निजीकरण र भ्रष्टाचारबाट उद्वेलित रचना: नेपाल...लाई विश्वको मुटु बनाउँछौँ भन्ने गीत

निजीकरण र भ्रष्टाचारबाट उद्वेलित रचना: नेपाल...लाई विश्वको मुटु बनाउँछौँ भन्ने गीत

प्रा.डा. विष्णु राई  |  लोकरञ्जन  |  फाल्गुन ९, २०७८

नेपाल देश तिमीलाई विश्वको मुटु बनाउँछौँ
उघारी हेर्दा क्षितिजमा विश्वको सुन्दर देखाउँछौँ
ढुंगालाई देव ठानेर संकल्प माटोको गर्दछौँ
नथाकी पाइला सारेर जाँगर, सीपले सिँगार्छौं ।

मलाई प्रस्ट थाहा छैन, यो गीतको रेकर्ड भएको समय । रेडियोमा घन्केपछि सुनेको थिएँ । यसको श्रेय मेरो प्रिय मित्र वरिष्ठ गायक तथा संगीतकार भरत लामालाई जान्छ । सम्भवतः २०५१ सालतिर रेडियो नेपालमा रेकर्ड भएको थियो ।

हाम्रो भेट नभएको सम्भवतः २५ वर्ष जस्तो भयो । जीवन सबैको आफ्नै हुन्छ र समय पनि आफ्नै हुन्छ । सम्झना गाढा भएर पनि भेट भएको छैन । अत्यन्त शक्तिशाली संगीतकार भरत लामालाई हार्दिक सम्मान तथा सम्झना गर्न चाहन्छु । हाम्रो भेट फेरि चाँडै होस् ।

यो गीतको रचनामा नेपालको सामाजिक राजनीतिक अराजकता छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि सोचेको थिएँ, अब समाजको मुहार फेरिनेछ । म ‘ओभर एक्साइटेड’ भएछु । जब धमिजा, चाइना साउथ इस्ट एरलाइन र ‘प्राइभेटाइजेसन’को नाममा ठूला भ्रष्टाचार भयो ।

सुन्दर देशलाई कसरी बचाउने भन्ने सन्दर्भमा मेरो मन उडिरह्यो । हुनत तपाईंले मेरो कुरा सुन्दा हाँस्नुहोला । तर, म केही गरौँ भन्ने मानसिकताले आफैँ प्रचुर दुखी मान्छे हुँ । यसै समयमा यो देशभक्ति गीत लेखेको थिएँ ।

यो गीतको संरचनाभित्र मेरो मनको राष्ट्रियता छछल्केको छ । राष्ट्रियता भन्नु छिमेकीलाई गाली गरेर जनतामा लोकप्रियता कमाउनु होइन । युद्धमा गएर सिमानामा रगत पोख्नु होइन । ढुंगा उचाल्नु होइन । मलाई लाग्छ, राष्ट्रियता भनेको व्यक्तिको आफ्नो आदर्श हो ।

कसरी समाज देशको माटो फुलाउन सकिन्छ । परिश्रम गरेर सपना बिपना उद्देश्यमा खट्न सकिन्छ । त्यो बलियो राष्ट्रवाद हो । देशभक्ति हो । ‘नेस्नालिजम’को अर्थ धेरै लाग्न सक्छ । अर्काको देश खोसेर, ‘कोलोनाइज’ गर्नु पनि कसैका लागि राष्ट्रवाद हुन्छ ।

युद्धमा शहीद हुनु राष्ट्रवाद हो । एसिया, अफ्रिकामा राष्ट्रवाद बीसौँ शताब्दीदेखि उत्कर्षमा आयो, जतिबेला ‘कोलोनिस्ट’हरूले संसार कब्जा जमाएका थिए । तसर्थ उन्नाइसौँ शताब्दीमा युरोपको राष्ट्रवादी शक्ति र संघर्षको सफल अवस्था थियो ।

कसैको राष्ट्रवाद शब्दभित्र भद्दा र जाली शब्द घुसेको हुन्छ । हाम्रा नेताहरूको राष्ट्रवाद एमसीसी विषयमा आआफ्नो छ । कति सत्य छ, पत्याउन गाह्रो छ । हिटलरका लागि मान्छे मार्नु राष्ट्रियता थियो होला । राजनीतिमा सजिलै राष्ट्रवाद बोलिन्छ तर जटिल छ यो ।

आज विश्व परिवार भएको छ । फ्रान्स र अमेरिकाले देखाएको दादावादी उपनिवेशवाद उनीहरूको राष्ट्रवाद थियो । उन्नाइसौँ शताब्दीमा ल्याटिन अमेरिकामाथि अमेरिकाले शक्ति ‘पेनिट्रेट’ गरे  । फ्रान्सले मध्य युरोपमा गरेका थिए । तसर्थ पुँजीवादी ददावाद र शक्तिहीनको राष्ट्र र राष्ट्रवाद फरक छ । राष्ट्र भनेको धेरै धर्म, संकृति भएको भूभाग हो । त्यसपछि राष्ट्रवाद हो ।

साहित्यकारहरूले राष्ट्रवाद देशभक्त गीत लेख्नुपर्छ । राष्ट्र र राष्ट्रियता फरक अर्थ हुन् । आजको राष्ट्रवाद भनेको आधुनिकीकरणको समयमा जर्ज अर्वेलले भनेजस्तो ‘नेसनलिजम इज पावर हंगर टेम्पर्ड बाई सेल्फ डिसेप्सन हो ।

शिक्षा, स्वास्थ्य, सुरक्षा, रोजगारी सिर्जना गर्नु र पुँजीलाई  समाजका लागि लगानी गर्नु देशभक्ति हो । वास्तविक राष्ट्रवाद हो । राष्ट्र भनेको भिन्न भूमिभित्रको जाति, भाषा र संकृति हो । अरबलाई मान्छे बिक्री गर्नु राष्ट्रवाद र विकास होइन । सामन्ती  र पुँजीवाद हो ।

अब कोरा गफले राष्ट्रवादी कोही हुन सक्दैन । हाम्रा नेताहरूको राष्ट्रवाद त्यति भरपर्दो छैन । सामाजिक विज्ञानको प्रयोगशालामा टेस्ट गरिनुपर्छ, ५० को दशकका देश कता पुगे, हामी कता छौँ ?

भरत लामासँगको भेटमा गीत रेकर्डिङ गर्ने हाम्रो कुरो थिएन । रेडियो नेपालले उहाँलाई राष्ट्रिय गीत मागेको रहेछ । मलाई भन्नुभयो । मैले लेखेर उपलब्ध गराएको थिएँ । भरतजी बौद्धिक संगीतकार । पहिले त मलाई डर पनि लागेको थियो । अग्लो कदको मिजासिलो भरतजी, राजनीतिक गफमा माथिल्लो तहको विश्लेषण गर्नुहुन्थ्यो तर हल्का पियक्कड पनि ।

देशका लागि के गर्न सकिन्छ ? सायद जो कोही युवालाई एकपल्ट बैँसमा यस्तै हुँदो हो । सपनाले मान्छेलाई डोर्‍याउँछ । सपना नदेख्नेले आहाललाई संसार देखेर रमाउँछ । आफ्नोपन मान्छेको हुँदो रहेछ ।

प्रिद्ध मानवशास्त्री हैमेडोर्फले भनेका छन्, ‘नेपाल मिठो स्यान्डविच ब्रेड हो । फेब्रिक देश हो ।’ आज कसले खाने हो त्रास छ । आगो सल्काएका छन् । धुवाँ निस्कन थालेको छ । अझ राष्ट्रिय गीत लेखेर देश साहित्यकारहरूले बचाउनुपर्ने समय आएको छ । झन् हामीले राष्ट्रिय गीत गाउनुपर्छ ।

मैले नेपालको सुदूरपश्चिम बोर्डरका जिल्लाहरू मात्र घुमेको छैन । पश्चिम नेपालको गड्डाचौकी भन्सारमा कुल्ली गरेर भारतबाट फर्केका नेपालीसँग ५०० रुपैयाँसम्म झोलाको नजराना मागेको देखेको छु । पूर्व काँकडभिट्टा भन्सारमा कोइला खनेर फर्केका मजदुरहरूसँग ३०० रुपैयाँसम्म झोलाको नजराना मागेको देखेको छु ।

मानौँ, हाम्रो राष्ट्रवाद जटिल मोडमा छ । साधारण मान्छेको राष्ट्रवाद संकटमा छ आज । त्यसैले विक्षिप्त छ । भारतको उत्तराखण्ड राज्यका हरिद्वार, नैनीताल र देहरादुन घुमेर फर्कंदा कंचनपुरमा मैले त्यस्तै देश देखेँ ।

नैनीतालमा सानो खोला थुनेर विशाल पर्यटन क्षेत्र निर्माण गरेको रहेछ । २०६९ सालमा गोरखपुरबाट दिल्ली, हरिद्वार, देहरादुन, नैनीताल घुम्न गएका थियौँ । प्रशस्त मान्छेले रोजगारी पाएको देखेर छक्क परेको थिएँ ।

दार्चुला र बैतडीका नेपालीहरू बाटो खन्दै थिए जाडोमा । हरिद्वारबाट सर्ट लगाएर निस्केको टेम्के जस्तो लेकमा पुग्दा मेरो छाती लगलगी काँपेको थियो नैनीतालमा । तर, केही जस्तो लागेन  सुन्दर पहाडकी रानीसँग । कमललाई भने जाडोले गर्दा सुन्दर स्विटर किनेर तस्बीर खिचेका थियौँ ।

देशभक्ति त त्यस्तो होला, स्थानीयवासीले रोजगार पाउन सकोस्, खुसी हुन सकोस् । लोकल सामान बिक्री गरेर आफ्नो स्तरअनुरूपको आम्दानी गर्न सकोस् । कम्तीमा ३० हजार मान्छेहरूको रोजगारी त्यो सानो पोखरीले सिर्जना गरेको थियो । हामी छक्क परेका थियौँ ।

कविले लेख्ने राष्ट्रवाद अमर हुन्छ । उसले निःस्वार्थ मुटुले लेख्छ । नेताको राष्ट्रवाद अस्थिर हुन सक्छ । फगत स्वार्थमा बोलेको हुन्छ ।

हरिद्वार विशाल धार्मिक स्थल रहेछ । मानिसको भीड आवतजावत कम्तीमा १ लाख दिनको हुँदोरहेछ । लोकल व्यापार कस्तो हुँदो हो ? बनारस र हरिद्वार घुम्ने मेरो पुरानो अभिलाषा थियो ।

२०१९ सालदेखि २०४० सालसम्म कसरी नेपालका ब्राह्मणहरूले नेपालमा सरकारी, विश्वविद्यालयमा उच्च स्तरको जागिर खाए ? कसरी त्यहाँका संस्कृत विश्वविद्यालयमा अध्ययन गरे ? हेर्ने धोको थियो । भारतले के गरेको रहेछ भने, राम्रा नेपाली विधार्थीलाई उच्चशिक्षासम्म खर्चबर्च दिएर पढाउने र सरकारी स्तरको हाकिम नेपालमा बनाउने रहेछ ।

अर्को निम्छरो खालकालाई गाउँघरमा पण्डित कामको राम्रो सम्मान र धन आर्जन गर्न सकने शिक्षा निःशुल्क दिएर पठाएको रहेछ । वनारसमा यस्ता निःशुल्क संस्कृत विश्वविद्यालय, स्कुलहरू थिए । यसबाट भारतलाई अकल्पनीय लाभ भइरह्यो ।

भारतप्रति नेपालले सद्भाव देखायो । भारतले हिन्दु राष्ट्र बिस्तार गर्न सफल भयो  । अनि, भन्छन्, यहाँका उच्च तहका नेताहरू, कर्मचारीहरू ‘भारतसँग हाम्रो रोटी–बेटी ,धार्मिक  सम्बन्ध छ ।’ यो कुन खालको राष्ट्रवाद होला ?

हरिद्वारमा हामीले संस्कृत विश्वविद्यालयका प्राचार्यसँग भेट गर्ने अवसर पायौँ । हामीले आशीर्वाद माग्न आएका हौँ भनेर शिर नत गरेका थियौँ । हाम्रो परिचय पाएर प्रसन्न हुनुभयो । छुट्ने बेलामा वृद्ध विद्वान् प्राचार्यलाई केही मिठाई उपहार दिएर कमल र म फर्केका थियौँ ।

दिल्लीबाट त्यो बाटो भएर नेपाल फर्कनुको हाम्रो अर्को कारण थियो, चाँदनी दोधाराको बाँध र महाकाली, कर्णाली आदि हेर्नु । त्यहाँ पटक पटक हाम्रो राष्ट्रवाद प्रदर्शन हुने गथ्र्यो र हुन्छ । पार्टी फुट्छ अनि जुट्छ । दिल्लीले सिंहदरबारमा पानी पास गरायो । फरक मत राख्नेहरूले पार्टी फुटाए । चुनावमा सखाप पनि बनियो । फेरि दिल्लीले एकता गरिदियो । अहिले फेरि पार्टीहरू विदेशीले फुटाएको छ । कविको राष्ट्रवाद नेताको जस्तो सस्तो हुँदैन । अमर र स्थिर हुन्छ ।

राष्ट्रिय गीत सुन्न जति सजिलो छ, बुझ्न वास्तवमा धेरै जटिल र कठोर छ । कविहरूले कसरी लेख्छन् भन्न सकिँदैन । मस्तिष्कले लेख्छन् कि मुटुले, कि आखाँले ? यो जटिल विषय रहेछ । राष्ट्रवाद भनेको खोक्रो पनि हुँदोरहेछ । नमिठा शब्द हाम्रा नेताहरूले कहिलेकाहीँ सिकाउने गरेकै छन्– कसैलाई सक्दो सरापेर । टुडिखेलमा पाखुरा खैँचेर ।

वास्तवमा देशभक्ति भनेको जनताले स्वतन्त्र नागरिक भएर सुविधा पाउनु हो । मिसेल फुकोको भनाइ जस्तो ‘पावर इज आर्ट अफ गभर्मेन्टालिटी एण्ड पावर अफ नलेज टु फेसिलिटेटेड लिबरल डेमोक्रेसी ।’

तुइनबाट महाकाली नदीमा भारतीय सैनिकले मान्छे खसालेर मारे । अहं ! कोही हाम्रा नेता बोलेनन् । राष्ट्रवाद कता रहेछ ? अनि, कविले राष्ट्रिय गीत नलेखेर कसले लेख्छ ? स्रष्टा लेख्न बाध्य छ ।

मेरो साथी रिठु खत्री स्कुल आएन । गान्तोक कुल्ली काम गर्न गएछ । ४ वर्षमा फर्कंदा केही पैसा कमाएर आयो । तर, दाहिने आँखा रोड खन्दा गुमाएर आयो । केही समयपश्चात् ल्याएको पैसा सकियो ।

गरिबीले गर्दा छिट्टै उसको मृत्यु भयो । समस्याले गर्दा श्रीमती कुन्नि कोसँग मधेस झरिन् । सिक्किममा मैले हरेक पहराको सडकमा मेरो मिल्ने बालापनको साथी रिठुलाई खोजेँ । घरि उनकी बैँसालु श्रीमतीलाई सम्झेँ । मैले पवन चाम्लिङलाई भेटमा यो कथा भनेको छु । उनको गीतको पुस्तकमा यो व्यथा लेखेको पनि छु । पढेर चाम्लिङ सरले भारविभोर भएँ भन्नुभएको छ ।

देश हामीले बनाउने हो, विदेशी आउँदैन । योजना आयोग छ । उसले कोरेको नक्सा मन्त्रीको दिमागअनुसार हुँदैन । केके भनेर, गरेर चुनाव जितेको छ । त्यो योजना आयोगको नक्सामा कोरिएको नहुन सक्छ । अथवा, आयोगका पदाधिकारी त्यस्तै नियुक्ति गरिएको हुन सक्छ ।

वास्तवमा राष्ट्रवाद देखाउन मुस्किलको कुरा हो । असमानताले समाज जकडिएको छ । यसका लागि कवि एकोहोरो राष्ट्रिय गीत, कथा लेखिरहन्छ । कविको मनमा आगो सल्किरहन्छ ।

भारतीय गोर्खा रेजिमेन्ट लाहुरेले घर फर्कंदा फुर्तीसाथ गफ गरेको सुन्दा भारतको विकास हेर्न मलाई औडाहा हुन्थ्यो । स्कुलमा पढेको ब्रह्मपुत्र नदी हेर्न म २०४५ सालमा काँकडभिट्टा तरेर हिँडेको थिएँ । असमको राजधानी गोहटीको ब्रह्मपुत्र नदीमाथि विशाल पानीजहाज, रेल कुदेको देख्दा अचम्मै लाग्यो । अझ मेघालयको राजधानी सिलोङ हेर्दा त भारतको विकास अतुलनीय देखेँ ।

आदिवासी खसिया कोइला खानीले सबै सम्पन्न थिए । उनीहरू दिल्लीवाला हिन्दी मानिस मनपराउँदैनथे ।

काँकडभिट्टा फर्केपछि काठमाडौं हिँड्न बस कुरिरहेको थिएँ । थामखर्क एयरपोर्टको निर्माणसम्बन्धी काठमाडौंमा ‘डेलिगेसन’ जानु थियो । मसँग नबोली सिलोङबाट सँगै बसमा फर्केका नेपालीहरू भन्सारमा अड्केर बसिरहेका थिए । वास्ता गर्न मनै लागेन ।

सिलोङका पुलिस बजारमा बोलाउँदा सुकुल गुण्डो हो कि ? जस्तो गरेर मलाई आँखा तर्दै हिँडेका थिए । सिलगुडीमा आएपछि ८ भाइ नराम्रोसँग मोटरमा ठगिएका थिए । सिलगुडीबाट नेपाल आउने जिपमा म चढेँ । उनीहरू पनि नबोली त्यही मोटरमा पसेका थिए ।

वैैशाखको अचाक्ली गर्मी थियो । जिनको पाइन्ट, हाफ सर्ट, कालो चस्मा लगाएर फ्रन्ट सिटमा बसिरहेको थिएँ । मोटर गुड्यो ।  २ सेकेन्डमा पेट्रोल भर्न रोकियो । यसै बेला मौका छोपेर मलाई ‘सर ! नास्ता खाऔँ’ ड्राइभरले भन्यो ।

बिहानको सम, नाइँनास्ती गर्न सकिनँ । मजाले नास्ता जुलबी, पुरी, तरकारी, चिया खुवाए । ‘१० जनालाई ६० भारुको दरले भाडा असुल्छौँ । सरले चुप बस्नुहोला’ भन्दै उल्टै ६० रुपैयाँ भारु दाम मेरो छातीको रित्तो खल्तीमा राखिदिए ।

पैसो आरामले खल्तीमा बस्यो । मैले इन्कार गरेँ । फेरि ५ बट्टा मार्लबोरो लामो चुरोट मलाई दिए । फेरि कडा इन्कार गरेँ । ‘साथीहरूलाई भारतको चिनो दिनुहोला’ भनेर मलाई फकाए । बाटोमा मोटर रोकेर सबैसँग पैसा मज्जाले उठाए  ।

मेची तरेपछि भन्दै थिए, ‘आज ठग्नु ठग्यो ।’

उनीहरूको रेडियो भन्सारमा मैले हाकिमलाई फकाएर फुत्काइदिएँ । त्यसपछि मात्र मलाई ‘सरको घर कता हो ?’ भनेर सोधे ।

मैले पनि बोलिनँ । ‘भारतमा मैले बोलाउँदा बोलेको भए फस्ने थिएनौ । उल्लुहरू !’, मनमनमा बोलें । १५ दिनपछि  काठमाडौंबाट फर्केर सिम्पानी बजार भर्न गएँ । त्यो मान्छे त १०–१५ भाइहरूलाई वरिपरि राखेर याक चुरोट पिउँदै बजार हल्लाइरहेको थियो ।

त्यही रेडियो काँधमा भिरेर ठूलो शानले बजार थर्काइरहेको थियो । तीन छक्क परेँ । मैले भानुभक्त घिमिरे मामालाई सोधेँ । भन्नुभयो, ‘किन भान्जा ? हाम्रो भाटेस्वराको पोक्चे । भर्खर कोइलाखातबाट मुर्‍याएर पोइसो ल्याएको छ ।’

म मरीमरी हाँसे । सबै हाँसेका थियौँ तर मैले उनको रवाफ त्यहाँ कमजोर होला भनेर कसैलाई उनको कथा भनेको थिइनँ । आज लेख्दै छु ।

मैले भन्न खोजेको, सोच, राष्ट्रवाद आआफ्नै हुन्छ । त्यो युवाको भारत जानुपर्ने बाध्यता उसको कमजोर राष्ट्रवाद हो । अथवा बलियो पक्ष हो । उसलाई रेडियो कसले दिन्थ्यो ? आज मनको भयानक कल्पना र चाहना पूरा गर्दै छ ।

राष्ट्रमा सबै कुराको पुग भए उसको बाध्यता त्यस्तो विक्षिप्त हुने थिएन । भूमण्डलीकरणको युगमा देशभक्तको परिभाषा फेरि खोज्न पर्ने अवस्था छ । राउटेका लागि देशभक्ति राम्रो खान पाउनु हो ।

लेख्न त लेखेँ राष्ट्रिय गीत छाती खोलेर । रगत उमालेर । तर, खोक्रो देशभक्तिको नारामा देश बाँचिरहेको छ । राष्ट्रियता रित्तोरित्तो छ । मौसमअनुरूपका लोभीपापी देशभक्तहरू । तर पनि भन्नुपर्नेछ– हाम्रा नेताहरू ।

अहिले एमसीसी चर्केको छ । लाग्छ, अमेरिकाले खान दिँदा हात मुटुभित्रै घुसारेछ । अब हात झिक्दा रित्तो हात उसको निस्कँदैन । मुटु तानेर खानेछ । कलेजोमा चोट बनाएर हात निकाल्नेछ  ।

उसले भनेको छ– यो इन्डो प्यासिफिक रणनीतिको अंग हो । वान बेल्ट, वान रोडको विरुद्ध हो । साम्राज्यवादीहरूको राजनीतिक चरित्र बुझेर पनि नेताहरू व्यक्तिगत लोभमा फसे । अमेरिका पसेको देशमा युद्ध भएकै छ । आज मात्र अमेरिकी सैनिक युरोपका पोल्यान्ड, जर्मनी भएर युक्रेन भर्खर छिरेका छन् ।

युक्रेन भन्छ, म आफैँ युद्धमा तयार छु । तर, रुसको विरुद्धमा अमेरिका युक्रेन पस्यो । सिरिया, अफगानिस्तानको के कुरा मान्छेहरू शान्तिको नाममा कुकुर मरेजस्तो मरे ।

आज थोरै देश संसारमा आफैँ स्वतन्त्र बाँचेको छ । हामी गौरवसाथ बाँचेको थियौँ । आज अमेरिकाको दबाबले संघीय संसदमा उसको परियोजना दर्ता भएको छ । उसले निहुँ झिक्यो खुट्टा हाल्न ।

२०२८ सालदेखि शिक्षामा ठूलो लगानी गरेको थियो तर सन्तान जन्माउन सकेको थिएन । यो त्यसैको एउटा आवेग थियो । अब यो नीति सफल भएन भने नेपाली जनताको विरुद्धमा अर्को तालिबानी जन्माउन सक्छ । ‘पपेट’ सरकार प्रमुख बन्न सक्छ । काम तमाम गरेर हिँड्न सक्छ ।

अमेरिकालाई भन्न सकिन्छ– ‘नेपाली जनताले रुचाएनन्, तपाईंले जबर्जस्त दिएको रकम लानुहोस् ।’ राष्ट्रियता, देशभक्ति गुमाइसकेपछि भन्न कसलाई आँट आउछ र ! आज राजनीतिक दादावादका कारण राष्ट्रियता, देशभक्ति व्यक्तिमा निर्भर छैन । विश्वव्यापीकरण भएको छ । परनिर्भर भएको छ । यसको फाइदा शक्तिशाली मुलुकले लिँदै छ ।

प्रिद्ध मानवशास्त्री हैमेडोर्फले भनेका छन्, ‘नेपाल मिठो स्यान्डविच ब्रेड हो । फेब्रिक देश हो ।’ आज कसले खाने हो त्रास छ । आगो सल्काएका छन् । धुवाँ निस्कन थालेको छ । अझ राष्ट्रिय गीत लेखेर देश साहित्यकारहरूले बचाउनुपर्ने समय आएको छ । झन् हामीले राष्ट्रिय गीत गाउनुपर्छ ।

अन्त्यमा सम्पूर्ण मान्यजनहरूलाई हौवा, सेवा, नमस्ते भन्दै बिदा चाहन्छु । धन्यवाद ।

यो गीत  युट्युबमा यहाँ क्लिक सुन्न सक्नुहुन्छ ।

धन्यवाद !