खोटाङको जन्तेढुंगा गाउँपालिकामा पुमा भाषाको पाठसंकलन

खोटाङको जन्तेढुंगा गाउँपालिकामा पुमा भाषाको पाठसंकलन

लोकसंवाद संवाददाता  |  शिक्षा  |  फाल्गुन ८, २०७८

खोटाङ ।  खोटाङको जन्तेढुंगा गाउँपालिकामा पुमा भाषाको पाठसंकलन गोष्ठी गरिएको छ । पुमा भाषाको संरक्षण र संवर्द्धनका लागि अभिलेखीकरण गर्न किरात पुमा राई तुप्खाबाङ्खाला केन्द्रीय कार्यसमितिको संयोजनमा भाषा आयोग शंखमुल, काठमाडौँले पुमा भाषा अभिलेखीकरण सम्बन्धी गोष्ठी आयोजना गरेको हो । लोपोन्मुख बनेको पुमा राई भाषालाई अभिलेखीकरण गर्दै जीवन्त बनाएर राख्नका लागि पाठ संकलन कार्यक्रम गरिएको भाषा आयोगका प्रवक्ता उपसचिव गेहेन्द्रनाथ गौतमले बताए । 

जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङको निगालावसस्थित पैयाँटार प्राविमा शुक्रवार पुमा भाषा वक्तालाई भेला गरेर भाषा संकलन गरिएको हो । भाषाविद् डा. तारामणि राई, अनुसन्धानकर्ता माया राई, किरात पुमा राई तुप्खाबाङ्खाला केन्द्रीय कार्यसमिति सदस्य ध्रुवकुमार राई लगायतको सहजी करणमा पुमा भाषाको पाठसंकलन गरिएको हो । भाषा संरक्षण कार्यक्रम अन्तरगत पुमा भाषाको पाठ संकलन सम्बन्धी प्रतिवेदन तयार पारेर बुझाइने आयोगका प्रवक्ता गौतमले बताए ।

खोटाङको १० स्थानीय तहमध्ये जन्तेढुंगा र बराहपोखरी गाउँपालिकामा पुमा राईको बसोबास रहेको छ । पुमा राईको सघन बसोबासको आधारमा जन्तेढुंगामा पुमा भाषाको पाठ्यक्रम लागू भइरहेको किरात पुमा राई तुप्खाबाङ्खाला जिल्ला कार्यसमिति खोटाङका सदस्य डिल्लीसेर राईले बताए ।

जन्तेढुंगा गाउँपालिकाले शैक्षिक–सत्र २०७७/०७८ देखि स्थानीय भाषाको पाठ्यक्रम अन्तरगत १८ विद्यालयमा पुमा र १८ विद्यालयमा वान्तता भाषामा पठन–पाठन सुरु गरिसकेको छ । विद्यालयमा ६० प्रतिशत पुमा र वान्तता भाषा बोल्ने विद्यार्थी अध्ययनरत रहेको तथ्यांकका आधारमा पुमा र वान्तता भाषाको पाठ्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ ।