एमसीसीबारे धारणा बनाउन लोसपा संसदीय दलको बैठक बस्दै

एमसीसीबारे धारणा बनाउन लोसपा संसदीय दलको बैठक बस्दै

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ११, २०७८

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीको आधिकारिक धारणा बनाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को संसदीय दलको बैठक आज बस्दै छ । 

संसदीय दलको कार्यलय सिंहदरबारमा दिउँसो १ बजे बैठक बस्ने नेता केशव झाले जानकारी दिए । बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीतिबारे छलफल गर्न दलको बैठक बोलाइएको लोसपाले जनाएको छ । 

बिहीबारको प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुँदै छ । गत आइतबार बसेको संसद् बैठकमा एमसीसी टेबुल भएको छ । 

आगामी १६ फागुनसम्म एमसीसी सदनबाट अनुमोदन गरिसक्नुपर्ने डेडलाइन भएकाले भोलिकै बैठकमै पास वा फेलको टुंगो लाग्ने सम्भावना छ । संसद्‌मा १३ सिट रहेको लोसपा एमसीसीको समर्थनमा छ । तर, उसले अहिलेसम्म यसबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन । लोसपाका नेताहरूले एमसीसी सहयोग लिनुपर्ने अभिव्यक्ति दिँदै आएका छन् ।