'एमसीसीका विषयमा हामी स्पष्ट छौँ, पहिला एमालेलाई न्याय दिनुहोस्'

'एमसीसीका विषयमा हामी स्पष्ट छौँ, पहिला एमालेलाई न्याय दिनुहोस्'

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ११, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाणलाई एमसीसीको विषयमा एमाले स्पष्ट रहेको सन्देश दिएका छन् । 

एमसीसीमा एमालेको समर्थन जुटाउन ओलीलाई भेट्न बुधबार बिहान बालकोट पुगेका खाणलाई ओलीले सो सन्देश दिएका हुन् । 

‘गृहमन्त्रीज्यूले एमसीसी संसद्‌बाट अनुमोदन गर्न सहयोग माग गर्नुभयो’, एमाले अध्यक्ष ओलीका संचार सहयोगी रामशरण बजगाईंले भेटवार्ताबारे भने, ‘अध्यक्षज्यूले एमसीसीका विषयमा एमाले स्पष्ट रहेको तर एमसीसी प्रक्रियामा सहभागी हुन पहिला एमालेलाई न्याय दिनुपर्ने बताउनुभयो ।’ 

प्रतिनिधिसभाको बिहीबार बस्ने बैठकमा एमसीसीबारे बहस हुँदै छ र बिहीबार नै अनुमोदन गर्ने तयारी गरिएको छ । 

सत्तारुढ छ दलमध्ये एमसीसी अनुमोदन गर्ने पक्षमा नेपाली कांग्रेस मात्र रहेको छ । बाँकी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले संशोधन नगरी एमसीसी पास गर्न नसकिने बताएका छन् । 

एमसीसीलाई लिएर सरकार अप्ठ्यारोमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज गृहमन्त्री खाणलाई सहमति जुटाउन एमाले अध्यक्ष ओलीकहाँ पठाएका हुन् । मंगलबार ओली आफैँ प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । 

‘संसद्को सबैभन्दा ठूलो दल एमालेमाथि अन्याय भएको छ । कानुन सबै दललाई समानरुपमा लागू गर्नुपर्नेमा त्यो गरिएन । हामीलाई न्याय दिनुहोस् अनि मात्र हामी एमसीसी प्रक्रियामा सहभागी हुन सक्छौँ’, एमाले अध्यक्ष ओलीले गृहमन्त्री खाणलाई भने ।