दुई वर्षपछि नेपाल: प्रदूषित वातावरणकै कारण अक्सिजन घटी अस्पताल भर्ना हुनुपर्ने बाध्यता !

दुई वर्षपछि नेपाल: प्रदूषित वातावरणकै कारण अक्सिजन घटी अस्पताल भर्ना हुनुपर्ने बाध्यता !

पूर्ण ओली  |  दृष्टिकोण  |  फाल्गुन ६, २०७८

कोभिडको कारण विदेश गएका धेरै नेपाली समयमा स्वदेश फर्कन पाएनन् भने स्वदेशमा भएका धेरै नेपालीहरू विदेश जान सकेनन् । खासगरी छोराछोरी विदेश भएका आमाबुवाहरू दुबै तर्फ हवाई यातायात खुलाईको पर्खाइमा लामो समय बस्नु पर्‍यो ।

विदेश जान चाहने आमाबुवा तथा विद्यार्थी समेत भिसा नपाएर स्वदेशमै बस्नु पर्ने बाध्यता भयो । म पनि २ वर्ष अस्ट्रेलियामा बसेर केही दिन अघि मात्र नेपाल फर्के । अस्ट्रेलियामा गर्मीको मौसम यता नेपालमा चिसोको अन्तिम समय माघको अन्तिम हप्तामा त्रिभुवन विमानस्थलमा ओर्लिसकेपछि यतैका वातावरणमा मिल्न कोसिस गरियो ।

अर्कोतर्फ सफा र शुद्ध हावापानीमा मिलेको शरीर एकै पटक मापदण्ड भन्दा धेरै बढी प्रदूषित उपत्यकाको वातावरणले पनि अक्सिजनको मात्रा घट्न पुग्यो । तुरुन्त अस्पतालमा पुगेर आवश्यक उपचार गर्न बाध्य भइयो । लामो समय छोडेको घरको हालत पनि धुलोले त्यस्तै हुने नै भयो । त्यसैले धुलो र प्रदूषणबाट बच्ने उपाय केही थिएन । 

काठमाडौँको फोहोरको स्थायी व्यवस्थापन अहिलेसम्म पनि नभएकोमा काठमाडौँ महानगरपालिका प्रमुखको ढिलासुस्ती देखेर दिक्क लाग्यो । प्रत्येकचोटी टेलिफोन गर्दा आउने कोभिडको एकै खालको प्रचारले पनि हैरान पार्न थालेछ ।

दुई वर्ष अघि छोडेर गएको भन्दा केही सडकहरूमा थप पिच भएछ । खासगरि धोबी खोला कोरिडोर पिच पुरा गरिएछ । चक्रपथको स्तरोन्नति हुँदै गरेको देखियो ।  तर खानेपानीको हालत झन् खराब देखियो । महाकालको फाँटमा समेत धेरै ठाउँमा पानीको अभाव बनाइएछ ।

मेलम्चीको आसमा बसेका नेपाली अझै पनि पानीको अभावमा कति समयसम्म बस्नुपर्ने हो थाहा छैन । नेपाल जस्तो पर्याप्त पानीको श्रोत भएको देशले शुद्ध पिउने पानी जनतालाई दिएर विदेश निर्यात गर्न सक्नुपर्छ । अस्ट्रेलियामा पानी, बिजुली कहाँबाट आउँछ समेत जनतालाई मतलब हुँदैन । त्यहाँ पानी पर्याप्त नभएर सबै राज्यले आकाशबाट परेको पानी जम्मा गर्न ठुला ठुला जलाशय बनाइएका छन्  । जुन हाम्रो कुलेखानी जलाशय टाइपका छन् ।

विकसित देशहरू आफ्नो स्वार्थको लागि अरु देशको राजनीतिमा खेल्छन् । खासगरि नेपालजस्ता गरिब देशका लोभी र अदूरदर्शी नेताको प्रयोग गर्दै आन्तरिक गडबडी मच्चाउँछन् । हामी भने जनताका आधारभूत आवश्यकता र देशको विकासलाई थाँतीमा राखेर विदेशीको हितमा काम गर्छौ ।

त्यही पानीको सदुपयोग गरेर सबै ठाउँमा प्रयोग गरिन्छ । हामीले बगेका पानीको सदुपयोग गरेर पिउने पानी मात्र होइन सिचाइ पनि राम्रोसँग गर्न सकेका छैनौ । हामी त तल्लो स्तरको राजनीतिमा व्यस्त भएका छौँ । जनताका समस्या समाधान गर्ने भन्दा आफ्नो स्वार्थमा रमाउँदै कसरी विदेशीलाई खुसी पारेर सत्तामा टाँसिरहने भन्ने ध्याउन्नमा मात्र लागेका पाइयो  । 

विदेशमा जनताहरू राजनीतिमा वास्ता गर्दैनन् । उनीहरू सिर्फ आफ्नो कामसँग मतलब राख्छन् । निर्वाचनमा मत हाल्न अनिवार्य भए पनि कतिपय मानिसहरू मत हाल्न नगएर जरिवाना तिर्छन् । हाम्रो देशमा सबै जनता राजनीतिमा लागेका छन् ।

कर्मचारी, वकिल, न्यायाधीश, व्यवसायी, किसान मजदुर, विद्यार्थी कोही पनि राजनीतिबाट कोही पनि अलग छैनन् । सरकारी कार्यालयमा राखिने बोर्डहरू कर्मचारीका विभिन्न युनियनका नाममा राखिएका छन् । अफिसमा सिर्फ राजनीतिको गफ हुन्छ तर जनताको काम भोलि आउनुहोस् फायल फेला परेन भनेर पठाइन्छ । विदेशमा सिस्टमले काम गरेको छ । भ्रष्टाचारमा परिने विषयमा उनीहरू सचेत रहन्छन् ।

अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको लोकप्रिय मुख्यमन्त्री ग्लाडिज बेरेजिक्लान केही वर्ष अघि आफ्नो ब्वाइफेण्डको क्लबलाई  सहायता गरेको कुरा स्वतन्त्र निकायले छानबिन गर्न थालेपछि उनले राजीनामा दिएकी थिइन । त्यस्तो नैतिकता राख्ने सम्भावना  हाम्रो देशका नेता या वरिष्ठ कर्मचारीमा हुनसक्छ ?

अस्ट्रेलियामा कुनै नाता पर्ने को कार्यालयबाट कुनै फायल आएमा त्यो फायलको विषयमा सम्बन्धितले हाकिमलाई जानकारी गराएर अर्कोलाई जिम्मा लगाउँछन् । यहाँजस्तो हाकाहाकी कमिसन घुस कसैले माग्ने आँट गर्दैनन् । 

आफू नेपाल फर्केको केही दिन मै नेपालको अस्थिर मिलीजुली सरकारले प्रधानन्यायाधीशको विरुद्धमा महाअभियोग लगाएको छ । ४/५ महिना देखि सर्बोच्चका वकिलहरूले प्रधानन्यायाधीश हटाउन आन्दोलन गरिरहेका थिए । अहिले आएर सरकारले न्यायालय सुधार्नको कुनै पहल नगरी एकै पटक अपर्झट महाअभियोगको प्रस्ताव सदनमा दर्ता गरिएको छ । केही महत्त्वपूर्ण मुद्दाको फैसला हुने दिनमा महाअभियोगको मुद्दा दर्ता गर्नु कुनै संयोग मात्र हुन सक्तैन ।

सत्ताधारीका कुनै दलका सांसदहरूको पद जान सक्ने फैसला र सभामुखको हत्या सम्बन्धी मुद्दाको पेसी चढ्ने कुराको विषय आदीलाई छल्नको लागि हुनसक्ने भन्ने भनाइ पनि बाहिर आएको छ । स्थानीय तहको निर्वाचन घोषणा भइसकेको अवस्थामा यो महाअभियोग काण्डले निर्वाचन बिथोल्न पनि सक्छ भन्ने भनाइ विपक्ष दलको छ ।

न्यायपरिषद्मा न्यायाधीश भन्दा बढी राजनीतिज्ञ राखिनु नै न्यायालयलाई राजनीतिकरण गरिनु र त्यसलाई बरबाद पारिनु हो भन्ने विषय राजनीतिज्ञले नबुझे जस्तो गर्छन् । अनि संसदीय सुनुवाइले पनि राजनीतिज्ञले न्यायाधीशलाई बार्गेनिङ गर्ने अवसर पाइरहेका छन् ।

जबसम्म यस्ता विषयहरूमा समाधान खोजिँदैन एक जना प्रधानन्यायाधीशको बहिर्गमनले तात्विक फरक पर्दैन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा स्वयं अत्यन्त बदनाम भइसकेका छन् । जसले न्यायालयको गरिमा धेरै खस्केको छ । 

अर्कोतर्फ एमसीसी पास गर्ने सर्तमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना सहयात्रीको सल्लाहमा यो महाअभियोग अपर्झट ल्याइएको विषय अहिले चर्चामा छ । यसले गर्दा नेपालको राजनीति नेपाल भन्दा बाहिरबाट संचालन हुन थालेको आभास पाइन्छ ।

विकसित देशहरू आफ्नो स्वार्थको लागि अरु देशको राजनीतिमा खेल्छन् । खासगरि नेपालजस्ता गरिब देशका लोभी र अदूरदर्शी नेताको प्रयोग गर्दै आन्तरिक गडबडी मच्चाउछन् । हामी भने जनताका आधारभूत आवश्यकता र देशको विकासलाई थाँतीमा राखेर विदेशीको हितमा काम गर्छौ । यही फरक छ नेपाल र अन्य विकसित देशमा ।

धेरै समयपछि नेपाल आउँदा केही सकारात्मक परिवर्तन र विकासका पूर्वाधारमा वृद्धि भएको देख्न कसको इच्छा हुँदैन । तर हामी त झन् पछि पर्दै गएको भान भएको छ । युवाहरूको जाँगर र सीपको प्रयोग गरेर उनीहरूलाई स्वदेशमै स्वरोजगारका अवसर बनाउन छोडेर अझै पनि उनीहरूलाई विदेश नै धपाउने नियत भएका नेताबाट जनताले के आसा गर्न सकिन्छ ?

 त्यसैले अबको निर्वाचनमा सुशासन, इमानदार र राष्ट्रभक्तिका सोच सहितका युवाहरूको  आवश्यकता महसुस प्रत्येक नेपालीले गरेका छन् । शेरबहादुरको गठजोड सरकार एमसीसीको कारणले ढल्ने अवस्थामा पुगेपछि उनी विपक्ष दलका नेताको घरमा एमसीसी सदनबाट पास गराउन र सरकार जोगाइदिन भन्दै सहयोग माग्न पुग्नु पनि यो अर्को विडम्बना हो नेपालको लागि  । 

 

चाबहिल सरस्वतीनगर, काठमाडौँ
२०७८ फाल्गुण ६