माइतीघरदेखि बानेश्वरसम्म ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथी

माइतीघरदेखि बानेश्वरसम्म ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथी

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ६, २०७८

काठमाडौँ। सरकारले काठमाडौँको माइतीघरदेखि बानेश्वर चोकसम्म ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ । 

विभिन्न पार्टीहरूले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध माइतीघरदेखि बानेश्वरसम्म विरोध कार्यक्रम राखेपछि सरकारले ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको हो । 

शुक्रवार बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी अनुमोदनको लागि टेबल गर्ने सम्भावना बढेकोले विरोधका कार्यक्रमहरू राखिएका हुन् । 

बुधवार पनि सो क्षेत्रमा एमसीसीको विरोध गर्ने विभिन्न पार्टीका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप भएको थियो । 

एमसीसी अनुमोदन गर्ने कुरामा सत्तारुढ दलबीच मतभेद रहेको छ । सत्तारुढ पाँच दलमध्ये नेपाली कांग्रेस अहिलेकै अवस्थामा अनुमोदन गर्ने पक्षमा छ भने नेकपा (माओवादी केन्द्र), नेकपा एस (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा संशोधन गरेर मात्र एमसीसी अनुमोदन गर्नुपर्ने अडानमा छन् ।