प्रधानमन्त्री र विपक्षी नेताको घरदैलोमा: एमसीसीकै कारण सत्ता गठबन्धन विभाजनको सन्निकटमा !

लोकसंवाद टिप्पणी

प्रधानमन्त्री र विपक्षी नेताको घरदैलोमा: एमसीसीकै कारण सत्ता गठबन्धन विभाजनको सन्निकटमा !

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ६, २०७८

केपी ओली सर्वसत्तावादी भएको भन्दै संविधानको रक्षा गर्न भन्दै बनेको ५ दलको गठबन्धन अन्ततः एमसीसीको विवादबीच तोडिने अवस्थामा पुगेको छ । सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस एमसीसी जसरी पनि पास गर्ने निर्णयसहित अघि बढेको छ भने माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चा एमसीसीको विरोधमा छन् ।

बिहीबारको सत्ता गठबन्धनको बैठकमा पनि माओवादी केन्द्र र  एकीकृत समाजवादी एमसीसीको विपक्षमा उभिएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बैठकमा निकै कडा रुपमा प्रस्तुत भएका थिए भने बैठकमा नरम देखिएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि जबरजस्ती एमसीसी पारित गर्न खोजे विपक्षमा मतदान गर्ने बताएका छन् ।

सत्ता गठबन्धनका दुई प्रमुख पार्टीको असहमति पछि एमसीसी पास गर्न अब प्रधानमन्त्री देउवालाई एमालेको साथको खोजीमा छन् । एमालेको साथ खोज्दै देउवाले बिहीबार साँझ नै एमाले अध्यक्ष केपी ओलीलाई उनकै निवास बालकोटमा पत्नीसहित गएर भेटेका छन् । देउवा र ओलीबीच राति करिब सवा १० बजेसम्म छलफल भएको थियो । छलफलमा उनीहरुबीच के–के विषयमा छलफल भयो भन्ने खुलेको छैन ।

बालकोटबाट बाहिरिने क्रममा देउवाले कुनै प्रतिक्रिया दिएनन् । गत असार २९ गते ५ दलको समर्थनमा प्रधानमन्त्री बनेका देउवा दोस्रो पटक बालकोट पुगेका हुन् । गठबन्धनको बैठकमा एमसीसी पास गर्ने विषयमा सहमति नभएपछि देउवा बालकोट दौडिएका थिए । 

प्रधानमन्त्री देउवा पत्नी आरजुलाई लिएर बालकोट पुगेपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । देउवा एमसीसी पास गर्न मात्रै नभएर सत्ता गठबन्धन र आगामी निर्वाचनमा सहकार्यसम्मका विषयमा सकारात्मक छन् । एमाले अध्यक्ष ओलीको मिसन कुनै पनि हालतमा अहिलेको सत्ता गठबन्धन भत्काउनु र आगामी निर्वाचन एमाले अनुकूल बनाउनु छ ।

त्यसैले गठबन्धन भत्काउने र सभामुख अग्नि सापकोटाविरुद्ध महाअभियोग ल्याउने शर्तमा एमसीसीको पक्षमा उभिने यसअघि नै बताइसकेका छन् । यद्यपि ओलीलाई एमालेभित्रैबाट एमसीसीको विपक्षमा उभिन दबाब छ । एमाले नेता भीम रावलसहितका नेताहरु एमसीसीको विरुद्धमा छन् । त्यस्तै हालै सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाविरुद्ध ल्याएको अविश्वासको प्रस्तावको एमालेले विरोध गरेको थियो ।

सत्तारुढ गठबन्धनमा एमसीसीको विषयले विवाद आइरहेका बेला प्रधानमन्त्री देउवाले भने एमसीसीको अनुमोदनका विषयमा विपक्षी एमालेसँग सहमति खोज्न सुरु गरेका छन् । एमाले र कांग्रेस मिलेमा एमसीसी पारित हुन्छ । सत्ता गठबन्धनमा सहमति नभएको अवस्थामा गठबन्धन तोडेर भएपनि एमसीसी पारित गर्ने पक्षमा देउवा अघि बढेका छन् ।

त्यसैले एमसीसी पारित गर्ने शर्तमा देउवा र ओलीबीच महाअभियोग र आगामी सत्ता समीकरणसम्म नयाँ सहमतिको सम्भावना पनि हुनसक्छ । ओलीसँग यसअघि काँग्रेसका नेताहरुले पटकपटक छलफल गरिसकेका छन् । देउवा आफैंले पनि विभिन्न चरणमा ओलीसँग छलफल गरेका छन् । 

प्रधानमन्त्री देउवा शुक्रबार सत्तारुढ दलको असहमतिका बाबजुद एमसीसी टेबल गर्ने पक्षमा छन् । यद्यपि शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकका लागि संघीय संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयले बिहीबार साँझ सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने एउटा मात्रै कार्यसूची छ ।

प्रधानमन्त्रीले शुक्रबार संसदमा एमसीसी टेबल गर्ने बताए पनि सम्भावित कार्यसूचीमा भने नपरेको हो । सभामुख सापकोटा माओवादी केन्द्रका नेता हुन् । त्यसैले उनले सबै दलको सहमति भएमात्रै एमसीसी टेबल गर्ने अडान राख्दै आएका छन् । 

गगनको प्रस्ताव प्रचण्डद्वारा अस्वीकार

बिहीबारको गठबन्धनको बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थालाले एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने सन्दर्भमा उठेका प्रश्नहरूको निवारणका लागि संसदबाटै साझा संकल्प पारित गरेर जान सकिने प्रस्ताव गरेका थिए । एमसीसीबाट नेपालको हितविपरीत कुनै काम हुन नदिने र त्यसो भएको खण्डमा सम्झौता खारेज गरिने’ आशयको संकल्प प्रस्ताव पारित गर्न सकिने बताएका थिए । यसो गर्दा सबैको सरोकारको सम्बोधन हुने उनको दाबी थिए ।

तर यसमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहमत भएनन् । उनले अब विषय धेरै अघि बढिसकेको भन्दै एमसीसीको पक्षमा उभिन नसक्ने बताएका थिए । गठबन्धन बैठकको सुरूमै प्रधानमन्त्री शेरबहादुर देउवाले कुनैपनि हालतमा शुक्रबारको संसद बैठकमा एमसीसी टेबल गर्ने प्रस्ताव राखेका थिए ।

त्यसलगत्तै प्रचण्डले एमसीसी टेबल भए माओवादीले विपक्षमा मतदान गर्ने जवाफ दिए । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने ७ गते बस्ने पार्टीको बैठकसम्म समय दिन माग गरेका थिए । देउवाले भने एमसीसीका विषयमा अब आफू पछि नहट्ने भन्दै तत्काल निर्णय दिन प्रचण्ड र नेपाललाई आग्रह गरेका छन् । बिहीबारको बैठकमा एमसीसीबारे सबै आफ्ना अडानमा कायमै रहे । त्यसलगत्तै देउवा बालकोट हान्निएका थिए । 

जनता समाजवादीका संघीय परिषद अध्यक्ष डा‍. बाबुराम भट्टराई भने एमसीसी पारित गर्नुपर्ने पक्षमा उभिएका थिए । उनी यसअघि देखि नै एमसीसीको पक्षमा जोड दिँदै आएका छन् । 

सत्तारुढ गठबन्धनमा एमसीसीको विषयले विवाद आइरहेका बेला प्रधानमन्त्री देउवाले भने एमसीसीको अनुमोदनका विषयमा विपक्षी एमालेसँग सहमति खोज्न सुरु गरेका छन् । एमाले र कांग्रेस मिलेमा एमसीसी पारित हुन्छ । सत्ता गठबन्धनमा सहमति नभएको अवस्थामा गठबन्धन तोडेर भएपनि एमसीसी पारित गर्ने पक्षमा देउवा अघि बढेका छन् ।

यसले गर्दा गठबन्धनमा फुट आउने सम्भावना देखिएको छ । यद्यपि यस्तो अवस्थामा गठबन्धनमा रहेका काँग्रेसबाहेकका शक्ति एक भएर आगामी निर्वाचनतिर होमिने विषयमा पनि छलफल सुरु भएको छ ।

एकातिर सत्ता गठबन्धनमा संकट उत्पन्न हुनु र अर्कोतिर प्रधानमन्त्री र विपक्षी नेताबीच भेटघाट बाक्लिनुले राजनीतिक क्षेत्र तरंगित भएको छ । एमसीसी पारित गर्ने शर्तमा एमाले र काँग्रेसको गठबन्धनको सम्भावना पनि उत्तिकै देखिएको छ । यस्तो भएमा गठबन्धन फुटाउने योजनामा केपी ओली सफल हुने देखिन्छ ।