क्यानाडालाई पराजित गर्दै समूह विजेता बन्ने नेपालको लक्ष्य

क्यानाडालाई पराजित गर्दै समूह विजेता बन्ने नेपालको लक्ष्य

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन ९, २०७८

आईसीसी टी- २० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा सोमबार (आज) क्यानाडाविरुद्ध प्रतिस्पर्धामा उत्रँदा नेपाल सत प्रतिशत जीतसहित समूह विजेता बन्ने लक्ष्यमा छ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार पौने ४ बजे  सुरु हुनेछ । नेपालले छनोटअन्तर्गत यसअघि भएको समूह चरणका २ मध्ये दुवै खेलमा जीत निकालेको थियो ।

छनोटको पहिलो दिन शुक्रबार नेपालले घरेलु टोली ओमानलाई ३९ रनले र शनिबार फिलिपिन्सलाई १३८ रनले पराजित गरेको थियो ।

ग्लोबल छनोटको समूह ‘बी’मा रहेको नेपाल ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै, २ खेलबाट २ अंक जोडेको क्यानाडा दोस्रो र समान खेलबाट समान अंक रहे पनि रन रेटका आधारमा ओमान तेस्रो स्थानमा छ । अंकविहीन फिलिपिन्स समूहको पुछारमा छ ।

आज जितसहित समूह विजेता बने नेपालले सेमिफाइलनमा समूह ‘ए’को उपविजेतासँग खेल्नेछ । सेमिफाइनल जीत निकाले नेपाल छनोटको फाइनलसँगै अक्टोबरदेखि अस्ट्रेलियामा हुने टी- २० विश्वकपमा छनोट हुनेछ ।

ग्लोबल छनोटका समूह ‘ए’मा २ खेलबाट ४ अंक जोडेको सयुक्त अरब इमिरेट्स (यूएई) शीर्ष स्थानमा छ । यस्तै, २ खेलबाट समान २ अंक जोडे पनि बहराइन दोस्रो र आयरल्यान्ड तेस्रो स्थानमा छन् । २ खेल खेल्दासम्म खाता खोल्न नसकेको जर्मनी अन्तिममा छ ।