एमसीसी टेबल गर्ने गठबन्धनको सहमति

एमसीसी टेबल गर्ने गठबन्धनको सहमति

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ८, २०७८

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ५ दलीय गठबन्धन बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने सैद्धान्तिक सहमति गरेको छ ।

झन्डै आधा घन्टा बसेको बैठकले एमसीसीबारे ठोस निर्णय गरे पनि अनुमोदन गर्ने कि नगर्ने भन्ने कुनै टुंगो लागेको छैन ।

यसैबीच नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बैठकमा राखेको विषयबारे उनको सचिवालयले २ बुँदे प्रस्ताव सार्वजनिक गरेको छ ।

प्रेस संयोजक रमेश मल्लका अनुसार सत्तारुढ गठबन्धन बैठकमा प्रचण्डले कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भए पनि हाल लामो समयदेखि सदन अवरुद्ध भएको र अरू कुनै पनि विधेयक टेबुल नभएको अवस्थामा सभामुखलाई एमसीसी मात्र टेबुल गर भन्नु उपयुक्त नहुने तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबुल गरिछाड्ने हो भने प्रस्तावलाई छलफलका लागि समितिमा पठाउन आग्रह गरेका थिए । तर, प्रधानमन्त्री देउवाले टेबुल गरेर प्रक्रियामा लैजाने अडानमा रहेको मल्लले जानकारी दिए ।