कमल थापालाई आफ्नै छोरी र भतिजाको समेत असहयोग

कमल थापालाई आफ्नै छोरी र भतिजाको समेत असहयोग

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ८, २०७८

काठमाडौँ ।  राप्रपा परित्याग गरेर राप्रपा नेपालका अध्यक्ष भएका कमल थापालाई आफ्नै छोरी र भतिजासहित पारिवारिक सदस्यको असहयोग देखिएको छ । 

राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि लाक्पा शेर्पाले दर्ता गरेको राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी पाएका थापालाई उनकै पारिवारिक सदस्यको साथ देखिएन । 

काठमाडौँमा शनिवार उनले ‘राप्रपा नेपाल’ पार्टीको घोषणा गरे । तर, राप्रपाको सदस्यमा निर्वाचित भएका छोरी प्रतिष्ठा थापा र भतिजा अभिषेक थापा राप्रपा नेपालको घोषणा कार्यक्रममा गएनन् । उनीहरूले राप्रपाको सदस्यबाट पनि राजीनामा दिएका छैनन् । 

राप्रपा सदस्यमा निर्वाचित प्रमाणपत्र नबुझेका प्रतिष्ठा र अभिषेक औपचारिक रुपमा कुनै पार्टीमा आबद्ध भएका छैनन् । कमल थापा अध्यक्ष रहेको राप्रपा नेपालको घोषणा कार्यक्रम नदेखिनुले पनि उनीहरू सो पार्टीमा नरहेको स्पष्ट हुन्छ । 

पुराना साथीलाई आफूलाई सहयोग गर्न केही दिनअघि अध्यक्ष थापाले आह्वान गरे पनि पारिवारिक सदस्यकै साथ नदेखिएको हो । 

यस्तै नाताले सम्धी पर्ने भरत रायमाझी र थापा उपप्रधानमन्त्री हुँदासमेत स्वकीय सचिव रहेका राजाराम बर्ताैलाको पनि साथ अध्यक्ष थापाले पाएका छैनन् ।  

हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको एजेण्डामध्ये हिन्दु राष्ट्रको एजेन्डा बोकेर राप्रपा नेपालको नेतृत्व सम्हाल्न गएका थापालाई आफ्नै पारिवारिक सदस्यको साथ नरहेको देखिएको हो । 

राप्रपा नेपाललाई आफ्नै पुरानो घर दाबी गरेका थापाले गठन गरेको राप्रपा नेपाल  २०७३ सालमा पशुपतिशम्शेर राणाले नेतृत्व गरेको राप्रपासँग एकता गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी निर्माण भएको थियो । तर, अहिले थापा गएको राप्रपा नेपाल  लाक्पा शेर्पाले गठन गरेका हुन् । शेर्पाले अध्यक्षबाट राजीनामा दिएर थापालाई नेतृत्व सुम्पिएका हुन् ।