औषधि पत्ता नलागेको रोग

औषधि पत्ता नलागेको रोग

डा. टीकाराम पोखरेल  |  साहित्य  |  फाल्गुन ७, २०७८

आकारमा ऊ अरूभन्दा सानो थियो तर सबैको बीचमा थियो । उसलाई सबैले माया गर्थे । साँच्चै माया गर्थे कि आफ्नो स्वार्थका लागि माया गर्थे भन्ने कुरामा चाहिँ ऊ स्वयं रणभुल्लमा थियो ।

उत्तर र दक्षिणतिरबाट उसलाई २ ठूला मित्रले अँगालो हालेका थिए । उनीहरूले त्यसलाई 'मित्रवत् अँगालो'को संज्ञा दिएका थिए । मित्रवत् अँगालो हाल्ने मित्रहरू बीचकोलाई 'तैँले बढी माया देखाउने कि मैले बढी माया देखाउने' भन्ने प्रतिस्पर्धामा थिए ।

त्यसो त उत्तर र दक्षिणका मात्र होइन, पूर्व र पश्चिमकाहरू पनि मित्रता र सहयोगका पोकापुन्तुरा फाल्नमा त्यत्तिकै खरो प्रतिस्पर्धामा उत्रिएका थिए ।

मित्रता र सहयोगको यो रोचक प्रतिस्पर्धा देखेर बीचमा बसेर सहयोग लिइरहेको मित्र भने दंग थियो । आफूले जति अल्छी गरे पनि अरसले प्रतिस्पर्धात्मक सहयोग गरेकामा ऊ आफ्नो अहोभाग्य ठान्थ्यो । काम नगरी माम खान पाउनु भनेको आफ्नो पूर्वजन्मकै कमाइ हो भन्ने उसको बुझाइ थियो ।

एक दिन पश्चिमतिरकोले एउटा ठूलै सहयोगको पोको बीचतिर फाल्यो र भन्यो, 'लौ मेरो पवित्र अमृतको पोको लेऊ । यो पोकोबाट तिमीले अजम्बरी प्राप्त गर्नेछौ ।'

पश्चिमकाले अमृततुल्य अजम्बरी पोको फालेपछि उत्तरतिरको झस्कियो र भन्यो, 'होसियार ! त्यो पोको नलेऊ । त्यो पोको अमृतको होइन, विषको हो । विषले अजम्बरी प्राप्त हुँदैन, मृत्यु हात लाग्छ बरु त्यसभन्दा राम्रो र ठूलो पोको म दिन्छु, त्यो लेऊ । पश्चिमतिरकाको पोको बहिष्कार गरिहाल ।'

उत्तरतिरकाले आफ्नो पोकोको विरोध गरेको थाहा पाएपछि पश्चिमकाले फेरि बीचकोलाई भन्यो, 'तैँले मेरो पोको लिनै पर्छ । नत्र ... । नत्र फेरि ... ।'

दक्षिणकाले बीचकोलाई फकाउँदै भन्यो, 'मित्र ! आफूले काम नगरी माम पाउने गरी

बीचको मित्र पोको लिने कि नलिने भन्ने आफ्नै आन्तरिक द्वन्द्वमा पिल्सियो । लिने कि नलिने भनेर सोच्दासोच्दै ऊ बिरामी पर्‍यो । उसलाई अस्पताल पुर्‍याइयो । चिकित्सकले परीक्षण गर्दा उसलाई उत्तरआधुनिक प्रकृतिको 'स्वार्थ' नाम गरेको रोग लागेको भन्ने पत्ता लाग्यो, जुन रोग सृष्टिको प्रारम्भदेखि नै भए पनि यतिबेला भने महामारीको रूपमा फैलिएको थियो ।

रोग लागेपछि उपचार त गर्नै पर्‍यो । चिकित्सकलाई सोधियो, 'यस रोगको उपचारविधि के हो ? कुन औषधिले यो रोग निको हुन्छ ?'

चिकित्सकले प्रेस्क्रिप्सनमा लेखिदियो, 'स्वार्थ भन्ने रोगको अहिलेसम्म कुनै उपचारविधि पत्ता लागेको छैन, न त यसको औषधि नै पत्ता लागेको छ ।'