समृद्ध नेपाल भाषाका कविताहरूको खोजी

समृद्ध नेपाल भाषाका कविताहरूको खोजी

लोकसंवाद संवाददाता  |  समाज  |  जेठ ४, २०७६

नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभाग र नेपाल भाषा परिषद्धारा संयुक्तरूपमा नेपाल भाषाका कविताबारे ‘नेपाल भाषाका कविता यात्रा’ बहस गरिएको छ । 

 प्रज्ञा भवनको पारिजात प्रवचन कक्षमा २०७६ जेठ ३ गते शुक्रवार आयोजना गरिएको बहसको क्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले पहिचान बोलीमा मात्रै नभएर व्यवहारमै उतार्नुपर्ने विचार राख्नु भएको थियो ।   उपकुलपति गुरुङको विचार थियो– ‘नेपाल भाषाका कविताबारे गोष्ठी सञ्चालन भइरहेको छ तर सम्बन्धित कसैले पनि आफ्नो परम्परागत पोसाक लगाएको देखिएन । आफ्नो पहिचानलाई जोगाउने हो भने संस्कार र संस्कृतिको संरक्षण गर्नुको विकल्प छैन ।’

कार्यक्रममा उपकुलपतिले नेवारी संस्कृति लोपोन्मुख अवस्था पुगिसकेको भन्दै यसको संरक्षणका लागि अध्ययन–अनुसन्धानका साथै संरक्षणमा लाग्न आव्हान समेत गर्नु भएको थियो ।  
नेपाल भाषाको साहित्यले नेपाली साहित्यलाई उल्लेखनीय योगदान दिएको जिकिर थियो । 

प्रतिष्ठानकै  सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले सानोतिनो मिहिनेतले अध्ययन–अनुसन्धान पूर्ण नहुने भएकोले नेपाल भाषाका कविता यात्राबारे बुझ्न विचार गोष्ठीले मद्दत पु¥याउने निष्कर्ष निकालिएको थियो ।

बहस कार्यक्रममा साहित्य (मातृभाषा) विभाग प्रमुख लक्ष्मी मालीले मातृभाषाका साहित्यको प्रवर्द्धनका लागि प्रज्ञा–प्रतिष्ठानले महत्त्वका साथ काम गरिरहेको बताउँदै गोष्ठीले सार्थक उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल भाषा परिषद्का अध्यक्ष प्रा. सुवर्ण शाक्यले नेपाल भाषाका कविता यात्राबारे गहिराइमा पुगेर निष्कर्ष निकाल्न सकियोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभएको थियो । 

कार्यक्रममा राजेन मानन्धरले ‘नेपाल भाषाका कविता यात्रा’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल भाषाको कविता लेखन यात्रा ४६८ वर्ष पुरानो रहेको तथ्यको उजारगर गर्नु भएको थियो । मानन्धरको कार्यपत्रमा यति लामो इतिहास भएता पनि नेपाल भाषाका कविता अपेक्षाकृत रूपमा समृद्ध भने हुन नसकेको निष्कर्ष निकाल्नु भएको छ ।