेप सदस्यसचिवको अनुपस्थितिमा रोकिएका सबै कामलाई तीव्र गतिमा अगाडि बढाउने बताएका छन् । बिहीबार पदवहाली गर्ने क्रममा थापाले सो कुरा बताएका हुन् । 

‘अहिलेको टड्कारो आवश्यकता भौतिक पूर्वाधार हो । जुन ठप्प छन् । तिनलाई अगाडि बढाउँछु ।’ बिहीबार पदवहाली गर्ने क्रममा थापाले भने, ‘एसियाली खेलकुद र नवौँ राष्ट्रिय खेलकुदका लागि सुरु हुनुपर्ने खेलाडीको प्रशिक्षण र पूर्वाधारका काम पनिसँगै अघि बढाउँछु । सदस्यसचिवको अनुपस्थितिमा थाती रहेका सबै काम अगाडि बढाउँछु ।’

थापाले करिब २८ वर्ष आफूले राखेमै बिताएको अनुभव सुनाउँदै भने, ‘यहाँका सबै समस्याका बारेमा जानकार छु । मैलै बुझ्दै छु भन्न पाउँदिन । जुन ग्यापले हाम्रो समस्याहरू अड्केर बसेका छन् । ऐन, कानुन, नियम, विधि, विधानलाई हेरेर मन्त्रीज्यू, उपाध्यक्षज्यू, कार्यकारी समितिलगायत सरोकारवाला सबैसँग समन्वय गरी काम गर्ने छु ।’

थापाले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा नेपाल सरकार, खेलकुद मन्त्रालय र राखेपप्रति आभार प्रकट गर्दै मन खिन्न हुन कुनै पनि कार्य नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्रालयले बुधवार थापालाई राखेपका सदस्यसचिवको अनुपस्थितिमा सदस्यसचिवले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने अधिकार दिएको थियो ।