पाँचथर पुरानै लयमा

पाँचथर पुरानै लयमा

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन ६, २०७८

पाँचथर । पाँचथर जिल्लामा यस अघि कोभिड १९ का कारण स्थगित भएका गतिविधिहरू सुरु हुने भएका छन् ।

यसअघि स्थगित भएको फिदिम नगरपालिका–६, सिवामा हुने अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता यहीँ फागुन २२ गतेदेखि २८ गते सम्म हुने भएको खेल संयोजक कमल तुम्रोकले बताए । 

अर्थे युवा क्लब फिदिम–६, को आयोजनामा गएको माघ १७ देखि प्रतियोगिता सञ्चालन हुने तय भए पनि तेस्रो लहरको कोरोना–कहरका कारण अन्तिम समयमा मेला तथा प्रतियोगिता स्थगित भएको थियो ।

स्थानीय भगवती माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा पाँचथरका ८ पालिका र जिल्ला बाहिरका २ पालिकाको सहभागिता रहने खेल संयोजक तुम्रोकले जानकारी दिए ।

प्रतियोगिताका विजेताले नगद ६० हजार रुपैयाँ र उपविजेताले नगद ४० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै प्रत्येक खेलको म्यान अफ् दि म्याच र विधागत तर्फका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।

प्रतियोगिताको यो दोस्रो संस्करण हो । सो अवसरमा विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने आयोजक संस्थाका अध्यक्ष कान्छाराज तुम्रोकले बताए 

त्यस्तै फिदिम नगरपालिका १० मा स्थगित भएको तेस्रो संस्करणको मुक्कुसाम्बा गोल्ड कप फाल्गुन २४ देखि हुने भएको छ । यसअघि फाल्गुन २ देखि ७ गते सम्मको लागि तय भएको प्रतियोगिता कोभिड–१९ को महामारीका कारण स्थगित भएको थियो । 

अब उक्त प्रतियोगिता फाल्गुन २४ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने आयोजक संस्था थाम्सुहाङ सेवा समाज याङनाम गाउँ इकाई समितिका अध्यक्ष बुद्ध थाम्सुहाङले जानकारी दिए  । प्रतियोगिता फिदिम नगरपालिका–१०, स्थित ऐतिहासिक, रमणीय स्थल याङनामको खलङगाटारमा रहेको निर्माणाधीन इमानसिंह रङ्गशालामा सञ्चालन हुनेछ ।

५ दिनसम्म सञ्चालन हुने गोल्ड कपमा  पाँचथर जिल्ला स्थित ए डिभिजन क्लबहरू र आयोजकको २ टिमको सहभागी गराउने तयारी भइरहेको बताइएको छ । गोल्ड कपको विजेताले नगद १ लाख ५०  हजार रुपैयाँ र ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्दा उपविजेता हुने टिमले नगद ८० हजार रुपैयाँ र ट्रफि, मेडल, प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न अनुमानित लागत ८ लाख रुपैयाँ गरिएको छ । थाम्सुहाङ सेवा समाज पाँचथर जिल्ला सल्लाहकार होमराज थाम्सुहाङले बताए  ।