एकीकृत समाजवादीको धारणाः ‘यथास्थितिमा नो एमसीसी’, संसदमा टेबल गर्न भने दिने

एकीकृत समाजवादीको धारणाः  ‘यथास्थितिमा नो एमसीसी’, संसदमा टेबल गर्न भने  दिने

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ७, २०७८

काठमाडौं । नेकपा एकीकृत समाजवादीले शर्तसहित एमसीसी सम्झौता संसदमा टेबल गर्न दिने निष्कर्ष निकालेको छ ।

शनिबार एमसीसी सम्झौताबारे धारणा बनाउन बसेको स्थायी कमिटी बैठकले शर्तसहित संसदमा टेबल गर्न दिन निर्णय गरेको हो ।

स्थायी कमिटी बैठकपछि पार्टीका उपमहाँसचिव तथा प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले एमसीसी जबरजस्त टेबल गर्न नहुने बताउनु भयो । उहाँले भन्नुभयो ‘नेकपा एमालेले गरिरहेको संसद गतिरोध हटेर एमसीसीबारे छलफल हुने वातावरण बन्नुपर्छ ।’ उहाँले बैठकले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने निर्णय गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यथास्थितिमा नो एमसीसी’ यसबारे थप निर्णय गर्नुपरे बैठकले थप अधिकार केन्द्रीय सचिवालयलाई दिएको खतिवडाले जानकारी दिनुभयोे ।

‘टेबल गर्ने कुरामा हाम्रो धेरै आपत्ति छैन । संसद्मा छलफल गर्न पाउनुपर्छ । तर यसका केही विषयहरू स्पष्ट हुनुपर्छ । जबरजस्ती टेबुल गरिने छैन ।’ एमसीसीको बारेमा पार्टीको १२औँ सचिवालय बैठकले झलनाथ खनालको संयोजकत्वमा प्रमेश हमाल, विजय पौडेल र जगन्नाथ खतिवडासहितको अध्ययन कार्यदलको बनाएको थियो । सो कार्यदलले १४औँ बैठकमा एमसीसीबारे रिपोर्ट प्रस्तुत गरेको थियो । सोही रिपोर्टबारे खनालले विवरण प्रस्तुत गर्नुभएको  थियो ।