एमसीसी टेबुल गर्ने निर्णयले गठबन्धन दलभित्र बढायो किचलो, विरोध गर्नेलाई बैठकमा बोलाउनै छोडियो

एमसीसी टेबुल गर्ने निर्णयले गठबन्धन दलभित्र बढायो किचलो, विरोध गर्नेलाई बैठकमा बोलाउनै छोडियो

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ८, २०७८

सत्तारुढ गठबन्धन दलका शीर्ष नेताले आइतबार बिहान गरेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने निर्णयले ती दलहरूबीच आन्तरिक किचलो बढाएको छ । 

सत्तारुढ दलका शीर्ष नेताहरूले एमसीसी संसदमा टेबुल गर्ने निर्णय गरी बाहिरिएलगत्तै दलका अन्य नेताहरू निर्णयको विरोधमा उत्रेका छन् । 

शुक्रबार बिहान बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भएको बैठकले एमसीसी आज संसदमा टेबुल गर्ने निर्णय गरेको थियो । 

आजको बैठकमा सरकारलाई समर्थन गर्दै आएको राष्ट्रिय जनमोर्चालाई बोलाएन । त्यस्तै, एमसीसीको कडा विरोध गर्दै आएका गठबन्धन दलका केही नेताहरूलाई पनि बोलाइएको थिएन । शीर्ष नेताहरूले पार्टीभित्र छलफल नै नगरी संसदमा टेबुल गर्ने निर्णय गरेका थिए । 

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी संसदमा टेबुल गर्ने सहमतिबारे पार्टीमा कुनै छलफल नभएको बताए ।  

‘एमसीसी संसदमा टेबुल गर्नेबारेमा पार्टीमा कुनै छलफल भएको छैन । हाम्रो विरोध कायमै छ’, श्रेष्ठले भने ।

एमसीसी टेबुल गर्ने गठबन्धनको निर्णयप्रति एकीकृत समाजवादीका नेता झलनाथ खनालले पनि आपत्ति जनाएका छन् । उनले विदेशीको दबाबमा पार्टीहरू झुकेर एमसीसी संसदमा टेबुल गर्ने निर्णय गरेको बताए ।  

उनले संविधानविपरीत गठबन्धनले एमसीसी टेबुल गर्ने निर्णय गरेको आरोप लगाए । 

‘एमसीसी अनुमोदन गर्नका लागि ऐन पनि छैन । संघीय ऐन नबनाई संसदमा टेबुल गर्न सकिँदैन । यो संविधानविपरीत पनि छ', खनालले भने । 
शनिबार मात्र आफ्नो पार्टीले एमसीसी सम्झौता परिमार्जन नगरी अगाडि नबढाउने निर्णय गरेको उनले स्मरण गरे । 

‘हिजो मात्र पार्टीले निर्णय गर्ने अनि आज टेबुल गर्ने भन्ने कसरी मिल्छ । यी सब गलत कुराहरू भए । विदेशीहरूको दबाबमा पार्टीहरू झुक्दै गएको कुरा यसले देखाउँछ', खनालले भने । 

एमसीसीको विरोध गर्ने भएकै कारण सत्तारुढ दलको आइतबार बिहान बसेको बैठकमा आफूलाई नबोलाइएको उनले जनाए । 

५ दलीय सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन बैठकमा आफूहरूलाई बोलाउन छाडिएको गुनासो गरेका छन् । 

एमसीसी सम्झौता अनुमोदन प्रस्ताव संसदमा पेस गर्ने विषयलाई लिएर भइरहेका गठबन्धनको बैठकमा आफूहरूलाई बोलाउनै छाडिएको केसीले जानकारी दिए । 

‘एमसीसीको मुद्दा आएपछि विरोधमा उत्रिन्छ भनेर गठबन्धन बैठकमा हामीलाई बोलाउनै छाडे', केसीले भने, ‘हामीले पनि बैठकमा जानुभन्दा सडकमै जानु उचित ठानेका छौँ ।’ 

केसी एमसीसीको विपक्षमा छन् । उनको पार्टीले एमसीसीको विरोधमा सडकमै आन्दोलन गरिरहेको छ ।