उदयपुरको त्रियुगामा विद्युत सर्ट: आगो सल्किँदा युवराज पराजुलीको घर जलेर नष्ट

उदयपुरको त्रियुगामा विद्युत सर्ट: आगो सल्किँदा युवराज पराजुलीको घर जलेर नष्ट

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन ६, २०७८

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– १२ स्थित सिद्धार्थ टोलमा विद्युत सर्ट भई आगलागी हुँदा एक घर जलेर खरानी भएको छ । विद्युत सर्ट भई आगो सल्किँदा त्रियुगा नगरपालिका वडा नम्बर १२ स्थित सिद्धार्थ टोलका युवराज पराजुलीको घर जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घरमा कोही नभएको बेला आगो लागेको थियो । छिमेकीको घरमा विवाह भोजका लागि सपरिवार गएको बेला आगलागी भएकाले मानवीय क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमको भनाई छ ।

राती ९ः३० बजेदेखि आगलागी सुरु भएको छिमेकी अर्बीन चौधरीले जानकारी दिइन् । ‘सुरुमा धुवा जस्तो देखियो’ छिमेकी चौधरीले भने, ‘आगो लागेको थाहा पाएपछि हामी उद्धारका लागि जाँदा जाँदै घर सबै खरानी भयो । तीन कोठे काठको घरभित्र रहेको लत्ताकपडा, खाद्यान्न, नगद लगायतका कुनै पनि सामान सुरक्षित गर्न नसकिएको प्रहरीले जनाएको छ । आगो त्रियुगा नगरपालिकाको दमकलले झन्डै एक घण्टापछि नियन्त्रणमा लिएको थियो । क्षतिको विवरण आउन बाँकी रहेको छ ।