लघुकथा समाजद्वारा मधुवन पौडेल तथा हरिप्रसाद भण्डारी पुरस्कृत

लघुकथा समाजद्वारा  मधुवन पौडेल तथा हरिप्रसाद भण्डारी पुरस्कृत

लोकसंवाद संवाददाता  |  साहित्य  |  फाल्गुन ९, २०७८

काठमाडाै‌ं । लघुकथा समाज नेपालले बर्सेनि प्रदान गर्दै आएको ‘सावित्री–केशर कथा सम्मान–२०७८’ र ‘बाटुली–खिलध्वज लघुकथा सम्मान – २०७८’ आज एक समारोहविच वरिष्ठ साहित्यकार रोचक घिमिरेले हस्तान्तरण गर्नुभयो ।

‘सावित्री–केशर कथा सम्मान–२०७८’ तीसको दशकदेखि कथा लेखनमा क्रियाशील वरिष्ठ कथाकार मधुवन पौडेललाई प्रदान गरिएको छ । सो सम्मान प्रमाणपत्रका साथै २१ हजार रुपैयाँ नगद राशि रहेको छ ।

साथै समाजले ‘बाटुली–खिलध्वज लघुकथा सम्मान – २०७८’ लघुकथा लेखनमा लामो समयदेखि सक्रिय लघुकथाकार हरिप्रसाद भण्डारीलाई प्रदान गरेको छ । उक्त सम्मान पनि प्रमाणपत्रका साथै नगद राशि २१ हजार रुपैयाँ रहेको छ ।

सम्मानित कथाकार पौडेल तीसको दशकदेखि नै साहित्य लेखनमा सक्रिय हुनुहुन्छ । कूटनीतिक सेवामा समेत रहेका पौडेलको ‘नलिनी भाउजू’, ‘म र मेरो परिवेश’, ‘चपाएको दन्त्यकथा’, ‘बाँच्नुको विवशता’लगायत कथासंग्रह प्रकाशित गर्नुभएको छ ।

वरिष्ठ लघुकथाकार भण्डारीका तीनवटा लघुकथाकृति प्रकाशित भइसकेका छन् । उहाँका विभिन्न विधाका उहाँका करिब ११ वटा कृति प्रकाशित छन् । विनय कसजूका लघुकथामा व्यंग्य विषयमा एमफिल गरेका भण्डारी नेपाली लघुकथामा व्यंग्य विषयमा विद्यावारिधि गर्दै हुन्छ ।

कार्यक्रममा समालोचक श्री वरिष्ठ कवि अशेष मल्ल, समालोचक श्री लक्ष्मणप्रसाद गौतम, वरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ रोदन, लघुकथाकार सुमन सौरभ, सिन्धु गौतमलगायतले बोल्नु भएको थियोे । कार्यक्रम लघुकथा समजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न भएको थियोे ।