शंकर भारती: ६० रुपैयाँको संयोगै संयोग अर्थात् सिम्बल नम्बर १०३६२ ‘बी'!

शंकर भारती: ६० रुपैयाँको संयोगै संयोग अर्थात् सिम्बल नम्बर १०३६२ ‘बी'!

आशिष पौडेल  |  अन्तर्मन्थन  |  फाल्गुन ७, २०७८

सम्पन्न परिवारका शंकर भारतीलाई केही गर्ने हुटहुटीले कुल्ली बनायो । आमालाई सुख दिने सपनाले कहिल्यै भारी नबोकेका भारतीले चक्रपथ सर्भेका समयमा दैनिक ५ रुपैयाँ ज्यालादारीमा भारी बोक्नुभयो । भारीसँगै थाप्लोमा कहिल्यै नमेटिने घाउको खत पनि बोक्नुभयो । 

२०२८ सालमा चक्रपथ सर्भेका क्रममा काम खोज्दै जाँदा नेपालीले काम नेपालीले काम नदिने डरले उहाँले एक्लै उभिइरहेको चिनियाँ नागरिकलाई अङ्ग्रेजीमा सोध्नुभयो,  ‘गिभ मी वर्क ।’ 

तर, चिनियाँ नागरिकले भने भारतीलाई नेपालीमै जबाफ फर्काए । उहाँले फेरि उही शैलीमा प्रश्न गर्नुभयो, ‘गिभ मी वर्क ।’ चिनियाँले पनि पहिले जसरी नै उहाँलाई आश्चर्यमा पार्दै पुनः नेपालीमा जबाफ फर्काए । 

अब भने भारती नेपालीमै बोल्न बाध्य हुनुभयो । उहाँले आफूलाई काम चाहिएको बताउनुभयो । चिनियाँले उहाँको हात हेर्दै काम गर्न नसक्ने बताएपछि उहाँले आफू जस्तोसुकै कामका लागि तयार भएको बताउनुभयो । 

उहाँलाई काम त प्राप्त भयो तर सिस्नोको झाङ फाँड्ने अनि माटो बोक्ने । यसले कहिल्यै नदेखेको उहाँको थाप्लोले नाम्लो प्राप्त गर्‍यो । नाम्लोले थाप्लोमा कहिल्यै नमेटिने घाउको चोट दियो । नाम्लोले चोट मात्र होइन, पेटले पनि केही प्राप्त गर्‍यो । 

तर, सबैभन्दा ठूलो नाम्लोले आत्मविश्वास दिलायो । आँट, हिम्मत दिलायो । आत्मसम्मान र स्वाभिमान दिलायो । आखिर एउटा नाम्लोले यसभन्दा बढी के नै दिन सक्छ र ! त्यस कारण भारती नाम्लोलाई सदा साहित्यमा स्मरण गर्नुहुन्छ । जीवनको उतारचढावको पथ प्रदर्शक मान्नुहुन्छ । 

उहाँ यसरी नाम्लोको पछि लाग्नुमा आमा र बहिनीको माया, पढाइ खर्च र जिन्दगीमा केही बन्नुपर्छ, केही गर्नुपर्छ भन्ने अन्तर्य लुकेको थियो । नाम्लोले आफ्नो कर्तव्य पूरा गर्‍यो, भारतीले जिम्मेवारी । यसर्थ पनि कर्तव्य र जिम्मेवारीको सम्मिश्रण हो शंकर भारती । 

०००

जेठी आमाको निधनपछि उहाँका पिताजीले उहाँकी आमालाई बिहे गर्नुभएको हो । दोस्रो विवाह भएको हुनाले उमेरको फरक पनि राम्रै थियो- करिब २७-२८ वर्ष । पिताजी हुन्जेल जिन्दगी राम्रै रुपरङमा चलेको थियो । डिल्लीबजारको घर । सम्पन्न परिवार । केही कमी थिएन । उहाँका हजुरबुबा नरबहादुर भारती । नेपालको प्रथम वैज्ञानिक । गेहेन्द्रशम्शेरका साझेदार । अर्थात् मेसिनलगायतका उपकरण सँगै बनाउनुहुन्थ्यो उहाँको हजुरबुबा र गेहेन्द्रशम्शेर ।

तर, उहाँ करिब १२ वर्षको हुँदा पिताजीको देहान्तपछि भने जिन्दगीले आफ्नो असली रूप देखायो । आमा बस्ने गरेको घर भत्कियो । उहाँ, आमा र बहिनी अरूकहाँ आश्रय लिनुपर्दा पनि धेरै बोझ हुने ठानेर ३ तिर छुट्टिएर बस्नुपर्ने अवस्था आयो । उहाँ कमलपोखरी मामाघरमा, बहिनी भक्तपुर मामाघरमा तथा आमा सिनामंगल मामाघर पर्ने ठाउँमा आश्रय लिनुपर्ने अवस्था आइलाग्यो । 

आमाभन्दा उमेरले ५-७ वर्ष जेठा छोरा थिए । मुद्दा, मामिला सुरु भयो । निरक्षर आमालाई यो धान्न निकै गाह्रो भयो । जिन्दगी चलाउन उहाँले कुल्ली काम पनि गर्नुपर्‍यो । अवस्था यस्तोसम्म आयो कि सँगै खेल्ने साथीलाई बोलाउँदा उसका आमाबाबु 'घरमा छैन' सम्म भन्थे । तर, साथी भने नबोलेर माथिबाट 'म यहाँ छु' भन्ने संकेत गर्थ्यो । घरभित्र जाने त परको कुरा, उहाँ साथीलाई बाहिरै कुरेर बस्नुहुन्थ्यो ।

०००

निरक्षर आमा । छोरालाई पढाउनुहुँदैन भन्ने मान्यता राख्ने बुबा । यस्तोमा उहाँको प्रारम्भिक शिक्षा विजय मेमोरियलबाट सुरु भयो । कक्षा ५ पुगेपछि आधाले बेन्चमा बस्न पाउँथे भने आधा सुकुलमै बस्नुपर्थ्यो । त्यसअघि सुकुल जिन्दावाद !

उहाँले विजय मेमोरियलमा कक्षा २ सम्म मात्र पढ्न पाउनुभयो । त्यसपछि 'यसले अंग्रेजी पढेर ठूलो मान्छे बन्ला' भनेर पिताजीले नै उहाँलाई दरबार हाइस्कुल रानीपोखरीमा संस्कृत पढाउन भर्ना गरिदिनुभयो । 

३ र ४ कक्षा उहाँको दरबार हाइस्कुलमा बित्यो । एक वर्ष यत्तिकै घरमै बित्यो । अनि, उहाँकी आमालाई संस्कृत पढाएको पटक्कै मन नपरेपछि आमाले छिमेकीलाई भनेर पद्मोदयमा भर्ना गर्न लगाउनुभयो कक्षा ६ मा । 

पिताजीको देहान्तपछि उहाँको जीवनले अर्कै मोड लियो । ३-४ यस्तै रुपैयाँ भए पनि स्कुलको फिस तिर्न गाह्रो भयो । पद्मोदयमा त्यसबेला प्रायः माथिल्ला कक्षामा ५०-६० जना हुन्थे । स्कुलमा सहशिक्षा लागू भएको थिएन । छात्रहरू मात्र पढ्ने स्कुल थियो पद्मोदय त्यसबेला ।

उहाँको पढाइ खासै राम्रो थिएन । उहाँले एसएलसी २०२९ सालमा दिनुभयो । उहाँको ब्याचमा एसएलसी दिने ६०-७० जना थिए होलान् । उहाँ उत्तीर्ण हुन सक्नुभएन । त्यस कारण कति पास भए भन्ने उहाँलाई हेक्का छैन । २०३१ सालमा बल्ल उहाँले एसएलसी पास गर्नुभयो । त्यो पनि सेकेन्ड डिभिजनमा । त्यसबेला सेकेन्ड डिभिजन भनेको बोर्डमा आउनु जस्तै मानिन्थ्यो । 

०००

उहाँ बिहान ६ बजेदेखि १२ बजेसम्म कुल्ली काम गर्नुहुन्थ्यो । त्यस कारण समयमा स्कुल पुग्ने कुरो भएन । समयमा स्कुल नपुगेपछि त्यसबेलाको कडा विद्यालयमा उहाँले पिटाइ पनि खुबै खानुहुन्थ्यो । 'किन ढिलो ?' भनेर शिक्षकलाई मात्र भए त कारण पनि बताउनुहुन्थ्यो होला । तर, अब सबै साथीभाइको अगाडि कुल्ली काम गरेको कसरी भन्नु ? अनि, यस्तोमा केको अतिरिक्त क्रियाकलाप !

संयोग कस्तो पर्‍यो भने, पर्ने मामाहरू सबैले खर्च जुटाइदिएर आमा तीर्थ जानुभयो । उहाँको त्यसै बेला एसएलसी पर्‍यो । उहाँले सबैसँग फारम भर्नका लागि पैसा माग्नुभयो तर दिने कसले ! त्यसबेला ५२ रुपैयाँ लाग्थ्यो फर्म भर्न । 

उहाँ त्यसबेला कुल्ली काम छाडेर विदेशीलाई एयरपोर्टबाट होटलसम्म ल्याउने काम गर्नुहुन्थ्यो । होटलमा पुर्‍याएबापत कमिसन दिन्थे होटलहरूले । उहाँले धेरैजसो विदेशी लैजाने भनेको रतन तुलाधरको माउन्ट लजमा हुन्थ्यो । उहाँले एसएलसी दिनलाई भनेर काम छाड्नुभयो । तर, एसएलसीको फर्म भर्ने पैसा भएन । अनि, फेरि जानुभयो तुलाधरकहाँ । 

विदेशीहरूसँग काम गर्दा उहाँलाई विदेशीले विभिन्न सामान ज्याकेट, पैन्ट आदि उपहार दिन्थे । अनि, उहाँले त्यो उपहार बेचेर भए पनि फर्म भर्नुपर्‍यो भनेर रत्नपार्क जानुभयो । विदेशीले दिएको तामाको टाँक भएको राम्रो ज्याकेट थियो उहाँसँग । त्यही बेचेर भए पनि फर्म भर्नुपर्‍यो भनेर जानुभयो उहाँ । त्यसबेला बेच्ने पनि खासै ठाउँ थिएन । 

बेच्नलाई उहाँ बस बसबाट ओर्लने मान्छेलाई देखाउनुहुन्थ्यो । किन्न त कसैले किनेन बरु एक जनाले भने 'कहाँबाट चोरेर लेरा'इस् ?' भनेर गालामा २ झापड हान्यो । उहाँ बेतोडले ज्याकेट लिएर त्यहाँबाट भाग्नुभयो । त्यसपछि फेरि अर्को पटक ज्याकेट बेच्न जाने हिम्मत आएन उहाँलाई । 

०००

पढाइको हुटहुटीले तानेकाले उहाँ फेरि फर्केर रतन तुलाधरकहाँ जानुभयो । त्यस दिन विदेशीलाई होटलमा पुर्‍याउनुभयो ।भोलिपल्ट तुलाधरसँग पैसा माग्नुभयो । २ दिन बाँकी थियो फर्म भर्ने म्याद । 

भोलिपल्ट असाध्यै अप्ठ्यरोासँग मरेतुल्य भएर उहाँले पैसा माग्नुभयो किनकि पढ्नका लागि भनेर काम छाडेर पहिलो बेइमानी भइसकेको थियो । उहाँ तुलाधरसँग पैसा माग्न बाहिर कुरेर बसिरहनुभयो । 

तुलाधर निस्कँदा 'ए, शंकर के भयो ?' भनेर सोध्नुभयो । 'के अब भोलिदेखि फेरि भाग्ने विचार छ ?' भनेर उल्टै सोध्नुभयो । भारतीले आफूलाई एसएलसी दिन ५२ रुपैयाँ आवश्यक परेको बताएपछि उहाँले हिजै किन नभनेको भनेर ६० रुपैयाँ दिँदै भन्नुभयो, 'आज काममा आएको मान्छेलाई भोलिपल्ट कसैले पैसा दिँदैन, याद गर !'

उहाँले त्यसबेला खाना नखाएको ३ दिन भएको थियो । उहाँले फर्म भरेर बाँकी रहेको ८ रुपैयाँमध्ये रञ्जना हलमा त्यसबेला एक रुपैयाँ प्लेटमा पाइने आरसी मःम ३ प्लेट खाएर ३ दिनको भोक पनि मेट्नुभयो । 

भाउजूहरू कसैले माया नगरेपछि भाउजूलाई कसरी राम्रो देखाउन सकिन्छ भनेर आफ्ना पीडा पोख्दै जाँदा 'रूपमती' उपन्यासलाई पछ्याउने आर्दशोन्मुख यथार्थवादी धारको उपन्यास बन्न पुगेको धेरैले टिप्पणी गरेका छन् उहाँको 'अग्निपरीक्षा'लाई । 

पैसा लिएपछि उहाँ फेरि रतन तुलाधरकहाँ काम गर्न नगएर गायब ! गए काम लगाएर पढ्न नपाइएला भन्ने चिन्ता । यस कुराले मनभित्र इमान्दारी छ भने केही पटक बेइमानी जस्तो देखिने काम गरे पनि केही पनि हुँदैनन्नु हुन्छ भारती । तर, अरूलाई बिगार्नु भने हुँदैन भन्ने उहाँको दर्शन बनेको छ । यसको अर्थ बेइमानी गर्नुपर्छ भन्ने अर्थ नलागोस् भन्नेमा पनि उहाँ सचेत हुनुहुन्छ । 

०००

फेरि तुलाधरसँग सम्पर्क भएन । त्यसबेला फोन थिएन । खोज्दै आउनलाई ठूलो रकम पनि होइन । एक दिन उहाँ बानेश्वरको ओरालो ओर्लँदै हुनुहुन्थ्यो प्रकाश रेग्मी भन्ने साथीसँग भेट भयो । उहाँले नै रिजल्ट भएको खबर सुनाउनुभयो र गोरखापत्र किन्नुभयो । भारतीसँग गोरखापत्र किन्ने पैसा कहाँबाट हुनु ? गोरखापत्र किनेर नम्बर हेरिसकेपछि उहाँ आमाकहाँ नगईकन रतन तुलाधरकहाँ जानुभयो । ढोका खोल्नेबित्तिकै तुलाधरले देख्नुभयो र 'मैले बेइमानी गर्दैन भनेको अब फेरि के बेइमानी गर्न आयो ?' भनेर हाकार्नुभयो तुलाधरले । 

उहाँले 'म बेइमानी गर्न आएको होइन, यो गोरखापत्र हेर्नु' भन्नुभयो । ‘के हेर्ने यो गोरखापत्रमा ?’ तुलाधरले भन्नुभयो । 'ल हेर्नुस् मेरो नम्बर १०९६२ ‘बी’ भनेर उहाँले सेकेन्ड डिभिजनको लिस्टको देखाउनुभयो । 

'ल मैले त ठीक मान्छेलाई पो पैसा दिएको रहेछु, ल बस शंकर' भनेर उहाँले आफ्नै खाटमा राख्नुभयो । र, आफूले खाने हर्लिक्स बनाएर दिएर 'मैले दिएको पैसाले एउटा मान्छे एसएलसी पास भयो' भनेर खुसीले नाच्नुभयो । 

अहिले शंकर आफ्नो घर देखाउँदै यो सबै रतन तुलाधरको देन हो भन्नुहुन्छ । 

रतन तुलाधरको ६० रुपैयाँले एसएलसी पास भएपछि उहाँ सरस्वती क्याम्पसमा आईकम पढ्न थाल्नुभयो, त्यो पनि छात्रवृत्तिमा । वडाले उहाँलाई गरिब तथा जेहेन्दार भनेर पत्र लेखेर दिएको थियो । त्यो पत्र नभए उहाँले अगाडि पढ्ने अवसर पाउनुहुने थिएन किनकि कुरो पैसाकै थियो । बीकम पनि यही रीतले नै पास गर्नुभयो भारतीले शंकरदेवबाट ।  

०००

आईकमको अन्तिम वर्षमा उहाँले शिक्षा मन्त्रालयमा २ वर्ष अस्थायी सहलेखापालको जागिर खानुभयो । तलब थियो २७३ रुपैयाँ । यो २०३३ सालतिरको कुरा हो । तलबका रूपमा यसलाई भन्दा पनि उहाँ कुल्ली हुँदाको कमाइलाई पहिलो मान्नुहुन्छ भारती । 

त्यसबेला उहाँलाई १५/१५ दिनमा ज्याला दिन्थ्यो । दिनको ५ रुपैयाँको हिसाबले ७५ रुपैयाँ । शनिबार २ दिन कटाउँदा ६५ रुपैयाँ र यसो केही दिन नजाने गर्दा उहाँले त्यहाँ पनि ६०/६५ रुपैयाँ बुझ्नुभयो ५ महिनासम्म । 

यसरी उहाँको जीवनमा ६० रुपैयाँको संयोग र महत्त्व धेरै देखिन्छ । यही ६० को संयोग रहेको भारती आफूले कुल्ली बनेर काम गर्दा थाप्लोमा चोट लागेको ठाउँ धुम्बाराहीमा सपरिवार रमाइलो गर्न जाने मुडमा हुनुहुन्छ । तर, एउटा छोरा न्युजिल्याण्डमा भएका कारण त्यो अवसर जुटिरहेको छैन । 

धुम्बाराहीमा लडेर चोट लागेपछि भने उहाँले भारी बोक्ने काम गर्नुपरेन । त्यसपछि उहाँको काम इन्जिनियरको तुम्लेट बोक्दै इन्जिनियरसँगै हिँड्ने हुन पुग्यो ।

००० 

२०१३ सालमा जन्मनुभएका भारतीले २०३७ सालमा मागी विवाह गर्नुभएको हो । २०४१ सालमा उहाँका जुम्ल्याहा छोरा जन्मिए, जसमध्ये एक जना न्युजिलयाण्डमा होटल व्यवसाय गरेर बसिरहनुभएको छ । अर्को छोरा नाटक विधासँग सम्बन्धित हुनुहुन्छ । उहाँ सिनामंगलमा 'पुरानो घर' नामक नाटक घर चलाइरहनुभएको छ । छोरी नेपाल मेडिकल कलेजमा डाक्टरका रूपमा कार्यरत हुनुहुन्छ । 

०००

बीकम पढ्दै गर्दा उहाँले पंखा तथा रेडियो/क्यासेटको व्यापार गर्नुभयो । त्यसबेला सिनामंगलदेखि असनसम्म जाँदा रेडियो/क्यासेट बनाउने २५-३० वटा पसल थिए । ती पसलमा गएर भारती बनाउन राखेका सामान केही पैसा बैना दिएर बेच्न छाड्नुहुन्थ्यो । पछि पैसा चाहिँदा उठाउँदै हिंड्नुहुन्थ्यो । 

१० वटा पसलबाट एउटा सामान बिक्रीबापत १५ रुपैयाँ दिनमा नाफा हुँदा पनि दैनिक १५० रुपैयाँ । मासिक जोडिँदा झन्डै ४ हजार ५०० रुपैयाँ हुन्थ्यो । त्यो भनेको त्यसबेलाको ठूलो पैसा थियो । 

यो व्यापारले उहाँलाई साथीभाइसँग मिलेर २०४६ सालदेखि २०५८ सालसम्म जुगल हिमाल ट्राभल एन्ड टुर्स ट्राभल एजेन्सीको व्यापारमा पनि संलग्न हुने वातावरण बनायो । पछि केही साथीहरूले लोकसेवा पो दिनुपर्छ भनेपछि उहाँ २०४६ सालमा महालेखामा नासुको स्थायी जागिरे पनि हुनुभयो । २०७२ सालमा उहाँ अधिकृत हुँदै जागिरबाट अवकाश हुनुभएको हो । 

०००

उहाँका ४ जना दाजु । उहाँभन्दा जेठा त भतिजाहरू नै थिए । खेल्दै गर्दा पनि उहाँलाई नै भाउजूहरूले काम अह्राउँथे । आमा हेर्दा निरीह देखिनुहुन्थ्यो । त्यही दुःखबाट निस्किएको उहाँको उपन्यास हो- 'अग्निपरीक्षा ।'

सबैभन्दा पहिले लेखिए पनि उहाँका ५ वटा उपन्यासमा अग्निपरीक्षा सबैभन्दापछि निस्किए पनि प्रज्ञाप्रतिष्ठानबाट निस्कियो । उहाँका सबै पीडा यसमा समेटिएका छन् । 

भाउजूहरू कसैले माया नगरेपछि भाउजूलाई कसरी राम्रो देखाउन सकिन्छ भनेर आफ्ना पीडा पोख्दै जाँदा 'रूपमती' उपन्यासलाई पछ्याउने आर्दशोन्मुख यथार्थवादी धारको उपन्यास बन्न पुगेको धेरैले टिप्पणी गरेका छन् उहाँको 'अग्निपरीक्षा'लाई । 

वास्तवमा यो उहाँले जानेर लेखेको उपन्यास होइन । आफ्ना मनका पीडा लिपिबद्ध गर्दै जाँदा बन्न पुगेको उपन्यास हो । त्यस कारण यसमा धेरै भाषिक त्रुटि थिए । त्यसलाई सच्याउने र मिलाउने क्रमले पनि यसको प्रकाशन ढिलो हुन गएको हो । 

'अर्को जुनीमा' नामक उपन्यास उहाँको पहिलो प्रकाशनका रूपमा २०४१ सालमा बजारमा आयो । उहाँका अरू उपन्यासमा 'प्रेम तपस्या', 'अनुपम देवता', 'महापुरुषको सन्तान' हुन् । 

त्यस्तैफ उहाँका 'यहाँ यस्तै हुन्छ', 'बदला', 'खरानीको पर्खाल', 'समय सन्दर्भ', 'दिदी आफन्तहरू' उपन्यास प्रकाशनका क्रममा रहेका छन् । 

भारती बीडी त्यागी स्मृति साहित्य पुरस्कार, हाम्रो नेपाल समाज सम्मान, लोकतान्त्रिक वाङमय आदि सम्मानद्वारा सम्मानित पनि हुनुहुन्छ । 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरको भूतपूर्व महासचिव, उपन्यास समाज नेपालको महासचिव, डायमन्डशम्शेर राणा प्रतिष्ठानको उपाध्यक्षलगायतका संघसंस्थामा उहाँको संलग्नता देखिन्छ ।