खोटाङमा थपिए २८ हजार ८३२ मतदाता: बसै रिजर्भ निर्वाचन कार्यालयमा नामावली दर्ता

खोटाङमा थपिए २८ हजार ८३२ मतदाता: बसै रिजर्भ  निर्वाचन कार्यालयमा नामावली दर्ता

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ६, २०७८

खोटाङ । खोटाङमा २८ हजार ८३२ नयाँ मतदाता थपिएका छन् ।

२०७४ सालको निर्वाचनमा एक लाख १५ हजार ६४२ मतदाता रहेको नयाँसहित कुल मतदाता संख्या एक लाख ४४ हजार ४७४ पुगेको जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ । कुल मतदाता संख्यामध्ये पुरुष ७५ हजार ४४८ र महिला ६९ हजार २६ जना छन् । 

२०७४ सालमा २६ हजार २८३ मतदाता रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आठ हजार ३१६ नयाँ मतदाता थपिँदा कुल मतदाता संख्या ३४ हजार ५९९ पुगेको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर सञ्जीव खड्काले बताए । यस्तै, यसअघि १६ हजार ४९० मतदाता रहेको हलेसी तुवाचुङ नगरपालिकामा चार हजार ३६० नयाँ मतदाता थप हुँदा कुल मतदाता संख्या २० हजार ८५० पुगेको छ । 

ऐसेलुखर्क गाउँपालिकामा दुई हजार ८९ नयाँ मतदाता थप हुँदा कुल मतदाता संख्या ११ हजार ४४१, केपिलासगढी गाउँपालिकामा दुई हजार १३३ मतदाता थप हुँदा कुल मतदाता संख्या १० हजार ८५५, रावाबेसी गाउँपालिकामा एक हजार ५८१ नयाँ मतदाता थपिँदा कुल मतदाता संख्या नाै हजार ५६३, साकेला गाउँपालिकामा एक हजार ९३९ मतदाता थप हुँदा कुल मतदाता संख्या ८ हजार ५९३, पुगेको छ ।

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा एक हजार ९९२ मतदाता थप हुँदा कुल मतदाता संख्या १३ हजार ६४७, खोटेहाङ गाउँपालिकामा दुई हजार ९३२ मतदाता थप हुँदा कुल मतदाता संख्या १५ हजार ३४३ मतदाता, बराहपोखरी गाउँपालिकामा एक हजार ६०८ मतदाता थप हुँदा कुल मतदाता संख्या नाै हजार ३४५ र जन्तेढुंगा गाउँपालिकामा एक हजार ८८२ मतदाता थप हुँदा कुल मतदाता संख्या १० हजार २३८ पुगेको निर्वाचन कार्यालयले जनाएको छ ।

फोटोसहितको मतदाता नामावली दर्ताका लागि जिल्ला निर्वाचन कार्यालयले घुम्ती शिविर सञ्चालन गरेको थियो । मतदाता नामावली दर्ताका लागि कतिपय पार्टीले बस रिजर्भ गरेरै स्थानीयलाई निर्वाचन कार्यालय पुर्‍याएको थियो । निर्वाचन कार्यालयले मतदाता परिचयपत्र हराएको, नष्ट भएको वा विभिन्न कारणले प्रयोग हुन नसक्ने अवस्था भएमा स्वयंले वडा कार्यालयको सिफारिससहित आगामी २० फागुनसम्म निवेदन दिन सक्ने जनाएको छ ।